सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
कृषि

बागमतीमा धान उत्पादन ४.०२ प्रतिशत घट्यो

बिहीबार, २५ माघ २०८०, २१ : ४४
बिहीबार, २५ माघ २०८०

मकवानपुर । बागमती प्रदेशमा गत आर्थिक वर्षको तुलनामा यस वर्ष धान उत्पादन ४.०२ प्रतिशतका दरले घटेको छ । कृषि विकास निर्देशनालय बागमती प्रदेशको तथ्याङ्क अनुसार तुलनात्मक रुपमा प्रदेशको चितवन र मकवानपुरमा धान उत्पादन घटेको हो ।

बागमती प्रदेशमा धान उत्पादनतर्फ २५ प्रतिशत योगदान गर्ने जिल्ला चितवन र १५ प्रतिशत योगदान गर्ने मकवानपुरमा उत्पादन घट्दा समग्र प्रदेशको उत्पादन दरमा ह्रास आएको निर्देशनालयले जनाएको छ ।

बागमती प्रदेशका १३ जिल्लामा यस वर्ष १ लाख ४ हजार ८४९.७० हेक्टर क्षेत्रफलमा धान खेती भएकोमा ४ लाख ३५ हजार ४२.६९ मेट्रिक टन उत्पादन भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । गत आर्थिक वर्ष (२०७९/०८०) मा प्रदेशभर १ लाख १५ हजार ९५ हेक्टरमा धान खेती हुँदा ४ लाख ६७ हजार ७०५.५१ मेट्रिक टन उत्पादन भएको थियो ।

चितवनमा यस वर्ष २० हजार ८११.७० हेक्टर जमिनमा ८१ हजार १६५.६३ मेट्रिक टन धान उत्पादन भएको छ । गत आर्थिक वर्षको अनुपातमा चितवनमा १९.३४ प्रतिशतका दरले धान उत्पादन घटेको हो । गत आर्थिक वर्ष चितवनमा २२ हजार ८८० हेक्टरमा धान खेती हुँदा एक लाख ६२८ मेट्रिक टन उत्पादन भएको थियो ।

मकवानपुरमा गत आर्थिक वर्षको तुलनामा १२.३७ प्रतिशत धान उत्पादन घटेको छ । यस वर्ष मकवानपुरमा १० हजार ६३८ हेक्टर जग्गामा धान खेती भएकोमा ३९ हजार ३६०.६० मेट्रिक टन उत्पादन भएको छ । गत आर्थिक वर्ष ११ हजार ८२० हेक्टरमा धान खेती गर्दा ४४ हजार ९११ मेट्रिक टन उत्पादन भएको थियो ।

यता सिन्धुलीमा यस वर्ष ११ हजार १८८ हेक्टर खेतमा धान खेती गर्दा ४० हजार ५७२ मेट्रिक टन उत्पादन भएको छ । गत आर्थिक वर्षमा सिन्धुलीमा १२ हजार ४८४ हेक्टर जग्गामा ४२ हजार ८९९ मेट्रिक टन उत्पादन भएको थियो । तुलनात्मक रुपमा सिन्धुलीमा यस वर्षभन्दा गत आर्थिक वर्षमा ५.४२ प्रतिशत बढी धान उत्पादन भएको छ ।

निर्देशनालयको तथ्याङ्क अनुसार धादिङमा गत आर्थिक वर्षको तुलनामा यस वर्ष ५.३७ प्रतिशत धान उत्पादन घटेको छ । धादिङमा गत आर्थिक वर्ष ११ हजार ५७६ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा ४५ हजार ९५६.७२ मेट्रिक टन उत्पादन भएको थियो । यस वर्ष ११ हजार १५९ हेक्टरमा खेती गर्दा ४३ हजार ४८९.६० मेट्रिक टन उत्पादन भएको छ ।

काभ्रेमा ८ हजार ५९० हेक्टर जमिनमा धान खेती भएकोमा ३३ हजार ४९९ मेट्रिक टन उत्पदान भएको छ । गत वर्ष काभ्रेमा ९ हजार ३४५ हेक्टर जमिनमा धान खेती गर्दा ३५ हजार ५११ मेट्रिक टन उत्पादन भएको थियो । गत वर्षको तुलनामा काभ्रेमा ५.६७ प्रतिशतले धान उत्पादन घटेको हो ।

त्यस्तै रामेछापमा ७ हजार ९४५ हेक्टर जमिनमा धान खेती भएकोमा २६ हजार १९८ मेट्रिक टन उत्पदान भएको छ जबकि, गत आर्थिक वर्ष ८ हजार ८०४ हेक्टर जमिनमा धान खेती गर्दा २७ हजार २८.२८ मेट्रिक टन उत्पादन भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा रामेछापमा ३.०७ प्रतिशतले धान उत्पादन घटेको हो ।

दोलखामा २ हजार ८१४ हेक्टर जमिनमा धान खेती भएकोमा ७ हजार ५१४ मेट्रिक टन उत्पदान भएको निर्देशनालयले जनाएको छ । दोलखामा गत आर्थिक वर्षको तुलनामा १.९१ प्रतिशतले धान उत्पादन घटेको छ । गत आर्थिक वर्ष दोलखामा २ हजार ९०१ हेक्टर जमिनमा धान खेती गर्दा ७ हजार ६८७.६५ मेट्रिक टन उत्पादन भएको थियो ।

त्यसैगरी नुवाकोटमा ११ हजार ६१२ हेक्टर जमिनमा धान खेती भएकोमा ४७ हजार ६१२ मेट्रिक टन उत्पदान भएको छ । नुवाकोटमा गत आर्थिक वर्षको तुलनामा ०.५४ प्रतिशतले धान उत्पादन घटेको छ । नुवाकोटमा गत आर्थिक वर्ष ११ हजार ६१२ हेक्टर जमिनमा धान खेती गर्दा ४७ हजार ८७० मेट्रिक टन उत्पादन भएको थियो ।

रसुवामा १ हजार ९३ हेक्टर जमिनमा धान खेती भएकोमा ३ हजार ६२ मेट्रिक टन उत्पादन भएको छ । रसुवामा गत आर्थिक वर्षको तुलनामा ०.१० प्रतिशतले धान उत्पादन घटेको छ । रसुवामा गत आर्थिक वर्ष १ हजार ९३ हेक्टर जमिनमा धान खेती गर्दा ३ हजार ६५ मेट्रिक टन उत्पादन भएको थियो ।

भक्तपुरमा गत आर्थिक वर्षकै अनुपातमा यस वर्ष धान उत्पादन भएको छ । यस वर्ष भक्तपुरमा ३ हजार ७१९ हेक्टर क्षेत्रफलमा २२ हजार ३५१.१९ मेट्रिक टन धान उत्पादन भएको छ भने गत आर्थिक वर्षमा सोही क्षेत्रफलको जमिनमा गरिएको धान खेतीमा समान परिमाणमा उत्पादन भएको निर्देशनालयले जनाएको छ ।

काठमाडौँमा पनि गत आर्थिक वर्षकै अनुपातमा धान उत्पादन भएको निर्देशनालयको तथ्याङ्क छ । काठमाडौँमा यस वर्ष र गत वर्षमा ५ हजार ९२६ हेक्टरमा गरिएको धान खेतीमा ३५ हजार ७९३.०४ मेट्रिक टन उत्पादन भएको छ ।

लतिपुरमा पनि गत आर्थिक वर्ष र यस वर्षमा धान खेती गरिएको जमिन र उत्पादनमा फरक देखिएको छैन । ललितपुरमा दुवै आर्थिक वर्षमा ४ हजार १६३ हेक्टरमा धान खेती गर्दा २५ हजार १९.६३ मेट्रिक टन उत्पादन भएको छ ।

सिन्धुपाल्चोकमा भने गत आर्थिक वर्षको तुलनामा यस वर्षमा धान उत्पादन बढेको छ । सिन्धुपाल्चोकमा यस वर्ष १.५१ प्रतिशत धान उत्पादन बढी भएको हो । यस वर्ष सिन्धुपाल्चोकमा ८ हजार ७८२ हेक्टर जग्गामा भएको धान खेतीमा २९ हजार ४१९ मेट्रिक टन उत्पादन भएको छ भने गत आर्थिक वर्ष ८ हजार ७८२ हेक्टर क्षेत्रफलमा २८ हजार ९८० मेट्रिक टन धान उत्पादन भएको थियो ।

किन घट्यो धान उत्पादन ?

प्रदेशमा धानबालीमा देखिएका विभिन्न रोग र प्राकृतिक कारणले समेत उत्पादन घटेको निर्देशनालयको भनाइ छ ।

उत्पादन घट्नुको प्रमुख कारण धानमा लाग्ने रोग रहेको निर्देशनालयका वरिष्ठ बाली संरक्षण अधिकृत गोविन्द पोखरेलले जानकारी दिए । उनका अनुसार धानमा लाग्ने कालोपोके रोगका कारण उत्पादन घटेको हो ।

धान पसाउने समयमा वातावरण अनुकुल नहुँदा पनि यस पटक धान उत्पादनमा ह्रास आएको उनले बताए । धान पसाउने समयमा आवश्यक मात्राभन्दा बढी वर्षा हुँदा उत्पादन घटेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप