आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

चोरको बैंक खातामा ३४ लाख ७७ हजार मौज्दात

चोरीमा संलग्न दुई अभियुक्त कारागार चलान
शुक्रबार, २७ पुस २०८०, १३ : २०
शुक्रबार, २७ पुस २०८०

काठमाडौँ । ललितपुरको ग्वार्कोबाट मंसिर २७ मा दुई जना चोरीमा संलग्न आरोपीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरू हुन्, मकवानपुर घर भएका  ३७ वर्षीय वीर बहादुर वाइबा र ३७ वर्षका राम कृष्ण लोप्चन ।

दुई जना मिलेर चोरी गर्ने उनीहरूलाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेको छ । अदालतको आदेश अनुसार दुवै जनालाई कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले रातोपाटीलाई बताए ।

चोरीमा संलग्न कसुरमा पक्राउ गरेर अनुसन्धान गर्दा उनीहरूको खातामा लाखौँ रकम मौज्दात रहेको भेटिएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित सिस्नेरी घर भएर बालकुमारी बस्दै आएका वीर बहादुर बाइवाको खातामा ३४ लाखभन्दा बढी मौज्दात भेटिएको एसपी नवराज कार्कीले रातोपाटीलाई बताए । एसपी कार्की भन्छन्, ‘चोरीमा संलग्न वीर बहादुरको बैंक खातामा ३४ लाख ७७ हजार रुपैयाँ मौज्दात भेटिएको छ ।’

एभरेस्ट बैंक लिमिटेड र ग्लोबल आइएमई बैंकमा बाइवाले सो रकम जम्मा गरेका हुन् । तर, प्रहरीसँगको बयानमा आरोपीहरूले भनेका छन्,‘ हामीसँग बैंक खाता नै छैन ।’

अस्वाभाविक रकम मौज्दात भेटिएपछि वीर बहादुरबारे थप अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गरेको छ । एसपी कार्कीले भने, ‘आरोपीले अवैध स्रोतबाट रकम संकलन गरेको हाम्रो प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।’

ललितपुर महानगरपालिका–१५ स्थित मदन सिलवालको घरमा असोज ८ मा चोरी भएको थियो । सिलवालको घरबाट १५ लाख ९५ हजार बराबरको धनमाल वीर बहादुर र रामकृष्णले चोरी गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

मंसिर २७ मा पक्राउ गरेर अनुसन्धान गर्दा ती दुई अभियुक्तले थप दुई ठाउँमा चोरी गरेको तथ्य खुलेको हो । उनीहरूले ललितपुर–१५ ताल्छिखेल स्थित सबिता रोक्काको घरबाट ४ लाख २० हजार बराबरको धनमाल र न्यु गोर्खाली खाद्य भण्डारबाट २० थान सुगम ग्याँसको खाली सिलिन्डर चोरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप