सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
चिनियाँ महिला कुटपिटमा प्रकरण

‘मलाई अङ्ग्रेजीमा गाली गरेपछि १२ कक्षा पढ्दै गरेका युवकले चिनियाँ महिलाको गालामा झापड हाने’

स्पष्टीकरणमा ६ पाना खर्च, देव गुरुङमाथि नै छानबिनको माग
शनिबार, ०६ माघ २०८०, १२ : १०
शनिबार, ०६ माघ २०८०

सुर्खेत । चिनियाँ महिला कुटपिट प्रकरणमा नेकपा माओवादी केन्द्रको स्पष्टीकरणमा परेका वैकल्पिक केन्द्रीय सदस्य गोरख बहादुर केसीले आफ्नो बचाउ गरेका छन् । उनले यो प्रकरणमा पार्टीका केन्द्रीय महासचिव देव गुरुङको समेत भूमिका रहेको दाबी गर्दै उल्टै उनीमाथि छानबिनको माग गरेका छन् । 

गुरुङले आफन्तका लागि चिनियाँहरूको प्रोजेक्ट मिलाएको आरोप लगाउँदै उनले सो प्रोजेक्टबाट भ्रष्टाचार गरेर हुने आम्दानीमा गुरुङ समेत हिस्सेदार रहेको विषयमा छानबिन हुनुपर्ने माग गरेका हुन् । आफ्नो ६ पाना लामो स्पष्टीकरणमा उनले राज्य शक्तिको दुरुपयोगबाट केही गर्न नसक्ने देखिएपछि प्रदेश अध्यक्ष विमला केसीसमेतको दबाबमा देव गुरुङले आफूलाई पार्टीबाट निकाल्न स्थायी कमिटीमा प्रस्ताव गरेको दाबी गरेका छन् । गत शनिवार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले उनलाई स्पष्टीकरण सोधेर आवश्यक कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । 

केसीको टोलीले जाजरकोटमा गएको भूकम्पबाट प्रभावितलाई राहत लिएर गएका चिनियाँ टोलीकी प्रमुख सोउ सिच्याङमाथि मंसिर २० मा रिम्नामा कुटपिट गरेको आरोप लागेको छ । ‘भूकम्प प्रभावित क्षेत्रमा चीन सरकारको तर्फबाट वितरण गर्न लगिएको राहत सामाग्री वितरण  गर्ने क्रममा विवाद उत्पन्न भई वैकल्पिक केन्द्रीय सदस्य क गोरख बहादुर केसीको  उपस्थितिमा चिनियाँ टोलीका प्रमुख महिला माथि कुटपिट भएको घटनाको बारेमा निज  गोरख बहादुरसँग लिखित स्पष्टीकरण सोध्ने र आवश्यक कारबाहीको प्रक्रिया अगाडी  बढाउने निर्णय गरिएको छ’, माओवादीको हालै जारी सर्कुलरमा भनिएको थियो । 

सोहीअनुसार माघ ५ मा केसीले पठाएको जवाफी स्पष्टीकरणमा घटनाको पृष्ठभूमि, आठबिसकोट नगरपालिकामा सामान लुटिएको सन्दर्भमा भएको छलफल सन्दर्भसहित स्पष्टीकरणको विस्तृत विवरण उल्लेख गरेका छन् । 

जसमा मंसिर १८ गते साँझ महासचिव गुरुङ, प्रदेश इन्चार्ज मातृका यादव र  प्रदेश अध्यक्ष केसी  आफ्नो घरमा बास बस्न पुगेको उल्लेख गरिएको छ । सो क्रममा ग्लोबल कोअपरेशन फर डेभ्लोमेन्ट नामक चिनियाँ संस्थाका कन्ट्री मेनेजर मुक्ति मरासिनीसँग आफ्नो चिनजान गराइएको स्पष्टीकरणमा उल्लेख छ । तर, जाजरकोट पठाएको भूकम्प प्रभावितको राहत सामग्री काठमाडौँमा भनिएको भन्दा कमसल भएको पाइएपछि यसबारे आफूले सोधपुछ गरेको उनको भनाइ छ । तर, जवाफमा मुक्तिले आफ्नो बचाउ गरेको उनको भनाइ छ । बरु मरासिनीले राहत सामान दुरुपयोग गर्न गुरुङकै अगाडि आफूलाई उक्साएको तर महासचिव मौन बनिदिएको उनको स्पष्टीकरणमा उल्लेख छ । यही विषयमा भएको मतभेदपछि देव गुरुङ आफ्नो घरबाट बास छाडेर हिँडेको पनि उनको दाबी छ । 

आफ्नो घरमा लुटको धन्दाको सामग्री नराख्न भनेर मरासिनीलाई भनेको र सोहीअनुसार सामाग्री निकाल्ने क्रममा आफूले घोटाला भएको सामानबारे सोध्दा चिनियाँ महिला गाडीबाट निस्केर विवाद निकालेको उनको दाबी छ । ती महिलाले अङ्ग्रेजीमा आफूलाई बेस्सरी गाली गरिरहेपछि आक्रोशित बन्दै आफूकहाँ काम गर्ने १२ कक्षा पढ्दै गरेको युवकले आवेगमा आएर महिलाको गालामा बेस्सरी झापड लगाएको केसीले बताएका छन् । 

केसीले भनेका छन्, 'त्यो महिला म भएतिर नआएर ती सामान लोड गर्ने मजदुर भएतिर गइन् र उनीहरू अगाडि उभिएर भाषण सुरु गरिन्: यसलाई तिमिहरूले पहिला किन भोट हालेको ?, अब यसलाई भोट नगर्नु, यसले मलाई दुःख दियो भन्दै थिइन्, मेरो स्टाफले दाइलाई भोट नहाल भन्ने त को होस् भनेर गालामा बेस्सरी झापट लगाई हाल्यो, ( हाम्रो अफिसमा १महिना देखि मात्र काम सुरु गरेको र १२ कक्षा पढ्दै गरेको केटो त्यस प्रकारको आक्रामक होला भन्ने सोचिएन ) त्यो महिला रन्थनिँदै ५/७ फिट टाढा गएर लडिन्, उनलाई पहिल्यैदेखि संहाली रहेको नेपाली केटोले उठाएर गेट बाहिर लिएर गाडीमा राख्यो । मैले कामदारहरूलाई छिटो समान लोड गरिदिन भनेँ, मेरो स्टाफहरुलाई गाली गरे । भएको घटना यत्ति हो ।'

उनले अगाडि भनेका छन्, ‘पार्टीले मलाई किन त्यो महिलामाथि हातपात हुँदा मूकदर्शक भएको भनेर सोधेको छ । ती महिला म भन्दा केही फिट टाढै मजदुरहरूको अगाडि उभिएर अङ्ग्रेजीमा भाषण गर्दै थिइन्, मजदुरहरुले के भन्दै छ भन्ने नबुझेर त्यत्तिकै ट्वाँ परेर सुनिरहेका थिए । त्यो केटो १२ पढ्दै गरेको भएर बुझेछ र हानेछ । म अलि पर कुर्सीमा बसिरहेको मानिसले एकाएक प्रहार गर्नेलाई कसरी रोक्नु ? भाषण सुनेर चुपचाप उभिरहेको त्यो केटो भित्रभित्रै रिसाई सकेको छ र त्यसले आक्रमण गर्छ भनेर मैले कसरी थाहा पाउने ??? कसरी रोक्ने ?? अध्यक्ष कमरेड यो प्रकारले हुने घटनालाई रोक्ने कुनै उपाय भएको भए मलाई बताइदिनु । त्यस्तो प्रबिधि वा उपाय भएको भए अस्ति माला लगाउन उभिएको मानिसबाट केपी बाले झापट खाने थिएनन् । रविले खोया खाने थिएनन् । गएका वर्षहरूमा झलनाथले चप्पल खाने थिएनन् । त्यति ठुला नेताहरूलाई त राज्य संयन्त्रले जोगाउन सकेन, म यो पार्टीको वैकल्पिक केन्द्रीय सदस्यले कसरी जोगाउन सकुँला ?? यस प्रकारको आकस्मिक घटना नरोकेको भनेर कारबाही गर्ने हो भने त... ? यो निकै हास्यास्पद हुन्छ ।’

गुरुङ र विमलालाई मलाई कारबाही नगरी नहुने भन्ने लागेको भए अरू नै उपाय खोज्न पनि उनले सुझाएका छन् । उनले घटनापछि नयाँ र अनौठो मोड लिएको भन्दै सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्‍याएको आरोपमा प्रहरीले झापड हान्नेलाई २५ दिन थुनेर ५ हजार धरौटीमा छाडेको बताएका छन् । तर, चिनियाँ महिलाले भने मुद्दा दर्ता नगरेको उनको भनाइ छ । 

उनले देव गुरुङ प्रति आक्रोश पोख्दै दुनियाँ चहारेर पार नलागेपछि पार्टीमा आएजस्तो आफू नभएको बताएका छन् । आफूले आफ्नो ठाउँको जनता र कार्यकर्ताको मनमा थोरै भए पनि ठाउँ बनाएको भन्दै त्यही आफ्ना लागि काफी भएको बताएका छन् । उनले मरासिनी गुरुङ नातेदार रहेकाले गलत कार्यमा सघाएको आरोप समेत स्पष्टीकरणमा लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप