बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

६ महिनामा ३ हजार बढी लागुऔषध कारोबारी पक्राउ

सोमबार, २२ माघ २०८०, १७ : २२
सोमबार, २२ माघ २०८०

काठमाडौँ । प्रहरीले ६ महिनामा ३ हजार ४५ जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय समाचार बुलेटिनका अनुसार सो अवधिमा ३ हजारभन्दा बढी लागुऔषध कारोबारी पक्राउ परेका हुन् । 

बुलेटिनका अनुसार अवैध लागुऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने काठमाडौँ सोह्रखुट्टेका मोहमद फाजिल र काठमाडौँ दक्षिणकालीका शालोम सादा लेप्चा जैसी गाँजा, केक र कुकिजसहित पक्राउ परे । भारतीय नागरिक किम्रो साङ्गी अवैध लागुऔषध कोकिन १ किलो ९७३ ग्रामसहित पक्राउ परिन् ।

त्यस्तै धादिङ कोइली खर्कका कान्छा तामाङ र भीमबहादुर तामाङ पनि लागुऔषध चरेस २५ केजीसहित पक्राउ परे । मोहमद, शालोम, किम्रो, कान्छा र भीमबहादुर प्रतिनिधि पात्र मात्रै हुन् । लागुऔषध दुर्व्यसन र अवैध कारोबारमा संलग्न भई पक्राउ पर्ने उनीहरू जस्तै अभियुक्तहरूको सूची लामो छ । 

देशभर चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म लागुऔषध प्रयोगकर्ता, कारोबारी र सम्बन्धित अपराधमा संलग्न ३ हजार ४५ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामध्ये २ हजार ७५८ जना नेपाली पुरुष, १ सय ४४ जना नेपाली महिला, १ सय ३३ जना विदेशी पुरूष र १० जना विदेशी महिला रहेका छन् । यीमध्ये १ हजार ९६० मुद्दा दर्ता भएका छन् ।

पक्राउ परेकाहरू गाँजा, चरेस, हेरोइन, अफिम, कोकिन, पोल्याण्ड र अन्य नियन्त्रित औषधि जस्ता लागुऔषध सेवन गर्ने तथा यसको अवैध ओसारपसारमा संलग्न रहेका छन् । उनीहरूबाट गाँजा ८ हजार ३२० केजी, चरेस ३ सय ८ केजी, हेरोइन १० केजी, अफिम २७ केजी, कोकिन ३ केजी र पोल्याण्ड ३ सय २६ ग्राम प्रहरीले बरामद गरेको छ ।

यसैगरी डाईजेपाम २३ हजार ५ एम्पुल, फेनारगन २७ हजार १३४ एम्पुल, ब्रुफिनुर्फिन १९ हजार ६७४ एम्पुल, लुपिजेसिक १ हजार ४१५ एम्पुल, नाईट्राभेट ६३ हजार ५४७ ट्याब्लेट, स्पास्मो ११ हजार ७२, कोरेक्स ६ हजार ५७१, एभिल ७ सय ३३, ट्रामा ४६ हजार ५९, प्रोमिथाईजिन ४ हजार ७६२, अन्य एम्पुल ६ हजार ४८२, अन्य ट्याब्लेट १ हजार ५५८ र आइस २ ग्राम समेत बरामद भएको छ ।

प्रहरीका अनुसार  मधेश प्रदेशबाट सबैभन्दा धेरै लागूऔषध गाँजा ३ हजार ८९१ केजी बरामद भएको छ । सुदूरपश्चिम प्रदेशबाट सबैभन्दा धेरै ६६ केजी चरेस बरामद भएको छ । साथै कोशी प्रदेशबाट ५ केजी हेरोइन, लुम्बिनी प्रदेशबाट सबैभन्दा धेरै २० केजी अफिम बरामद भएको छ । त्योसँगै लागुऔषध नियन्त्रण ब्युरोबाट पनि १ केजी कोकिन बरामद भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप