सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

कांग्रेसकै कारण माओवादीलाई निरन्तर क्षति !

बिहीबार, ११ माघ २०८०, २० : ३०
बिहीबार, ११ माघ २०८०

विराटनगर । सत्ता गठबन्धनको महत्त्वपूर्ण साझेदार दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले मुख्य साझेदार दल कांग्रेसकै कारण कोशी प्रदेशमा एक वर्ष यता निरन्तर क्षति बेहोर्नु परेको छ ।

प्रदेशसभामा एमालेसँग गठबन्धन गर्दा सभामुख (बाबुराम गौतम) र स्थिर सरकारको मन्त्री बन्न पाएको माओवादीले केन्द्रको गठबन्धन फेरबदल भएपछि ती पद गुमायो । कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउनकै लागि गत असारमा माओवादीले उक्त पद गुमाएको हो ।

प्रदेशको नामकरण कोशी राख्ने क्रममा पनि कांग्रेसको जिद्दीकै कारण माओवादीले राजनीतिक पराजय बेहो¥यो । कोशी नाममा माओवादीले हस्ताक्षर नगर्दा कांग्रेसले पनि हस्ताक्षर गर्न नमान्ने अडान राख्यो । तर, प्रदेशको नाम जसरी पनि राख्नुपर्छ भन्ने जनदबाब बुझेर माओवादीले बेनामे हुनुभन्दा जस्तो भए पनि नाम राखौँ भन्ने पक्षमा आफूलाई उभ्यायो । जसको कारण माओवादीले बाध्य भएर ‘कोशी’ नाममा हस्ताक्षर ग¥यो ।

पहिचानको पक्षमा रहँदै आएको माओवादी आफ्नो एजेण्डा बिर्सदै कोशी नाममा हस्ताक्षर गर्न बाध्य बनेपछि यहाँको पहिचान पक्षधर जनमत सो पार्टीसँग रुष्ट बन्यो । माओवादीलाई त्यसले राजनीतिक क्षति भयो ।

यस्तै सभामुखको राजीनामापछि पनि गठबन्धनबाट कांग्रेस दलका नेता थापाले दुई दुई पटक मुख्यमन्त्री बन्ने सौभाग्य प्राप्त गरे । तर, उनी पहिलो पटक विश्वासको मत लिन नपाइ अदालतबाट बर्खास्तमा परे भने दोस्रो पटक लिएको विश्वासको मत पनि अदालतले मान्यता दिएन ।

त्यसपछि गठबन्धनबाट माओवादी दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय भयो । उक्त निर्णयको खिलाफमा कांग्रेसका सांसद तथा हालका मुख्यमन्त्री केदार कार्कीसहित ८ सांसदले विद्रोह गरे, र मुखमा आएको मुख्यमन्त्री पद खोसेर लिए ।

संविधानको धारा १८६ को उपधारा ५ अनुसार बनेको कार्की नेतृत्वको सरकारलाई गठबन्धनले स्वीकार गरेको छ । तर, कार्कीले आफ्ना साथमा ५ मन्त्रालय राखेका छन् । माओवादीलाई एउटा सामान्य मन्त्रालय दिएर थन्क्याएका छन् । अझै पनि कार्कीले माओवादीलाई कुनै राम्रो मन्त्रालय दिने मनसाय राखेको देखिँदैन ।

माओवादीले कांग्रेसबाट पाउने धोका र राजनीतिक बेइमानीको पछिल्लो कडी बिहीबारको राष्ट्रियसभा निर्वाचन हो । कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला विजयी हुँदा त्यही गठबन्धनबाट उम्मेदवार बनेकी माओवादीकी चम्पा कार्की भने पराजित बनिन् । उनलाई कांग्रेसका ३ सांसद र १३ जना स्थानीय तहका प्रतिनिधिहरुले भोट नदिएर एमालेकी उम्मेदवार रुक्मिणी कोइरालालाई भोट दिए ।

एमालेका एक नेताका अनुसार राष्ट्रियसभा निर्वाचनको पूर्व सन्ध्यामा कांग्रेसका सांसद सुनिल शर्मासहित केही नेता जिल्ला दौडमा किन गएका थिए भन्ने परिणामले देखायो । उनका अनुसार शर्मा डाक्टर शेखर कोइराला निकटका हुन् । शर्माले नै परिणामलाई उलटफेर गरेको ती एमाले नेताको दाबी छ ।

माओवादी कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले यसअघि गठबन्धनले गरेको निर्णय विपरीत मुख्यमन्त्री बनाउन हिँडेको शक्तिको चलखेलले नै आफ्नो उम्मेदवार पराजित हुनु परेको प्रतिक्रिया दिए । ‘यो निर्वाचनमा राजनीतिक योजनाका साथ गठबन्धनको उम्मेदवार हराइएको हो,’ मिक्सोले भने, ‘यसअघि गठबन्धनले गरेको निर्णयअनुसार मुख्यमन्त्री नबनाउन चलखेल गर्ने शक्तिहरुले नै अहिले पनि गठबन्धनका उम्मेदवार पराजित गर्न योजनाबद्ध ढंगले लागेको देखियो ।’

माओवादीका अर्का एक नेताले भने, ‘कांग्रेसका एकथरीले संस्थागत ढंगले गरेको राजनीतिक बेइमानी हो । यसको हिसाव किताब बिस्तारै हुँदै जानेछ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप