सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

हिमांशु र अर्जुनको अर्धशतकसँगै कर्णालीले एपीएफलाई दियो २०७ रनको लक्ष्य

बुधबार, १७ माघ २०८०, १२ : २०
बुधबार, १७ माघ २०८०

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बुधबारको खेलमा कर्णाली प्रदेशले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई जितका लागि दुई सय सात रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको कर्णाली प्रदेशले ४४.१ ओभरमा अलआउट हुनुअघि दुई सय ६ रन बनाएको हो ।

कर्णाली प्रदेश र एपीएफ क्लब दुबैले प्रारम्भिक चरणमा आफ्नो अन्तिम खेल खेलिरहेका हुन् । यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको कर्णाली प्रदेशका लागि दुई ब्याट्सम्यानले अर्धशतकीय पाली खेले ।

माथिल्ला तीन ब्याट्सम्यानलाई सस्तैमा गुमाएको कर्णाली प्रदेशका लागि चौथो नम्बरका ब्याट्सम्यान हिमांशु शाहीले ६२ रनको योगदान गरे । हिमांशुले अधिकांश रन बाउन्ड्री प्रहारबाट बटुलेका थिए ।

आक्रामक रुपमा प्रस्तुत भएका हिमांशुले ५० बलको सामना गरी सात छक्का र दुई चौका हिर्काएका थिए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका अर्जुन घर्तीले पनि अर्धशतकीय पाली खेले ।

विकेटकिपर ब्याट्सम्यान अर्जुनले ७४ बलको सामना गरी तीन छक्का र एक चौका हिर्काए । केवल ३० रनको कुल स्कोरमा तीन विकेट गुमाएको कर्णालीलाई हिमांशु र अर्जुनले एक सय ४१ रनको गतिलो स्थितिसम्म पुर्याएका थिए ।

कर्णालीका लागि सातौँ नम्बरका ब्याट्सम्यान दीपेन्द्र रावतले पनि २७ रनको योगदान गरे । उनले २४ बलमा तीन छक्का र एक चौका प्रहार गरे । कप्तानसमेत रहेका ओपनर ब्याट्सम्यान रविन्द्र शाही भने २२ रन बनाउँदै पेभेलियन फर्किएका थिए । रविन्द्रले ३० बलमा एक छक्का र तीन चौका हिर्काए ।

दिनेश अधिकारीले १९ बलमा चार चौकाको मद्दतले १९ रन बटुले । प्रकाश जैसी १० रन बनाउँदै आउट भए । पेभेलियन फर्किनुअघि ओपनर निश्चल रावलले १२ बलमा एक चौकाको मद्दतले ६ रन बनाएका थिए । कर्णाली प्रदेशले अतिरिक्त रुपमा भने केवल एक रन पाएको थियो ।

एपीएफ क्लबका बलर मौसम ढकालले तीन विकेट लिए । उनले नौ ओभरमा दुई मेडन राख्दै ३२ रन खर्चिएका थिए । अमर रौतेलाले पनि दुई विकेट हात पारे । भुवन कार्की र रमेश कुर्मीले पनि एक–एक विकेट लिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप