सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
क्याबिन क्रूहरुको आन्दोलन

नेपाल एयरलाइन्सका सम्पूर्ण क्याबिन क्रू न्याय माग्दै सर्वोच्चमा

बुधबार, १८ पुस २०८०, १७ : ४५
बुधबार, १८ पुस २०८०

काठमाडौँ । नेपाल वायुसेवा निगममा कार्यरत सबै जना विमान परिचारक र परिचारिका (क्याबिन क्रू) हरू आफूहरूमाथि अन्याय र विभेदपूर्ण व्यवहार भएको दाबीसहित न्यायको याचना सहित सर्वोच्च अदालत पुगेका छन् ।  उनीहरुले आफूहरूमाथि विभेदकारी व्यवहार भएको, सेवा–सुविधामा कानुन विपरीत विभेदको नीति ल्याएकाले त्यस्ता प्रावधान खारेजीका माग गर्दै रिट निवेदन पेस गरेका छन् ।

पेसामा अन्याय र असुरक्षा भएको भन्दै नेपाल वायुसेवा निगमका सबै क्याबिन क्रू ले पहिलो पटक न्यायको गुहार गर्दै सर्वोच्च पुगेका हुन् । वरिष्ठ विमान परिचारिका प्रजिता कार्कीसहित १३५ जनाले सामूहिक रुपमा सर्वोच्च अदालतमा बुधवार रिट निवेदन पेस गरेका छन् । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल वायुसेवा निगमलाई विपक्षी बनाइएको छ ।

रिट निवेदनमा नेपाल वायुसेवा निगमका कर्मचारीहको सेवा, शर्तसम्बन्धी कानुनमा भएको व्यवस्थाले विमान परिचारक र विमान परिचारिकालाई अन्य कर्मचारीभन्दा विभेदपूर्ण व्यवहार गरी दोस्रो दर्जाको कर्मचारीको व्यवहार गरिएको उल्लेख छ । कर्मचारीको अवकाश उमेर ५८ वर्ष कायम गरेकोमा विमान परिचारक र परिचारिकाको हकमा ४० वर्षमा अवकाश दिने, एक महिनाको तलब दिएर जहिले सुकै हटाउन सक्ने, सेवा अवधिभर करारको करार नै राखी अवकाश गराउने र उपदान पनि नदिने लगायतका प्रावधानको बदर माग गरिएको छ ।

जिन्दगीभर एउटै पदमा काम लगाएर विना कुनै सुविधा जहिले सुकै हटाउने तथा सामाजिक सुरक्षाको समेत कुनै व्यवहार नगरिएको उनीहरूको दाबी छ । सामान्य कम्पनीले समेत सामाजिक सेवा सुरक्षाको सुनिश्चितता गर्नुपर्नेमा नेपाल सरकार स्वामित्वको वायुसेवा निगम जस्तो निकायले आफ्ना क्याबिन क्रू माथि गम्भीर विभेद गरेको उनीहरूको गुनासो छ । आफूहरूले पटक पटक व्यवस्थापनसमक्ष कुरा राख्दा समेत सुधारको प्रक्रिया अघि नसारेकोले सर्वोच्च अदालतमा रिट निवेदन दिनुपरेको पनि रिट निवेदनमा उल्लेख छ ।

अन्य कर्मचारीले विमान दुर्घटना भई अशक्त हुँदा अशक्त वृत्ति पाउने तर, विमान परिचारक र परिचारिकाहरूले नपाउने, विमान चालकको बढुवा म्यानुअल हुने तर आफूहरूको बढुवा नहुने, औषधी उपचारमा पनि विभेद हुने गरेकोले न्यायको माग गर्दै विमान परिचारक र परिचारिकाहरूले रिट दायर गरेको उनीहरूका कानुन व्यवसायी अधिवक्ता अनन्तराज लुइँटेलले जानकारी दिए । अधिवक्ता लुइँटेलले क्याबिन क्रू को मुद्दा अघि बढाएका छन् ।

 सर्वोच्चमा पुग्नुपरेको कारणबारे रिट निवेदकसमेत रहेकी वरिष्ठ विमान परिचारिका कार्कीले भनिन्,’ हामीले विनियमावलीमा भएको विभेदपूर्ण प्रावधान हटाएर समान व्यवहार गर्न व्यवस्थापनसमक्ष पटक–पटक आग्रह गर्यौं। तर, हाम्रो अनुरोध सुनुवाइ भएन। अन्यत्र कहीँ नभएको विभेदपूर्ण व्यवस्था अझै कायम भएकोले हामी बाध्य भएर न्यायका लागि सर्वोच्च आएका हौँ।’ 

नेपाल वायु सेवा निगमको विनियमावलीमा भएका समानताको हक र श्रमको सुरक्षाको हक विपरीतका विभेदपूर्ण दफाहरू बदर गरी समान सेवा र सुविधाको सुनिश्चितता गर्न तथा विभेदपूर्ण प्रावधानहरू खारेज गर्न विपक्षीका नाममा परमादेश समेत माग गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप