सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्मचारीबाट सरकारलाई पूर्ण सहयोग प्राप्त हुन सकेन : मुख्यमन्त्री जम्कट्टेल

शुक्रबार, २७ पुस २०८०, २१ : ०१
शुक्रबार, २७ पुस २०८०

काभ्रे । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले निजामती कर्मचारीबाट सरकारलाई पूर्ण सहयोग प्राप्त हुन नसकेको बताएका छन् । सरकारले लिएका विकास र समृद्धिका योजना कार्यान्वयनमा कर्मचारीहरूले जोखिम लिनै नचाहने गरेको उनले बताए । 

धुलिखेलमा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन बाग्मती प्रदेश समितिले आयोजना गरेको सङ्गठन सुदृढीकरण तथा सार्वजनिक सेवा प्रवाहमा ट्रेड युनियनको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले सरकारले लिएका ठुला योजनाको कार्यान्वयनमा झमेला हुने भन्दै कर्मचारीहरु पन्छिने गरेको बताए । कर्मचारी कै कारण सरकारको बजेटमा टुक्रे योजना बढी समावेश हुने गरेको उनको भनाई छ । टुक्रे योजनाको प्रचलन कर्मचारीले नै चलाएको उनले आरोप लगाए । 

‘नयाँ सोच र जाँगर कर्मचारीमा हुनुपर्ने हो । त्यसो हुन सकेन । कर्मचारीहरु सजिलै काम सकियोस् भन्ने सोच्छन् । जसका कारण कर्मचारी जोखिम मोल्न नै चाहँदैनन् । टुक्रे योजनाको प्रचलन चलाउने कर्मचारी हुन् । ठूला आयोजनामा झमेला हुन्छ भनेर कर्मचारीहरु हात हाल्नै चाहँदैनन्।’ 

कर्मचारीहरु परम्परावादी सोचबाट प्रशिक्षित भएको उनले बताए । राजनीतिक नेतृत्व र कर्मचारीमा जहिले पनि विश्वासको खाडल कायम हुने गरेको उनको भनाइ रहेको छ। कर्मचारीलाई विश्वासमा नलिएसम्म काम नहुने भएकाले कर्मचारी र राजनीतिक नेतृत्व बिचको विश्वासको खाडल नमेटेसम्म देश विकास सम्भव नरहेको मुख्यमन्त्री जम्कट्टेलले बताए । 

अस्थायी, ज्यालादारी, करारका कर्मचारीलाई सामाजिक सुरक्षामा लैजान खोज्दा कर्मचारीहरूले नै इच्छा नदेखाएको उनले बताए ।  कर्मचारीहरुको समस्या समाधान र व्यवस्थापनका लागि सरकारले कर्मचारी ऐन जारी गरि कार्यान्वयनको चरणमा अघि बढेको उनले बताए । आगामी माघ १५ गतेभित्र प्रदेश निजामती कर्मचारी नियमावली ल्याउने तयारी सरकारले गरेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप