बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

भारतीय क्रिकेटर मयंकले अस्पतालको शय्याबाटै विमान कम्पनीविरुद्ध उजुरी दर्ता गराए

बुधबार, १७ माघ २०८०, ११ : ५३
बुधबार, १७ माघ २०८०

काठमाडौँ । भारतका लागि थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका ओपनर ब्याट्सम्यान मयंक अग्रवालले एक विमान कम्पनीविरुद्ध प्रहरीमा उजुरी दर्ता गरेका छन् । ३३ औँ वर्ष प्रवेशको सँघारमा रहेका मयंकले उडानका क्रममा खान–पिनमा लापरबाही गरेको भन्दै विमान कम्पनीविरुद्ध प्रहरीमा उजुरी गरेका हुन् ।

इन्डिगोको विमानमार्फत नयाँ दिल्ली जानेक्रममा मयंक विरामी परेका थिए । मयंक कर्णाटकको रणजी टोलीका कप्तान पनि हुन् । हाल उनको अगरतलाको एक अस्पतालमा उपचार भइरहेको छ । अहिले उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।

समाचारमा जनाइए अनुसार विमानमा प्रवेश गर्नासाथ मयंकले आफ्नो सिटको अगाडि राखिएको कुनै पेय पदार्थ पिएका थिए । मयंकले आफूले पानी सम्झिएर त्यो पेय पदार्थ सेवन गरेको बताएका छन् । त्यसलगत्तै उनको मुख पोल्न थालेको थियो ।

मुखमा असह्य पिडा भएपछि उनलाई तत्काल अगरतलास्थित आईएलएस अस्पताल पुर्याइएको थियो । अहिले उनको मुखमा घाउ भएको छ भने अनुहार पनि सुन्निएको छ । उनी अहिले पनि बोल्न सक्ने अवस्थामा छैनन् ।

मयंकले सेवन गरेको पेय पदार्थ के थियो भन्ने विषयमा छानबिन भइरहेको प्रहरीले जनाएको छ । मयंकले भारतका लागि २१ टेस्ट खेल्दै एक हजार चार सय ८८ रन बनाएका छन् । उनले भारतका लागि पाँच एकदिवसीय अन्तर्राष्ट्रिय पनि खेलेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप