आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
पुस्तक समीक्षा

सत्ता र शक्तिको खेलको रामकहानी– लेफ्ट राइट

शनिबार, २१ पुस २०८०, ११ : ३९
शनिबार, २१ पुस २०८०

राज्य चलाउने मियो हो– राजनीति । तर यी परिभाषा पुराना र सैद्धान्तिक मात्र हुन् । राजनीतिले समाज र देशको मुहार फेर्ने कामको जिम्मेवारी लिन्छ भन्ने उदाहरण यतिबेला चीनमा बस्दा थाहा हुँदै गएको छ । 

लेखक एवं पत्रकार नेत्र पन्थी पत्रकारितामार्फत राजनीति विषयवस्तुलाई समाचार र विश्लेषण गरेर विगत केही दशकदेखि राजनीतिक विषयमा कमल चलाउँदै आएका व्यक्ति हुन् । लेफ्ट राइट पुस्तक अध्ययनपछि उनका बारेमा धेरै कुरा बारे थाहा लाग्यो । उनी नेपालको राजनीतिलाई मिहिन ढङ्गले बुझ्ने र बुझाउने गरी लेख्ने व्यक्ति हुन् । 

उनलाई नजिकबाट चिन्ने अर्का एक पत्रकार मित्रले भने लेखक पन्थी पत्रकारिता सुरु गर्नुभन्दा पहिले कम्युनिस्ट विचारधारा राख्ने कुनै राजनीतिक दलसँग आबद्ध भएर त्यसका आधारभूमि बुझेका पत्रकार र लेखक हुन् । पत्रकारिता र लेखक दुई परिचयभित्र उनले नेपालको राजनीतिक चित्रलाई जस्ताको तस्तै उतारिदिएका छन् लेफ्ट राइटमार्फत । 

राजनीति गलत बाटोमा हिँड्यो भने देश र जनताको जीवनस्तर खस्किँदै जान्छ भन्ने कुरामा सामान्यजनले बुझेको कुरा हो । राजनीतिक नेतृत्वले चाह्यो भने देशमा आमूल परिवर्तन हुन्छ भन्ने अनुभव र उदाहरण हाम्रो दुई ठुला छिमेकी देशका नेतृत्वले देखाइदिएका छन् । तर हामी र हाम्रो राजनीति, हाम्रो समाज र देशको विकासको काम लेफ्ट राइटमा चल्दै छ । 

पछिल्लो एक दशकदेखि नेपालको राजनीति सुल्टो हिँड्नु पर्ने तर घुम्तीहरूमा दौडन खोजे जस्तो देखिन्छ । मुलुकको अर्थतन्त्र, पूर्वाधार विकास, कूटनीतिक सम्बन्धका पक्षमा राजनीतिक दल र नेतृत्वले आहा क्या गजब काम गरे भन्ने गरी कुनै परिणाममुखी काम गरेको भनेर राजनीति दल र नेतृत्वले जनतालाई भन्न सकेका छैनन् । कारण के हो ? प्रश्नको उत्तर लेफ्ट राइट पुस्तकमार्फत थाहा हुने गरी लेखक पन्थीले दलहरूको (अ) नेतृत्वको पर्दाफास गरिदिएका छन् । 

जनतासँग हामी यसो गर्छौँ, उसो गर्छौँ भनेर बाचा गरेर मत माग्ने गरेका हाम्रा नेता र राजनीतिक दलले मत पाएर निर्वाचित भएर सिंहदरबार र सत्ताको आगनीमा पुगेपछि विगतका बाचा भुल्दै गएको, केवल सत्ता, शक्तिभित्रको (अ) राजनीतिभित्र नै चक्र चलाइरहेका छन् एक दशकदेखि । 

पछिल्लो राजनीतिक परिवर्तन र सत्ता सङ्घर्षको खेलमा हाम्रा राजनीतिक नेतृत्वले जनतालाई अनेक बाचा दिए । साहित्यको रस भरिएको भाषणले मन्त्रमुग्ध बनाए । जनताले पनि हाम्रा नेताले केही गर्छन् भनेर कुरा नबुझी ताली बजाए । स्वागतका लागि माला लिएर लाइनमा उभिए । जय नेपाल, लालसलाम, हाम्रो नेता महान् छन् भन्दै नारासमेत लगाए । त्यो क्रम अहिले पनि जारी छ । गणतन्त्रका पक्षमा जनता सडकमा आन्दोलनमार्फत व्यवस्था बदल्दै सत्ता र शक्तिको चाबी दिए । तर नेताहरू गुट, उपगुट, सत्ता र शक्तिको दाउपेचमा घुमिरहे । यही तथ्यहरूलाई तिथि मितिसहित कुन दलले, कुन नेताले कहाँ, कहिले र के निर्णय गरेर सत्ता र शक्तिको खेल लेखिरहे भन्ने जानकारी लेफ्ट राइट पुस्तकमा छ । 

पछिल्लो समयमा घटित राजनीतिक परिदृश्य र व्यवस्था परिवर्तनका कुरा किन उठ्दै छन् भन्ने कुरा राजनीतिक दल र नेताहरूको कार्यशैलीको चरित्रचित्रण यस कृतिमा मज्जाले गरिएको छ । 

लेखक पन्थीले आफ्ना कुराभन्दा पनि नेताले बोलेको, नेताले शक्ति र सत्ताका लागि चालेका चालबाजी र जालझेलको कथा पनि लेखिदिएका छन् । 

नेपालको राजनीतिक निर्वाचन प्रणाली, राजनीतिक नेताहरूको सत्ता र शक्तिको चाह, गठबन्धनको राजनीतिकले निम्त्याएको सत्ता र शक्ति मोह, राजनीतिक एकताको नाममा जनताको मतमाथि गरिएको धोका, सत्ता पक्ष, प्रतिपक्ष, साना र ठुला दलहरूको सत्ता शक्ति प्राप्तिका लागि गरिएका सम्झौता पुस्तकमा जस्ताको त्यस्तै खुलस्त देखाउन खोजिएको छ । कुनै दलको पक्षमा भन्दा पनि जे भएको छ त्यही कुरा मात्र लेखिएको छ । पुस्तक पढ्दै जाँदा आफँैलाई प्रश्न उठछ । हामीले दिएको मतको कति दुरुपयोग गरेका रहेछन् हाम्रा नेता र शासकहरूले भनेर आक्रोशित भइन्छ । 

नेपाल भू–राजनीतिक दृष्टिकोणले ठुला दुई छिमेकीका बिचमा रहेकोमा हाम्रो छिमेकी सम्बन्ध र सात समुद्र पारिरहेको पाताल देश र पश्चिमा मुलुकहरूको भू–स्वार्थका बारेमा पनि लेफ्ट र राइट पुस्तकमा खाँटी कुरो चाहिँ के रहेछ भन्ने पढ्न सकिन्छ । 

नेपाली राजनीति र पछिल्लो राजनीतिक परिवर्तनको मियो बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चरित्र चित्रण मात्र होइन, कथा र उखानमार्फत जनता भुलाउन सक्ने नेता केपी शर्मा ओली, कम बोल्ने तर भित्री रहस्यमय शैलीका काम गर्ने शेरबहादुर देउवा र उनका सहयोगी, सहयात्री साना र ठुला सबै दलका नेताको चरित्र चित्रण र उनीहरूको अराजनीतिक गतिविधिबारे सूक्ष्म विवेचना गरिएको छ । 

पन्थी लेख्छन्– सबै खाले व्यापारीसँग नेताहरूको उदेकलाग्दो साँठगाँठ बन्ने गर्छ । धनले पुग्दै गएका मान्छेलाई पद, प्रतिष्ठा र शक्तिको मोह हुन्छ । शक्तिले पुरिँदै गएका मान्छेलाई धन र मोजमस्तीको चाह हुन्छ । शक्तिशाली राजनीतिज्ञ र खराब व्यापारीबिचको गोप्य सम्बन्धको आधार सन्सारभरि नै यही हो । धनले पुगेका मान्छे, राजदूत, सांसद मन्त्री सबथोक किन्न सकिन्छ भन्ने ठान्छन् । 

धनले कहिल्यै नअघाउने नेता यी सबै चिज बिक्रीमा राखिदिन्छन् । खासमा यी पदहरू क्रयबिक्रयका वस्तु बनेपछि नै शासक प्रशासनको गुणस्तर रसातलमा पुग्ने, देश बर्बाद हुने हो । पद बेच्ने नेताहरू देशका अपराधी हुन् । (लेफ्ट राइट, पेज नं ४७ ।) 

सत्यको विज्ञापन गरेर, झुटको खेती गरेर व्यापारमा प्रयोग गर्ने सिद्धान्त राजनीति हो भन्ने परिभाषा ठिकै रहेछ भन्न जनताको बुझाइ सही हुन सक्छ । 

पछिल्लो समय नेपालको राजनीति राजधानी प्रवेश गर्ने मूल नाका थानकोटका उकालो बाटोमा हिँडेजस्तो घच्याक, घच्याक गर्दै अघि बढ्दै छ । राज्यसत्ता म्यारिज खेल जस्तो बनाइएको छ । खेलाडीहरू धेरै छन्, अब हाम्रो पालो भन्दै कुर्लिरहेका छन् । समय छँदै काम नगर्ने तर आउने चुनावको समय तोकेर जनतालाई आश्वासन दिन खोज्ने दलहरूको कार्यशैलीमाथि खरो टिप्पणी गरिएको छ । 

राजनीतिका कुरा गाउँघरतिर चियाँ पसलमा र चोकमा चल्छ, सहरतिर ठुला क्याफेहरूमा । तर खासमा राजनीति हाम्रा नेता र दलीय राजनीति र गठबन्धनको नाममा केवल शक्ति र सत्ताको खेल मात्र खेलिरहे । जनतासँग गरेका वाचा, विकास र सिद्धान्तका कुनै कुरा नै छैन । राजनीतिक दल र नेताहरूलाई केही चाहिएको छ भने शक्ति र सत्ता रहेछ भन्ने तथ्यहरूले प्रस्ट परेको छ । 

हाम्रा राजनीतिक दलका नेताहरू पनि सत्ताका प्याला हुन् । दलका शीर्ष नेताहरू पार्टीलाई प्राइभेट कम्पनीको साहु जस्तो र कार्यकर्ता कामदार भए जस्तो शैलीमा देशको शासन चलाउन चाहन्छन् । कुरा ठुला, जनतालाई आश्वासनका धोका भरिएको पोको दिएर हामी मात्र हौँ । हाम्रो सत्ता र शक्तिमा पुगेपछि मात्र हुन्छ भन्ने झुटा आश्वासन दिलाएर आज यो अवस्थामा पुग्यौँ । पत्रकार नेत्र पन्थीको लेफ्ट राइट पुस्तकले दिने खोजेको सार यही हो । 

पछिल्लो समय सामाजिक सञ्जालका कारण व्यक्तिहरू पुस्तक अध्ययनमा रुचि कम हुँदै गएको तथ्यहरू प्रकाशित हुन थालेका छन् । लेखन पन्थीको पुस्तकको पेज सङ्ख्या ६६७ रहेको छ । पुस्तक मोटो हुनुको कारण पनि पुस्तक पढ्ने पाठकले छिचोल्न अलि मुस्किल पर्छ । साङ्ग्रिला मिडिया ग्रुपले प्रकाशित गरेको पुस्तकको मेहनत, साजसज्जा अनुसार मूल्य तिरेअनुसारको जानकारी र ज्ञान प्राप्त गर्न सकिन्छ । 

यसअघि पनि राजनीतिभित्रको कथाका डिभोर्स प्रचण्ड बाबुरामको (२०७२) माओवादीभित्र अन्तर्सङ्घर्ष, (२०६९) र युद्धमा प्रेम र यौन (२०६६) नामक पुस्तक प्रकाशित गरेका पत्रकार एवं लेखक नेत्र पन्थीले पर्खाइमा चार वर्ष (२०६४) सङ्घर्षका तीन दशक (२०६५) जङ्गलमा रेडियो (२०६६) र गुरिल्ला कपल नामको डकुमेन्ट्री सिर्जना गरेका पन्थीको विगतको परिचय रहेछ । 

यसअघि उनका कृति अध्ययन नगरेको र लेखकबाट जानकारी नभएका कारण लेफ्ट राइटमा विगतका सिर्जनात्मक अनुभव र लेखनको उत्कृष्ट नमुना पुस्तक बनेको छ भन्ने बुझाइ हो । मेरो बुझाइ गलत पनि हुन सक्छ तर नेपालको राजनीतिक परिदृश्यबारे जानकारी राख्न चाहने, लेखक, पत्रकार र राजनीतिकर्मीहरूले चाहिँ लेफ्ट राइट पुस्तक पढ्न छुटाउनु हुँदैन भन्ने मेरो ठम्याइ हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भरत शर्मा
भरत शर्मा
लेखकबाट थप