अभिभावक पढाउँदै रोङ गाउँँपालिका
इलाम । रोङ गाउँँपालिका–४ का रघुनाथ अर्याललाई ५० वर्षको उमेरमा विद्यालय पढ्न जानुपर्छ जस्तो लागेको थिएन । “अभिभावक शिक्षा दिने भन्दै गाउँपालिकाले छोराको स्कुलमा पढ्न बोलाउँदा अचम्म लाग्यो”, अर्यालले भने, “तर पहिलो दिनको कक्षामा धेरै नयाँ कुरा सिकियो, अब हरेक महिनाको एकदिन हामी पो स्कुल जानुपर्ने भएछ ।”
गाउँपालिकाले सामुदायिक विद्यालयका अभिभावकलाई शिक्षा दिने उद्देश्यले अभिभावक शिक्षा कार्यक्रम सुरुआत गरेको छ । शुक्रबारदेखि कक्षा १ देखि ५ सम्मका विद्यार्थीका अभिभावकलाई कक्षा सुरु गरिएको गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले बताए ।
“सुरुको दिन ११ विद्यालयका तीन सय १० अभिभावक कक्षामा सहभागी हुनुभएको छ, तीमध्ये सात सय १५ महिला र दुई सय ९५ पुरुष सहभागी हुनुभयो”, स्याङ्बोले भने, “अभिभावक केही नजान्ने हुन्छन् भनेर पढाउन सुरु गरिएको होइन, तीनजना स्नातकोत्तर सकेका अभिभावक पनि कक्षामा सहभागी हुनुभएको छ, यो शिक्षाले अभिभावकलाई जिम्मेवार बनाउन सहयोग गर्नेछ ।”
अभिभावक शिक्षालाई प्रभावकारी बनाउन कार्यपालिकाको बैठकले अभिभावक शिक्षा सञ्चालन कार्यविधि स्वीकृत गरेको हो । शिक्षाको गुणस्तर सुधार गर्ने जिम्मा शिक्षकको मात्र नभई अभिभावकको पनि हुने भएकाले यो कार्यक्रम लागू गरिएको अध्यक्ष स्याङ्बोले बताए ।
“गाउँपालिकाले अभिभावकलाई अब महिनाको एकदिन विद्यालयमै ल्याएर पढाउँछ, त्यसदिन कक्षा ८ भन्दा माथिका विद्यार्थीले भने घरमा बसेर अभिभावकले गर्ने काम गर्नुपर्नेहुन्छ, विद्यार्थीलाई त्यस दिन घरको काम लगाउँदा व्यावहारिक ज्ञान पाउँछन् भन्ने हाम्रो बुझाइ हो”, स्याङ्बोले भने । शिक्षा सुधारमा अभिभावकको भूमिका, शिक्षाको महत्व, बाल स्याहार, बाल विकास, शिक्षा र संस्कारजस्ता विषयमा शिक्षकले अभिभावकलाई जानकारी दिइने उनले बताए ।
जानाजान अभिभावक शिक्षामा सहभागी नहुने अभिभावकलाई वडाबाट हुने सम्पूर्ण सिफारिस रोक्ने कार्यविधिमा उल्लेख छ । यसअघि नै गाउँपालिकाले विद्यालयलाई कम्प्युटर खरिद गरेर उपलब्ध गराइसकेको छ । प्रत्येक शिक्षकले अनिवार्य कम्प्युटर चलाउन जान्नुपर्ने भन्दै गाउँपालिकाले विद्यालयलाई कम्प्युटर उपलब्ध गराएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्भिस लेन कि पार्किङ स्पट ?
-
उद्योगी व्यवसायीले भोगिरहेका समस्या समाधान गर्न सरकार तयार छ : प्रधानमन्त्री
-
प्रतिनिधि सभाबाट दुई विधेयक समितिमा पठाउने प्रस्ताव स्वीकृत
-
आयोगका १३ प्रतिशत सिफारिस मात्रै पूर्ण कार्यान्वयन, ५२ प्रतिशत अलपत्र: अध्यक्ष मगर
-
सुदूरपश्चिमकाे बजेट विवाद मिलाउन कांग्रेस–एमालेका केन्द्रीय नेता धनगढीमा
-
नगर क्षेत्रको खानेपानी मापदण्ड अनुसार नै छ, पुरानो महसुलले खर्च धान्न कठिन: निमित्त महाप्रबन्धक साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण