शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेशको जीडीपीको आकार २ खर्ब २१ अर्ब, कृषिको योगदान ३० प्रतिशत

आइतबार, २२ पुस २०८०, १७ : ४०
आइतबार, २२ पुस २०८०

काठमाडौँ । कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार २ खर्ब २१ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकले आइतबार आर्थिक वर्ष २०७९/८० को वार्षिक अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै समग्र प्रदेशको कुल गार्हस्थ्य उत्पादन (प्रचलित मूल्यमा) २ खर्ब २१ अर्ब ५२ करोड पुगेको जनाएको हो । 

गत आर्थिक वर्ष २०७८/७९ मा समग्र प्रदेशको कुल गार्हस्थ्य उत्पादनको संशोधित अनुमान रु.२ खर्ब १ अर्ब ८९ करोड रहेको थियो । 

यसैगरी, आर्थिक वर्ष २०७९/८० मा यस प्रदेशको आर्थिक वृद्धिदर (उत्पादकको मूल्यमा) १.९१ प्रतिशत रहने अनुमान छ । गत आर्थिक वर्ष २०७८÷७९ मा यस्तो वृद्धिदर ५.३२ प्रतिशत रहेको थियो ।

समीक्षा वर्षमा यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ३०.८३ प्रतिशत, १०.२८ प्रतिशत र ५८.९० प्रतिशत रहेको छ । कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान ३०.८३ प्रतिशत कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.१८ प्रतिशत प्रशासनिक तथा सहयोग सेवा क्षेत्रको रहेको छ । 

थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटर साइकल मर्मत सेवाको हिस्सा ६.४० प्रतिशत, वित्तीय तथा बिमा क्रियाकलापको हिस्सा २.१० प्रतिशत, सूचना तथा सञ्चारको हिस्सा १.३६ प्रतिशत, यातायात तथा भण्डारणको हिस्सा २.६२ प्रतिशत, आवास तथा भोजन सेवाको हिस्सा २.७१ प्रतिशत तथा उत्पादनमूलक उद्योगको हिस्सा १.०९ प्रतिशत रहेको छ । 

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार समीक्षा वर्षमा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कर्णाली प्रदेशको योगदान ४.१० प्रतिशत रहने अनुमान छ । गत आर्थिक वर्ष २०७८/७९ मा पनि यस्तो योगदान ४.१० प्रतिशत रहेको थियो ।

समीक्षा वर्षमा मुलुकको समग्र कृषि, उद्योग र सेवा क्षेत्रमा कर्णाली प्रदेशको अंश क्रमशः ५.२५ प्रतिशत, ३.१४ प्रतिशत र ३.८८ प्रतिशत रहने अनुमान छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयको तथ्याङ्कका आधारमा प्रदेशहरूको समग्र आर्थिक अवस्था तुलना गर्दा आर्थिक वर्ष २०७९÷८० मा मुलुकको कुल गार्हस्थ्य उत्पादन ५३ खर्ब ८१ अर्ब ३४ करोड रुपैयाँ रहने अनुमान गरेको छ । जसमध्ये सबैभन्दा बढी बागमती प्रदेशको हिस्सा ३६.८१ प्रतिशत रहेको छ भने कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम ४.१२ प्रतिशत रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप