मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्नुपर्छ : अध्यक्ष ढकाल

सोमबार, ०१ माघ २०८०, २१ : ४३
सोमबार, ०१ माघ २०८०

बागलुङ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले विद्यार्थीलाई आफूले सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका छन् । 

आज बागलुङ नगरपालिका–१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयको ७४औँ वार्षिकोत्सवमा सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका  ढकालले विद्यालयले मुलुकका ठूला र राष्ट्रिय व्यक्तिहरु उत्पादन गरेको बताए । उनले विद्यालयको शैक्षिकस्तर र भौतिक पूर्वाधार विकासमा सबैको साथ आवश्यक रहेको उल्लेख गरे । 

सो विद्यालयका पूर्वविद्यार्थीसमेत रहेका अध्यक्ष ढकालले विद्या नै सबैभन्दा ठूलो धन भएकाले यस शाश्वत सत्यलाई बुझेर विद्यालय व्यवस्थापन समिति, अभिभावक, विद्यार्थी र सिङ्गो समुदाय शैक्षिक सुधारमा लाग्नुपर्नेमा जोड दिए । सैद्धान्तिकरुपमा आर्जन गरेको ज्ञान र सीपलाई व्यवहारमा उतारेर व्यावहारिक सीपको विकास गरी उद्यमी बन्न उनको  सुझाव थियो । 

अध्यक्ष ढकालले भने, “यो विद्यालयले मुलुकका महत्त्वपूर्ण भूमिकामा रहेर काम गर्ने जनशक्ति उत्पादन गरेको छ, सबै तहमा रहेकाले अब यस विद्यालयको शैक्षिक र भौतिक विकासका लागि लाग्नुपर्ने भएको छ, अब विद्यार्थीले आर्जन गरेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतारेर सृजनशील बन्नुपर्छ र उद्यमी बन्नेतर्फ ध्यान दिन जरुरी छ ।”

गण्डकी प्रदेशसभाका सदस्य कृष्ण पाठकले  विद्यालय पश्चिम नेपालको एक पुरानो र गौरवमय इतिहास बोकेको विद्यालय भएको भन्दै शैक्षिक उन्नयन र विकासका लागि आफू लागिपर्ने बताए । शिक्षाको विकास नभई मुलुकको विकास नहुने भएकाले सबै क्षेत्रका विद्यालय र विश्वविद्यालयको विकासमा लाग्नुपर्ने उनले बताए ।

बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले पालिकालाई आगामी वर्ष पूर्णबालबालिकमैत्री घोषणा गर्ने गरी काम भइरहेको बताए । सोही अनुसार विद्यालयको शैक्षिक गतिविधि, भौतिक संरचना सुधार भइरहेको उनको भनाइ थियो । 

सो अवसरमा विद्यालयका पूर्वप्रधानाध्यापक ईश्वरीप्रसाद ढकाल सम्मानित भएका थिए । विसं २००७ मा स्थापना भएको थियो । विद्यालयले लामो समयसम्म विभिन्न समस्याका बाबजुद पठनपाठनलाई प्रभावकारी बनाउँदै आएकामा पछिल्लो समय भौतिक संरचना र शैक्षिक गुणस्तर बढ्दै गएको प्रधानाध्यापक तिलक आचार्यले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप