सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सामर जोसेफले सात विकेट लिएपछि अस्ट्रेलियामाथि वेस्ट इन्डिजको रोमाञ्चक जित

आइतबार, १४ माघ २०८०, १३ : २९
आइतबार, १४ माघ २०८०

काठमाडौँ । दोस्रो टेस्ट क्रिकेटमा भ्रमणकारी टोली वेस्ट इन्डिज विजयी भएको छ । दोस्रो टेस्टको चौथो दिन आइतबार वेस्ट इन्डिजले अस्ट्रेलियामाथि आठ रनको रोमाञ्चक जित हासिल गरेको हो । वेस्ट इन्डिजको जितपछि दुई टेस्टको शृंखला पनि १–१ को बराबरीमा सकिएको छ । यसअघि खेलिएको पहिलो टेस्टमा अस्ट्रेलिया १० विकेटले विजयी भएको थियो ।

ब्रिसबेनमा खेलिएको दोस्रो टेस्टमा दुई सय १६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियन टोली आफ्नो दोस्रो पालीमा दुई सय सात रन बनाउँदै अलआउट भएको थियो । दोस्रो पालीमा अस्ट्रेलियाका लागि ओपनर ब्याट्सम्यान स्टिभन स्मिथले अर्धशतकीय पाली खेले । उनले टोलीका लागि अविजित ९१ रनको योगदान गरे ।

लामो समय क्रिजमा संघर्ष गरेका अनुभवी ब्याट्सम्यान स्मिथले एक सय ४६ बलको सामना गरी एक छक्का र नौवटा चौका हिर्काए । अस्ट्रेलियाका लागि क्यामरुन ग्रिनले पनि ४२ रनको योगदान गरे । उनले ७३ बलमा चार चौका प्रहार गरेका थिए ।

मिचेल स्टार्क २१ रन बनाउँदै पेभेलियन फर्किए । मिचेल मार्सले र ओपनर उसमान ख्वाजाले १०–१० रन बटुले । दोस्रो पालीमा क्यारेबियन टोलीका बलर सामर जोसेफ नायक बने । उनी एक्लैले सात विकेट लिए । उनले ११.५ ओभरमा ६८ रन खर्चिएका थिए । अल्जारी जोसेफले पनि दुई विकेट हात पारे । जस्टिन ग्रेभ्सले एक विकेट लिए ।

त्यसअघि वेस्ट इन्डिज आफ्नो दोस्रो पालीमा एक सय ९३ रन बनाउँदै अलआउट भएको थियो । वेस्ट इन्डिजका लागि दोस्रो पालीमा किर्क म्याकेन्जीले ४१ र एलिक अथान्जले ३५ रन बनाएका थिए । जस्टिन ग्रेभ्सले पनि ३३ रन जोडेका थिए ।

दोस्रो पालीमा अस्ट्रेलियाका बलर जोस हेजलउड र नाथन लियोनले तीन–तीन विकेट लिए । मिचेल स्टार्क र क्यामरुन ग्रिनले पनि एक–एक विकेट हात पारे । अस्ट्रेलियाले भने नौ विकेटको नोक्सानीमा दुई सय ८९ रन बनाउँदै आफ्नो पहिलो पाली समाप्तिको घोषणा गरेको थियो ।

पहिलो पालीमा अस्ट्रेलियाका लागि ओपनर उसमान ख्वाजाले ७५ रन बनाएका थिए । उनले एकसय ३१ बलमा १० चौका पनि हिर्काएका थिए । तल्लोक्रमका ब्याट्सम्यान एलेक्स केरी र प्याट कमिन्सले पनि अर्धशतक बनाएका थिए । केरीले ६५ रन बनाए । विकेटकिपर ब्याट्सम्यान केरीले ४९ बलको सामना गरी एक छक्का र नौ चौका हिर्काएका थिए । कमिन्सले पनि अविजित ६४ रन जोडेका थिए । उनले ७३ बलमा एक छक्का र आठ चौका पनि हिर्काएका थिए ।

पहिलो पालीमा क्यारेबियन टोलीका बलर अल्जारी जोसेफ एक्लैले चार विकेट लिएका थिए । उनले १४ ओभरमा ८४ रन खर्चिएका थिए । केमर रोचले पनि तीन विकेट हात पारेका थिए । सामर जोसेफ र केभिन सिनक्लियरले पनि एक–एक विकेट लिए । त्यसअघि क्यारेबियन टोली आफ्नो पहिलो पालीमा तीनसय ११ रन बनाउँदै अलआउट भएको थियो । टस जिती पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि तीन ब्याट्सम्यानले अर्धशतक बनाएका थिए । जोसुआ डा सिल्भाले ७९ रन बनाएका थिए । उनले एक सय ५७ बलमा सात चौका हिर्काए ।

काभेम हजले पनि टोलीको खातामा ७१ रन थपे । उनले एक सय ९४ बलको सामना गरी एक छक्का र आठ चौका पनि हिर्काए । केभिन सिनक्लियरले ५० रन जोडे । उनले ९८ बलको सामना गरी एक छक्का र पाँच चौका प्रहार गरे ।
पहिलो पालीमा अस्ट्रेलियन टोलीका बलर मिचेल स्टार्क एक्लैले चार विकेट लिए ।

उनले २४ ओभरमा तीन मेडन राख्दै ८२ रन खर्चिएका थिए । हेजलउड र नाथन लियोनले पनि दुई–दुई विकेट हात पारेका थिए । कमिन्सले पनि एक विकेट लिएका थिए । वेस्ट इन्डिजका सामर जोसेफ प्लेयर अफ दी म्याच र प्लेयर अफ दी सिरिज घोषित भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप