शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेशमा सञ्चालित उद्योगहरूको उत्पादन क्षमता ५२ प्रतिशत मात्र

आइतबार, २२ पुस २०८०, १७ : ४४
आइतबार, २२ पुस २०८०

काठमाडौँ । आर्थिक वर्ष २०७९/८० मा कर्णाली प्रदेशमा नमुना छनोटमा समेटिएका उद्योगहरूको औसत क्षमता उपयोग ५२.१६ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । यस आर्थिक वर्षमा उद्योगहरूको उपयोग क्षमतामा कागज तथा कागजका उत्पादन सम्बन्धी उद्योगको उपयोग क्षमता शत प्रतिशत रहेको बैंकले जनाएको हो । 

जसमध्ये प्लास्टिकजन्य उत्पादन सम्बन्धी उद्योगको उपयोग क्षमता ९२.८६ प्रतिशत रहेको छ भने दुग्ध पदार्थ उत्पादन गर्ने उद्योगको उपयोग क्षमता सबैभन्दा कम २०.५५ प्रतिशत रहेको बैंकले जनाएको छ ।

त्यसैगरी, काठ तथा काठको सामान, अन्य खाद्य पदार्थ (प्रशोधित चिया), तयारी कपडा र अन्न तथा पशुदाना उत्पादन गर्ने उद्योगहरूको उपयोग क्षमता क्रमशः ६०.० प्रतिशत, ५१.११ प्रतिशत, ४४.९४ प्रतिशत र ३२.० प्रतिशत रहेको छ ।

यस प्रदेशमा औद्योगिक विकासका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति, कच्चा पदार्थको अभाव, तथा विकट भौगोलिक बनावट जस्ता प्रमुख कारणहरुले गर्दा ठुला उद्योगहरूको सञ्चालन हुन नसकेको बैंकले जनाएको छ । 

घरेलु, साना तथा मझौला उद्योगहरू मध्येबाट केही उद्योगहरू अध्ययनमा नमुना छनोटको रुपमा लिइएको छ ।

समीक्षा वर्षमा कर्णाली प्रदेशमा नमुना छनोटमा समेटिएका उद्योगहरुमध्ये धेरैजसो उद्योगहरूको उत्पादनमा सामान्य वृद्धि भएको छ भने केही उद्योगहरूको उत्पादन घटेको देखिन्छ । जस अन्तर्गत अन्न तथा पशु दाना उत्पादन गर्ने उद्योगको उत्पादनमा ११५.३३ प्रतिशतले वृद्धि भएको छ । जसमा चामल र गहुँको पिठोको उत्पादनमा क्रमशः १८०.० र १३०.७७ प्रतिशतले वृद्धि भएको छ भने पशुदानाको उत्पादनमा ३६.३६ प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ । 

त्यस्तै, समीक्षा वर्षमा प्लाष्टिकजन्य बस्तु, दुग्ध पदार्थ र कागज तथा कागजको उत्पादन क्रमशः १६०.० प्रतिशत, १५.३८ प्रतिशत र १४.२९ प्रतिशतले वृद्धि भएको छ भने काठ तथा काठका सामना, प्रशोधित पिउने पानी र लत्ता कपडाको उत्पादनमा क्रमशः २५.० प्रतिशत, २०.७३ प्रतिशत र ६.९८ प्रतिशतले गिरावट आएको बैंकले जनाएको छ ।

अन्न तथा पशु दाना शीर्षक अन्तर्गत चामल तथा गहुँको पिठोको उत्पादन समीक्षा वर्षमा १८०.० प्रतिशत र १३०.७७ प्रतिशतले वृद्धि भई क्रमशः ७० मट्रिक टन र ३० मेट्रिक टन पुगेको छ । गत वर्ष सोही अवधिमा चामलको उत्पादनमा १०.७१ प्रतिशतले ह्रास भई २५ मेट्रिक टन कायम भएको थियो भने गहुँको पिठोको उत्पादन १८.१८ प्रतिशतले वृद्धि भई १३ मेट्रिक टन पुगेको थियो । 

त्यस्तैगरी, समीक्षा वर्षमा पशु दानाको उत्पादन ३६.३६ प्रतिशतले वृद्धि भई १५ मेट्रिक टन पुगेको छ भने अघिल्लो वर्ष १० प्रतिशतले वृदि भई ११ मेट्रिक टन पुगेको थियो ।

आर्थिक वर्ष २०७९/८० मा प्रशोधित चियाको उत्पादन ४.५५ प्रतिशतले वृद्धि भई २३ मेट्रिक टन पुगेको छ । त्यस्तै, कागज तथा कागजजन्य उत्पादन १४.२९ प्रतिशतले वृद्धि भई ४० मेट्रिक टन र प्लास्टिकका सामानको उत्पादन १६०.० प्रतिशतले वृद्धि भई १३ मेट्रिक टन पुगेको छ ।

समीक्षा वर्षमा नमुना छनोटमा परेका उद्योगहरूमा प्रशोधित दूधको उत्पादन १५.३८ प्रतिशतले वृद्धि भई १५,००,००० लिटर पुगेको छ भने अघिल्लो वर्षको सोही अवधिमा यस्तो उत्पादन १८.७२ प्रतिशतले वृद्धि भई १३,००,००० लिटर पुगेको थियो । 

त्यस्तै, समीक्षा वर्षमा शुद्ध पिउने पानीको उत्पादनमा २०.७३ प्रतिशतले गिरावट आई ७,६५,००० लिटर कायम भएको छ भने अघिल्लो आर्थिक वर्षमा सो उत्पादन १०.८ प्रतिशतले वृद्धि भई ९,६५,००० लिटर पुगेको थियो ।

त्यसैगरी समीक्षा वर्षमा चिरेको काठको उत्पादन २५.० प्रतिशतले गिरावट आई १५,००० क्यू फिट पुगेको छ भने अघिल्लो वर्ष सोही अवधिमा सो उत्पादन ३३.३३ प्रतिशतले वृद्धि भई २९,००० क्यू फिट पुगेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप