अबको बजेट कनिका छरेजस्तो हुँदैन, अधुरा आयोजनाहरू सम्पन्न गर्न जोड दिइन्छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत नीति तथा कार्यक्रम र बजेटले समस्या समाधान नहुने भन्दै आगामी बजेट कनिका छरेजस्तो नभई अधुरा आयोजनाहरूको निर्माण कार्य सम्पन्न गर्नेगरी ल्याइने बताएका छन् ।
मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीसम्बन्धी बैठकमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्रीले पुराना योजनाहरू अलपत्र पर्ने तर नयाँ–नयाँ योजना थपिँदै जाँदा एकातिर काम नहुने र अर्कोतर्फ ठूलो स्रोत खेर जाने भएकाले यसतर्फ गम्भीर हुन अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगको ध्यानाकर्षण गराएका हुन् ।
‘विकास भनेको योजनाबद्ध हुन्छ, हुनुपर्छ । बिना सम्भाव्यता अध्ययन, बिना उपयोगिता जहाँ पनि विकास माग्ने तर त्यसको अपनत्व पनि नलिने, स्रोत पनि नपुग्ने र विनियोजित बजेट पनि फ्रिज जाने विडम्बना छ’, प्रधानमन्त्रीले भने, ‘त्यसबाट हामी माथि उठ्नैपर्छ । यसपटकको बजेट कनिका छरेजस्तो हुँदैन । विगतमा छनोट भएर अधुरा रहेका योजना सम्पन्न गर्न सम्पूर्ण तागत लगाउनुपछ ।’
उनले पछिल्ला दिनमा अर्थतन्त्रका संकेतहरू सकारात्मक भएपनि अर्थतन्त्र दबाबमुक्त भइनसकेको स्वीकार गरे । ‘विकास निर्माणका काममा थुप्रै बेथिति छन् । यसपटक परम्परागत सोच र ढाँचाबाट माथि उठौँ। सबैलाई खुसी पार्ने होइन, देशको समृद्धिको कार्यभार पूरा हुने योजना छनोट गर्नुपर्छ। यसपटक “ब्रेक–थ्रू” गर्नैपर्छ’, प्रधानमन्त्रीको भनाइ छ ।
बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रका बाह्य सूचकहरू सकारात्मक रहे पनि राजश्व संकलनमा अपेक्षित सफलता प्राप्त भइनसकेकाले मितव्ययी भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
यस्तै नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्यालले यसपटक नीति तथा कार्यक्रम र बजेट निर्माणको कार्यतालिका परिमार्जन गरिएकाले पर्याप्त अध्ययन र छलफलका आधारमा अन्तिम निष्कर्षमा पुग्न सजिलो हुने बताए ।
बैठकमा अर्थसचिव डा. कृष्णहरि पुष्कर लगायत अर्थ मन्त्रालयका विभागीय प्रमुखहरूले अर्थतन्त्रको वर्तमान अवस्थाबारे विषयगत प्रस्तुति राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण