सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतसमक्ष कृषिजन्य उत्पादनहरू भारत पठाउनेबारे विशेष छुट दिनुपर्छ भनेर भन्नुपर्छ : राजकिशोर यादव

बुधबार, १८ पुस २०८०, २० : ३४
बुधबार, १८ पुस २०८०

काठमाडौँ । जनता समाजवादी पार्टीका नेता तथा सांसद राजकिशोर यादवले नेपाल र भारतबिचको सम्बन्ध बहुआयामिक रहेको उल्लेख गर्दै यसलाई आगामी दिनमा अझै सुमधुर र सुदृढ बनाउनुपर्ने बताएका छन् ।

भारतीय विदेशमन्त्री डा. एस जयशंकरको नेपाल भ्रमणको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष–साक्षात्कारमा बोल्दै उनले आजको वैश्विक युगमा दुई देशका साझा स्वार्थ पहिलाएर अघि बढ्नुपर्नेमा जोड दिए । नेपालले आफ्नो हितमा भारतसँगको सम्बन्धलाई बढवा दिनुपर्ने उनको सुझाव छ । उनले भने,‘अहिलेको नेपालको चुरो समस्या, हाम्रो युवाहरूको बेरोजगारी, हाम्रो अर्थतन्त्र जुन प्रकारले सङ्कुचन हुँदै गइरहेको छ, खास गरी भारतसँगको करा गर्दा जुन प्रकारले हाम्रो व्यापार घाटा बढेर गएको छ, यो हाम्रो लागि चिन्ताको विषय हो । यो हाम्रो लागि मूल समस्या हो । हामी आयात गर्न बहादुर छौँ । तर, निर्यात गर्न सकिरहेका छैनौँ । अब निर्यात बढाउनको लागि फोकस भएर काम गर्नुपर्ने हुन्छ ।’

उनले नेपाल अहिले जुन अवस्थामा छ त्यसको लागि हिजो देशको नेतृत्व गरेकाहरूले एकचोटी आत्मसात् गर्नुपर्ने बेला आएको आवश्यकता औँल्याए । उनले भने,‘नेपालको जुन प्राकृतिक स्रोत र साधनको अवस्था छ, नेपाल आर्थिक रूपमा यति कमजोर हुने मुलुक होइन । तथापि, यथार्थ के हो भने आज हामी उत्तरमा रहेको मुलुक विश्वकै ठुलो अर्थतन्त्र भएको मुलुक, दक्षिणमा रहेको मुलुक अहिले विश्वको पाँचौँ ठुलो अर्थतन्त्र, र अब तेस्रो बन्नको लागि द्रुत गतिमा अघि बढिरहेको स्थिति छ । तर, यो बिचमा रहेको नेपाल, हामी चाहिँ आर्थिक दृष्टिकोणबाट हेर्दा पछाडिबाट हेर्नुपर्ने स्थिति छ । अरूलाई दोष दिनुभन्दा आफूले हेर्नुपर्छ ।’

उनले नेपालले भारतीय पक्षसँग कुरा गर्दा अब नेपालका आफ्ना उत्पादन खास गरी कृषिजन्य उत्पादनहरू भारत पठाउनेबारे विशेष छुटको मागसहित कुरा राख्नुपर्ने सुझाव दिए । उनले भने,‘सम्माननीय प्रधानमन्त्रीज्यूको जुन भारत भ्रमण भएको थियो, त्यो भ्रमणमा भारतले नेपालबाट दश हजार मेगावाट विद्युत् १० वर्षभित्र किन्ने सम्झौता भएको थियो । त्यसलाई मूर्त रूप दिन नेपालले तयारी गरेको छ । अर्को हाम्रो उत्पादनहरू, भारतमा हामी के–के पठाउन सक्छौँ ? खास गरी कृषिजन्य उत्पादनहरू भारत पठाउनेबारे विशेष छुट दिनुपर्छ भनेर भन्नुपर्छ ।’

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापतिसमेत रहेका यादवले छिमेक कमजोर र गरिब भयो अनि छिमेकीमा अशान्ति भयो भने उ जतिसुकै धनी वा सम्पन्न भए पनि ती छिमेकीहरू पनि पनि शान्त रहन नसक्ने सुनाए । उनले भने,‘भारत र चीनलाई हामीले तिमीहरू ठुलो अर्थतन्त्र भएको मुलुक हो, नेपालले पनि आर्थिक रूपमा कोल्टे फेर्ने कुरामा भारतको सहयोग लिने कुरा राख्न सक्नुपर्छ । यो आजको वास्तविक धरातलीय यथार्थ हो । भारतको जायज कन्सर्न हामीले असल छिमेकीको नाताले पूरा गर्नुपर्छ । सुरक्षाको दृष्टिकोणले हामीले आफ्नो भूमि कुनै प्रकारले तिमीहरूको विरुद्धमा उपयोग गर्न दिँदैनौँ भनेर भन्नुपर्छ ।’

उनले विदेशमन्त्रीस्तरीय वार्तामा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा भएका महत्त्वपूर्ण सम्झौताहरू कार्यान्वयनबारे छलफल हुने बताए । उनले भने,‘प्रधानमन्त्रीले गर्नुभएको भारत भ्रमणको बेला भएका सम्झौतालाई कार्यान्वयनको लागि मूर्त रूपमा दिने बेला हो । हामी पछाडि पर्नुहुँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप