शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
निर्माणमा ढिलासुस्ती

५ वर्षमा पनि बनेन पुल, ठेकेदारले नै टाँसे सार्वजनिक सूचना

मङ्गलबार, २३ माघ २०८०, ११ : ३४
मङ्गलबार, २३ माघ २०८०

बारा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको दुधौरा पुल निर्माण अलपत्र भएको छ । ३ वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि ५ वर्ष बित्दासमेत ५६ प्रतिशतमात्रै काम भएको छ ।

ठेकेदार कम्पनीले समयमै भुक्तानी नपाएका कारण काम गर्न नसकिएको जनाएको छ । ठेकेदार कम्पनीका सञ्चालक रवि सिंहले भुक्तानी नपाएसम्म काम अगाडि बढाउन नसक्ने जनाएका छन् ।

‘हामी धेरै समस्यामा छौँ, अहिले काम नगरौँ भने बर्खा सुरु भएपछि काम गर्न सकिँदैन, काम गरौँ भने मजदुरहरुलाई दैनिक ज्यालादारी र रासनपानीका लागि दिने पैसासमेत छैन,’ सिंहले भने ‘यस वर्ष यो पुलको काम गर्न बजेट पनि छुट्याइएको छैन, राष्ट्रिय राजमार्गमा निर्माण भइरहेको पुलको यस्तो हालत छ भने दुर्गमतिर काम गर्ने ठेकेदारको अवस्था के होला ?’

यो पुल पूर्व–पश्चिम राजमार्गको पथलैया चोकदेखि २ किलोमिटर पूर्वतर्फ छ । हाल दुधौरामा सवारी साधन डाइभर्सन गरेर खोलाबाटै आवतजावत भइरहे पनि बर्खामा बाढी आएको बेला यातायात अवरुद्ध हुने गर्दछ ।

ठेकेदार कम्पनीका सञ्चालक सिंहले सरकारले समयमै भुक्तानी गरे चालु आर्थिक वर्षमै पुलबाट आवतजावत मात्रै गर्नसक्ने गरी भए पनि काम सम्पन्न गर्ने बताएका छन् । यो पुल निर्माणका लागि संघीय सरकार, सडक विभाग पुल महाशाखाले पहुँचमार्ग र दुधौरा खोला तटबन्ध सहित १५ करोड १२ लाख बजेट विनियोजन गरेको छ । जसमा पुल निर्माणका लागिमात्रै १० करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।

p2

ठेकेदार कम्पनीले गत आर्थिक वर्षसम्म सम्पन्न गरेको ५६ प्रतिशत काममध्ये ५० प्रतिशत कामको अर्थात् करिव ५ करोड भुक्तानी लिइसकेको छ । बाँकी भुक्तानीका लागि सहयोग गरिदिन ठेकेदार कम्पनीले निर्माण क्षेत्रमै सार्वजनिक सूचना टाँस गरेको छ ।

‘यस पुल निर्माण कार्य सम्पन्न भइसकेको बिलको भुक्तानी बजेट अभावको कारण प्राप्त हुन नसकेता पनि यस जे.भी.ले निरन्तर र नियमित निर्माण कार्य गरिहेकाले सम्बन्धित सरोकारवाला पक्षहरुलाई चाँडोभन्दा चाँडो कार्य सम्पन्न भुक्तानीको लागि पहल गरिदिनु हुन अनुरोध गर्दछौँ,’ सूचनामा उल्लेख छ ।

ठेकेदार कम्पनीका इन्जिनियर अजय झाले आर्थिक वर्ष २०७४/२०७५ मा ठेक्का सम्झौता भएर पनि बेलीबिज्र नभएका कारण ३ वर्षसम्म काम सुरु हुन नसकेको बताए । बेलीब्रिज बनाउने काम सडक विभागको हो । २०७९÷०८० भित्र पुल निर्माणको सम्पूर्ण काम सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । निर्धारित समयभित्र निर्माण सम्पन्न हुन नसकेपछि आगामी असार मसान्तसम्म म्याद थप गरिएको छ ।

p5

भुक्तानी पाएमा द्रुत गतिमा काम गरेर यही असारसम्म सम्पन्न गर्ने तर भुक्तानी नपाए कामले गति लिन नसक्ने इन्जिनियर झाको भनाइ छ ।

दुधौरा पुल छेउको बस्तीका बासिन्दा सूर्य बहादुर स्याङतानले पुल निर्माणको काम साह्रै सुस्त गतिमा हुँदा धुलो उडेर बस्नै नसक्ने अवस्था रहेको बताए ।

‘धुलोले गाउँमा धेरै मान्छेमा स्वास्थ्य समस्या देखिएको छ, बर्खा लागेपछि बाढी गाउँतिर पस्ने डरले भागाभाग हुन्छ,’ उनले भने, ‘ठेकेदारले पैसा छैन भनेर सूचना टाँसेर बसेको छ, यसरी त यो पुल बन्न १० वर्ष पो लाग्छ जस्तो छ ।’

सो क्षेत्रका संघीय सांसद किसान श्रेष्ठले सडक विभागको प्रमुख, अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीलाई भेटेर बजेट निकासा गर्न आफूले दबाब दिएको बताए । यो वर्षभित्रमा जमिनमुनिको काम सकेर बर्खा अगाडि नै पुल जसरी पनि सञ्चालनमा ल्याउन आफू गम्भीर ढङ्गले लागेको उनको भनाइ छ ।

p4p6p8

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप