सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

एप्पलले किन छुटमा बेच्दैछ आइफोन ?

मङ्गलबार, ०२ माघ २०८०, १७ : १२
मङ्गलबार, ०२ माघ २०८०

न्यूयोर्क । अमेरिकी आइफोन निर्माता कम्पनी एप्पलले चीनमा छुटमा आइफोन बेच्ने भएको छ । एसियामा यतिबेला स्मार्टफोन बजारमा प्रतिस्पर्धा चर्किरहेको छ । यस्तोमा कम्पनीले छुटमा आइफोन बेच्ने दुर्लभ कदम चालेको हो । 

लुनार नयाँ वर्षको अवसरमा आधिकारिक चिनियाँ वेबसाइटमा एप्पलले नयाँ मोडलका आइफोनमा ५०० युआनसम्म छुटको दिइरहेको छ । म्याक र आइप्याड लगायत अन्य प्रोडक्टमा पनि क्रमशः ८०० र ४०० युआनसम्म छूट छ ।

यो प्रोमोशन अभियान जनवरी १८ देखि जनवरी २१ सम्म चल्ने बताइएको छ । चीनमा तेस्रो पक्षका विक्रेताहरूले छूटमा एप्पलका सामान बेच्ने गरेका छन् । तर एप्पलले भने प्रिमियम ब्रान्डको रूपमा आफ्नो छविलाई कायम गर्न आफैँले कहिले पनि यसरी छूटमा सामान बेचेको थिएन ।

चीनको बहुराष्ट्रिय प्रविधि कम्पनी हुवावेले आफ्नो फ्ल्यागशीप स्मार्टफोन मेट६० प्रो सार्वजनिक गरेको पाँच महिनामा एप्पलले मूल्य कटौती गरेको हो । आइफोनको विक्री घटेर कम्पनीले छूटमै प्रडक्ट बेच्नु पर्ने स्थिति आएपछि दोस्रो ठुलो अर्थतन्त्रमा एप्पलका प्रडक्टको मागबारे प्रश्नहरू उठ्न थालेको छ ।

आइफोन निर्माताका लागि चीन लामो समयसम्म मुख्य बजारको रूपमा रहँदै आएको थियो । गएको वर्ष विश्वको कूल विक्री मध्ये २० प्रतिशत विक्री चीनमै भएको थियो । तर फोन लञ्च भएको पहिलो २ हप्तामा आइफोन १४ को तुलनामा आइफोन १५ को बिक्री साढे ४ प्रतिशतले घटेको काउन्टर प्वाइन्ट रिसर्चले भनेको छ ।

चीन एप्पलको लागि मुख्य बजारहरूमध्ये एक हो । तर पछिल्लो समय अर्थतन्त्रमा आएको सुस्ती, चीनले सरकारी अधिकारीहरूलाई आइफोन प्रयोगमा लगाएको प्रतिबन्ध आदिका कारण त्यहाँ कम्पनीको विक्री सुस्ताउन थालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप