शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

जयशंकरको भ्रमण प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा भएका सम्झौता कार्यान्वयनमा केन्द्रित : शर्मा

बुधबार, १८ पुस २०८०, २० : ३२
बुधबार, १८ पुस २०८०

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री दिनानाथ शर्माले नेपाल र भारतबिचको सम्बन्ध युगौँदेखि सुमधुर र राम्रो रहेको बताएका छन् ।

उनले भने,‘दुई देशबिच युगौँदेखि राम्रो सम्बन्ध छ । हामीबिच केवल कूटनीतिकमात्रै नभएर जनस्तरमा पनि राम्रो सम्बन्ध छ । आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध छ । दुई देशको सम्बन्धलाई सुदृढ गर्न उच्चस्तरीय भ्रमण आदानप्रदान भइरहेका छन् । राज्यको तर्फबाट प्रतिनिधिहरू जाने, आपसमा बदलिँदो परिवेशअनुसार छलफल गर्ने र दुई देशबिचको हितमा केन्द्रित भएर विश्वासको वातावरण सिर्जना गर्ने काम भएको छ । यो राम्रो हो ।’

भारतीय विदेशमन्त्री डा. एस जयशंकरको नेपाल भ्रमणको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष–साक्षात्कारमा बोल्दै उनले भारतीय विदेशमन्त्री जयशंकर नेपाल भ्रमणमा रहँदा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा भएका सम्झौता कार्यान्वयन जोड दिने बताए । उनले भने,‘भारतीय विदेशमन्त्री आउँदै हुनुहुन्छ, यो भ्रमणले प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाँदा भएका सहमतिहरूलाई कार्यान्वयन गराउने वातावरण बनाउनेछ । नेपालको आर्थिक हितको लागि सहयोग पुर्‍याउनेछ । पावर ट्रेडलाई मूर्त रूप दिने काम गर्नेछ । दुई देशबिचको व्यापार घाटालाई सन्तुलन कायम गर्नको लागि यस प्रकारको भ्रमणले महत्त्वपूर्ण योगदान दिनेछ भन्ने विश्वास राख्नुपर्छ । त्यस्तै, चिनियाँ प्रतिनिधिमण्डल पनि यहाँ आउँदैछ । भ्रमणको क्रममा कतिपय सम्झौता भएका छन्, ती विषय पनि सरकारको तर्फबाट महत्त्वपूर्ण रूपमा अघि बढाउने र चिनियाँहरूको सहयोग ल्याउनको लागि सरकारको तर्फबाट गृहकार्य भइरहेको छ ।’

नेपाल भारत र चीनजस्ता ठुला अर्थतन्त्र भएका मुलुकका बिचमा रहेको उल्लेख गर्दै उनीहरूबाट देशको विकासको लागि प्रचण्ड नेतृत्वको सरकारले केही समय यतादेखि काम गरेको उनको दाबी छ । उनले भने,‘अन्तर्राष्ट्रिय रूपमै नेपालको छविलाई अगाडि ल्याउनको लागि अनि विश्वासको वातावरण बनाउनको लागि यो सरकारले प्रयत्न गरेको छ । केही हदसम्म सफल भएको छ । देशको अर्थतन्त्रमा योगदान दिनको लागि यी भ्रमणले योगदान नै दिन्छन् ।’ 

उनले नेपालका शीर्ष नेताहरूबिच छलफल तथा संवाद हुनु नौलो कुरा नभएको टिप्पणी गरेका छन् । टीआरसी टुङ्गो लगाउने र राष्ट्रियसभाको निर्वाचनमा केन्द्रित रहेर प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीका नेतृत्वबिच भइरहेको छलफललाई केन्द्रित गरेर उनले यस्तो टिप्पणी गरेका हुन् । उनले भने,‘शीर्ष नेताहरूबिच विश्वासको वातावरण सिर्जना गर्नुपर्छ । पछिल्लो चरणमा परिवर्तनका वाहक शक्तिहरूका शीर्ष नेताहरूबिच परिवर्तनको रक्षाको लागि छलफल तथा भेटवार्ता हुनु सकारात्मक कुरा हो । अहिले परिवर्तनको विरुद्धमा कुनै कुनै कोणबाट भ्रम उत्पन्न गरिएपछि यो शक्तिबिच विश्वासको वातावरण बन्ने काम भएको छ । राष्ट्रिय हितमा केन्द्रित भएर विश्वासको वातावरण बनाउनुपर्छ । त्यसको लागि प्रचण्ड, देउवा, ओलीजीबिच संवाद भइरहेको छ । यसलाई स्वाभाविक रूपमा लिनुपर्छ । राष्ट्रिय हितको लागि आपसी विश्वासको वातावरण बनाउनु राम्रो कुरा हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप