बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

भोलिदेखि गगन थापाको संवाद यात्रा, यस्ता छन् चार प्रकृतिमा कार्यक्रम

शुक्रबार, १२ माघ २०८०, १३ : ००
शुक्रबार, १२ माघ २०८०

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा शनिवार बिहान ८  बजेदेखि मेची—महाकाली संवाद यात्रामा निस्कने भएका छन्। महामन्त्री थापाले माघ २६ गतेसम्म संवाद यात्रा जारी रहने रातोपाटीलाई बताए । थापाले संवाद यात्राको कार्यक्रम बिहान ७ देखि ९ बजेसम्मका लागि तय गरेका छन् । एक जिल्लामा न्यूनतम पाँच वटा कार्यक्रम गर्ने उनको तयारी छ ।  

 ‘संवाद यात्रामा जाँदै गर्दा बाटो हुलाकी राजमार्गको बनाइएको छ । तर, हुलाकी राजमार्ग हिँड्ने अभियान होइन । हुलाकी राजमार्ग वरिपरीको समुदायसँग अन्तर्क्रिया गर्ने अभियान हो,’ उनले भने। 

पार्टीका कार्यकर्ता र जनताका गुनासा—सुझाव सुन्न झापाको छोटी भन्सारबाट भोलि संवाद यात्रा सुरु हुने उनको भनाइ छ । १३ दिने संवाद यात्रामा महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर गरी २१ जिल्ला पुग्ने कार्यक्रम छ ।  

२१ जिल्लामा पार्टीका कार्यकर्ता र जनताका सुन्ने कार्यक्रम छ । कांग्रेसले भोलिदेखि २६ गतेसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्दै छ। त्यही अभियान अन्तर्गत आफूले हुलाकी राजमार्गले छोएका जिल्लाका नागरिकको कुरा सुन्न संवाद यात्रा गर्न लागेको उनको भनाइ छ ।

यस्ता हुने छन् चार प्रकृतिका कार्यक्रम

महामन्त्री थापाका अनुसार संवाद यात्रामा खुला छलफल, समूहगत छलफल, व्यक्तिगत छलफल र अवलोकन गरी चार प्रकृतिका कार्यक्रम हुने छ ।

एउटा कार्यक्रम ‘समुदायसँग कांग्रेस’सँग अभियानजस्तै ठाउँ—ठाउँमा दिनमा दुई वटा खुला संवाद हुन्छ । ‘त्यो खुला संवादमा पार्टीका साथीहरूलाई सार्वजनिक सूचना गरेर सार्वजनिक ठाउँमा आम मान्छेलाई बोलाउन भनिएको छ । जहाँ आम नागरिकका हामी कुरा सुन्छौं । त्यहाँ देशका बारेमा, प्रदेशका बारेमा, स्थानीय विषयमा अन्तर्क्रिया हुन्छ,’ उनले भने । 

दोस्रो कार्यक्रम स्थानीय समस्या र सम्भावनामा केन्द्रित हुने महामन्त्री थापा बताउँछन् । उनले भोलि झापामा हुने कार्यक्रमको उदहारण दिँदै भने, ‘हात्तिबाट प्रभावित भएको ठाउँको अवलोकन गर्छौँ । त्यहाँ मान्छेसँग अन्तर्क्रिया गर्छौँ । झापामा राम्रो काम गरिरहेको कृषि फाममा त्यहाँका साथीहरुसँग बसेर छलफल गर्छौँ । स्थानीय तहमा के समस्या छ ? हामीले के सहजीकरण गर्न सकिन्छ भनेर कुराकानी गर्छौँ ।’ २१ जिल्लामै यस्तो प्रकृतिको अवलोकन र अन्तिक्र्रियाको कार्यक्रम रहेको उनले बताए ।

तेस्रो सेवा प्रवाह गर्ने ठाउँको अवलोकनको कार्यक्रम रहेको महामन्त्री थापाले सुनाए । ‘पर्सी सप्तरीको राजविराज अस्पतालको टिमसँग त्यहाँ के भइरहेको छ, समस्या के छ भनेर अन्तर्क्रिया छ । कुनै जिल्लामा विद्यालय छ, कुनै जिल्लामा स्थानीय प्रशासनसँग अन्तर्क्रिया कार्यक्रमको तालिका छ । यस्तो प्रकृतिको कार्यक्रम पनि २१ जिल्लामै हुन्छ,’ उनले भने ।

महामन्त्री थापाका अनुसार चौथो कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएर स्थानीय तहमा काम गरिरहेको मान्छेसँग व्यक्तिगत कुराकानी छ । कुनै ठाउँमा वैदेशिक रोजगारमा गएको मान्छेको परिवारसँग पनि संवाद गरिने उनले बताए ।

‘यो कार्यक्रम बासस्थान पुगिसकेपछि रातिको समयमा हुन्छ । सातदेखि ९ बजेसम्म यस्तो प्रकृतिको कार्यक्रम गर्ने तालिका छ ,’ महामन्त्री थापाले भने।

संवाद यात्राका लागि काठमाडौँबाट महामन्त्री थापा साथमा ३—४ जनाको टोली मात्र छ । भोलि झापाको कार्यक्रममा महामन्त्री विश्वप्रकाश शर्मा, नेता कृष्णप्रसाद सिटौला लगायतका नेताहरू सहभागी हुने छन् ।

‘समुदायसँग कांग्रेस’ अभियानका लागि जिल्लामा खटिएका प्रतिनिधि पनि सम्बन्धित जिल्लामा हुने महामन्त्रीको संवाद यात्रामा सहभागी हुने छन् । जिल्ला प्रतिनिधि नरहेका केन्द्रीय नेताहरू पनि संवाद यात्रामा जोडिने महामन्त्री थापाको भनाइ छ । ‘हाम्रो कार्यक्रम पार्टीभन्दा बाहिर निस्किने कार्यक्रम भएकाले स्थानीय साथीहरूलाई भनेका छौँ ,’ उनी भन्छन्, ‘म सहभागी हुने कार्यक्रम जस्तै कार्यक्रम हाम्रो ६ हजार ७ सय ४३ वडामा हुन्छ । हाम्रो साथीहरू सबै वडामा पुग्नुहुन्छ । यही ढाँचाको कार्यक्रम प्रत्येक वडामा हुन्छ ।’

त्यसको रिपोर्टिङ गर्ने ढाँचा बनाइएको महामन्त्री थापाले रातोपाटीलाई बताए । ‘केही पार्टीका लागि आएको सुझाव आउछ । त्यसलाई आफ्नो ढङ्गले राख्ने भयौँ । त्यो कोही महासमितिमा आउने भयो,’ उनले भने, ‘कोही विधान संशोधनसँग जोडिएको होला । केही स्थानीय सरकारसँग हुने सुझाव भए । त्यो त्यहाँ स्थानीय सरकारलाई हस्तान्तरण गर्ने भयौँ ।’

प्रदेश र संघको सरकारका लागि आएका सुझावलाई संसदमा लिएर जाने महामन्त्री थापाले बताए । ‘महासमिति बैठकले पार्टीको नीति पनि बनाउने हो । पार्टीको नीति बनाउँदा अहिले कार्यक्रममा परिचालित भएका महासमिति सदस्यले ज्ञान, जानकारी लिएर आउँछ,’ उनले भने, ‘उसले महासमिति बैठकमा त्यसलाई प्रवेश गराउँछ । त्यो अहिलेको भन्दा परिपक्व र समृद्ध हुन्छ । कुनै कुरा संस्थागत ढङ्गले जाने भयो ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप