आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

भैरहवामा आईसीपीको काम धमाधम

शनिबार, ०५ फागुन २०८०, ०५ : ४७
शनिबार, ०५ फागुन २०८०

बुटवल । रुपन्देहीको बेलहियामा एकीकृत भन्सार जाँच चौकी (आईसीपी) निर्माणको काम धमाधम भइरहेको छ । वर्षौँसम्म रोकिएको काम गत वर्ष भारतले जमिन हस्तान्तरण गरेसँगै अघि बढेको हो ।

दुई वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता गरेको के.एस.एम.वसिर मोहम्मद एन्ड सन्स लखनउ र कन्सल्टेन्ट राइट्स कम्पनीले निर्माणको कामलाई तीव्रता दिएका छन् । सम्झौता अनुसार अहिले धमाधम काम चलिरहेको उक्त परियोजना हेर्ने संघीय आयोजना कार्यान्वयन इकाई भैरहवाका प्रमुख धर्मेन्द्र पन्थीले रातोपाटीलाई बताए ।

ठेकेदारसँग भएको सम्झौता अनुसार काम सुरु भएको ८ महिना भएको छ । यस अवधिमा भौतिक प्रगति ३० प्रतिशत र वित्तीय प्रगति २५ प्रतिशत भएको छ । दुई चरणमा निर्माण हुने परियोजनामा पहिलो चरणमा भौतिक निर्माण र त्यसपछि अर्को चरणमा डेकोरेशनको काम हुनेछ ।

icp (1)

अहिले गोदाम घर, कार्यालय र कर्मचारी आवास गृह गरी चार वटा भवन निर्माण भइरहेको छ । यस्तै प्रशासकीय भवन, भन्सार, क्वारेन्टाइन, विद्युतीय स्टेसन, घण्टाघर, सुरक्षाकर्मी बस्ने भवन निर्माण भइरहेका छन् ।

सन् २००५ मा नेपाल र भारतबिच आईसीपी निर्माणका लागि सहमति भए पनि जग्गा अधिग्रहण तथा हस्तान्तरणमा भारतका तर्फबाट १८ वर्ष ढिला भएको हो । सम्झौता अनुसार भारत सरकारको १ अर्ब ६१ करोड ७६ लाख भारतीय रुपैयाँ लगानी रहेको आईसीपी निर्माण सम्पन्न गरी नेपाललाई हस्तान्तरण गर्नुपर्ने हुन्छ ।

नेपाल–भारत सरकारबिच भएको सहमति अनुसार आयोजनाका लागि नेपालतर्फ आवश्यक पर्ने जमिन बाहेक प्राविधिकसहितको सम्पूर्ण निर्माण कार्य भारत सरकारले गरिरहेको परियोजना प्रमुख पन्थीले बताए । भारततिर भने नेपालको तुलनामा आईसीपी निर्माणमा धेरै प्रगति भएको छ । दुवैतिर निर्माण सम्पन्न भएपछि बल्ल सञ्चालनको प्रक्रियामा जाने पन्थीले खुलाए ।

icp (3)

नेपालतर्फ आईसीपी निर्माणका लागि १६ वर्षअघि नै ५२ बिघा जमिन अधिग्रहण गरिएको थियो । भारततर्फ भने पहिले तोकिएको स्थानमा बस्ती बाक्लो हुँदै गएपछि तोकिएको स्थानभन्दा केही पश्चिमतर्फ ५२ हेक्टर जमिन अधिग्रहण गरिएको हो ।

गत जेठ १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा रहेका बेला दुवै देशका प्रधानमन्त्रीले स्विच थिचेर संयुक्त रूपमा आईसीपीको शिलान्यास गरेका थिए ।

हाल डेढ सय सवारी पार्किङ गर्ने क्षमता रहेको बेलहिया भन्सार कार्यालयमा आईसीपी बनेपछि ६२१ ट्रक एकै पटक भित्र र २७० ट्रक बाहिर रहन सक्ने छन् ।

यस्तै दैनिक नेपाली र भारतीय गरी १४ हजार मानिस आवतजावत गर्न सक्ने छन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले निर्माणको क्रममा कुनै समस्या आएमा आफूले समन्वय गर्ने गरी काम अगाडि बढेको बताए । सम्झौता अनुसार निर्माण गर्दा नदीजन्य पदार्थ नेपाल सरकारले दिनुपर्ने उल्लेख भए पनि अहिले स्थानीय तहहरूले आफ्नो आयस्रोत घट्ने भएकाले उक्त सामग्रीको रकम निर्माण कम्पनीसँग लिएका छन् । पछि कम्पनीले उक्त रकमको दाबी अर्थ मन्त्रालयमा गर्ने छ ।

icp (5)

  • व्यवसायी भन्छन्– निर्माणसँगै सञ्चालन पनि छिटो ल्याउनुपर्छ

अहिले बेलहिया भन्सार कार्यालय आउने गाडीहरूको भिडभाड दैनिक हुन्छ । खासगरी मालवाहक सवारी साधनले घण्टौँसम्म कुर्नुपर्ने अवस्था छ ।

नियमानुसार भारतमा सामान लोड भएको एक हप्ताभित्र मालवाहक गाडी नेपाल प्रवेश गरिसक्नुपर्ने हुन्छ । सीमा पार नगरे दैनिक भारतीय एक हजार रुपैयाँ बढी अतिरिक्त शुल्क लाग्ने र नेपाल आएर एक दिनमा भन्सार पास नभए सवारी लोडका आधारमा ३ सयदेखि एक हजार ६ सय रुपैयाँसम्म शुल्क तिर्नुपर्छ । आईसीपी एकद्वार प्रणाली भएको र यसको निर्माणपछि भन्सारसम्बन्धी सम्पूर्ण सुविधा एक ठाउँमा उपलब्ध हुने भएकाले आयातकर्ताहरूलाई विभिन्न कार्यालय धाउनुपर्ने बाध्यता हट्ने व्यवसायीहरूको अपेक्षा छ ।

icp (8)

त्यस्तै, आईसीपी निर्माणपछि अहिलेको पार्किङको समस्या समेत अन्त्य हुने व्यवसायीहरू बताउँछन् । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले आईसीपी निर्माण समयमै पूरा गरी सञ्चालनमा ल्याउन ध्यान दिनुपर्ने बताए ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले भारतबाट नेपाल प्रवेश गर्न मालवाहक सवारीलाई एक हप्ताभन्दा बढी लाग्ने र नेपाल प्रवेश गरेपछि पनि भन्सार बिन्दुमा दुई/तीन दिन लाग्ने समस्या यो आईसीपी निर्माणपछि समाधान हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप