बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
अपराध

३ वर्षदेखि नक्कली रक्सी कारोबार गर्ने मामा–भान्जा

दोहोरी र रात्रि क्लबहरूमा बिक्री हुन्छ नक्कली मदिरा
बुधबार, ०३ माघ २०८०, १७ : ३१
बुधबार, ०३ माघ २०८०

काठमाडौँ । काठमाडौँको थलीमा सञ्चालित नक्कली मदिरा कारखानामा छापा मार्दा प्रहरीले पुरानै कारोबारी फेला पारेको छ । कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित थलीमा रहेको मदिरा कारखानामा छापा मार्दा यसअघि त्यही मुद्दामा पक्राउ गरिएकाहरूको संलग्नता भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरले रातोपाटीलाई बताए ।

माघ २ मा उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरे नेतृत्वको टोलीले मदिरा कारखानामा छापा मारेको हो । कारखानाका सञ्चालक हुन्, रामेछापको खाँडादेवी गाउँपालिका घर भएका २८ वर्षीय मनोज खत्री र ३६ वर्षीय विनोद कुमार कार्की । सिन्धुली घर भएका २८ वर्षीय गौरव तामाङ पनि सञ्चालक मध्येका हुन् ।

मनोज खत्री र विनोद कुमार कार्कीले विगत ३ वर्षदेखि नक्कली रक्सी बनाएर बजारमा पठाउने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । मनोज २०७८ मा पनि पक्राउ परेका थिए । त्यसबेला उनी ५० हजार धरौटीमा रिहा भएका हुन् ।

मनोज खत्री र विनोद कुमार कार्की मामा–भान्जा हुन् । यसअघिका दुईवटा मुद्दामा फरार भएका विनोद कुमार कार्की नक्कली मदिरा बनाएको तेस्रो घटनामा संलग्न देखिएका हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी राठौर भन्छन्–‘मनोज र विनोद तेस्रो पटक नक्कली मदिरा बनाएको कसुरमा संलग्न देखिएका छन् ।’

यसअघि प्रहरीको दुईवटा अपरेसनमा विनोद कुमार कार्की फरार थिए । सिन्धुलीका गौरव तामाङ नक्कली मदिरा बेचेको मुद्दामा दोस्रो पटक संलग्न देखिएका हुन् । यसअघिको एउटा मुद्दामा फरार गौरव अहिले पहिलो पटक पक्राउ परेका हुन् ।

आरोपीहरूले नेपाली र विदेशी ब्रान्डको नक्कली मदिरा तयार गरेर बेचेको आरोप छ । उनीहरूको कारखानाबाट प्रहरीले नेपाल ब्रान्डको मदिरा खुकुरी रम, गोल्डेन ओक, फाइटर र सिग्नेचर बरामद गरेको छ । नेपाली ब्रान्डको ‘सगुन’ नामको मदिरामा एक बोतल ब्ल्याक लेबल र चिनीको घोल मिसाएर उनीहरूले ३ बोतल ब्ल्याक लेबल तयार पार्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । एसएसपी राठौर भन्छन्–‘नक्कली रक्सीलाई ब्ल्याक लेबल जस्तो बनाउन उनीहरूले चिनिलाई डढाएर घोल बनाउने गरेको भेटिएको छ ।’

तयारी मदिरा बजारमा पठाउने मुख्य भूमिका मनोजको हुन्थ्यो । उनी विनोद कुमार कार्कीका भान्जा हुन् । आरोपीहरूले नक्कली मदिरा दोहोरी साँझ र रात्रि क्लबहरूमा बेच्ने गरेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृत भन्छन्–‘नक्कली मदिर खरिद गर्नेहरूबारे पनि अनुसन्धान हुँदै छ ।’

नक्कली मदिरा बनाउने कारखानामा काम गर्ने र अर्डर अनुसार सामान सप्लाई गर्ने काममा संलग्न अरू ६ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । कारखानाबाट आन्तरिक राजस्व विभागको अन्त शुल्क स्टिकर पनि प्रहरीले बरामद गरेको छ । आरोपीहरू विरुद्ध प्रहरीले कालो बजार सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ । मुख्य आरोपी सहित पक्राउ पर्नेमा सिन्धुपाल्चोकका मोहन खड्का, काठमाडौँका सुमन नगरकोटी, सिन्धुलीका लेख विक्रम थापा, रामेछापका महेश खत्री, मनिष खत्री र सिन्धुपाल्चोकका रोशन कार्की छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप