सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
फोटोफिचर

चेर्दुङबाट आँखै अगाडि गौरीशङ्कर

शनिबार, ०५ फागुन २०८०, ०६ : २४
शनिबार, ०५ फागुन २०८०
  • मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी 

दोलखा । घुम्ने मौसम पनि बिस्तारै सुरु हुँदैछ । वसन्त ऋतुको आगमन सङ्गै मौसममा सुधार आउन साथ नयाँ पालुवाको सुरुवात हुन्छ । यस्तै मौसममा काठमाडौँ बाट कतै नजिकै घुम्न जाने स्थानहरू थुप्रै छन् । 

chudrung (1)

गाडीमा ड्राइभ होस् या हाइकिङ , ट्रेकिङ अब बिस्तारै पर्यटकीय क्षेत्रहरू भरि भराऊ हुन सुरु हुन्छ । काठमाडौँ बाट नजिकको कुनै ठाउँ सोच्नु भएको छ भने एक दिनको यात्रामा पुग्न सकिने र केही घण्टाको पैदल यात्रामा आफ्नो आँखै अगाडी गौरीशङ्करदेखि सगरमाथा र नुम्बुरसम्म देखिने स्थान हो, चेर्दुङ ।

chudrung (3)

चेर्दुङ, नेपालकै स्वीजरल्याण्डको उपनामले चर्चित नगरी दोलखा जिल्लाको जिरीको शिर भएर उभिएको सुन्दर डाँडा हो । जिरीलाई काखमा राखेर चेर्दुङ डाँडाले अभिभावकत्वको भूमिका निभाइरहेको छ । समुन्द्र सतहबाट करिब ३७०० मिटरको उचाइमा रहेको यस चेर्दुङ प्राकृतिक रूपमा मनोरमको धनी हुनुका साथै हिन्दु र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल पनि हो । 

chudrung (11)

डाँडाको सुन्दर पाखामा खुल्ला आकाश मुनी महादेव शिला छ । जहाँ भक्तजनले चढाएका त्रिशूल नै त्रिशूल छन्। ध्वजा तथा खाताले शिलालाई सिँगारिएको छ ।वरिपरि लुङ्दर टाँगिएको छन्। चण्डी पूर्णिमा र राम्बोले पूर्णिमामा यहाँ विशेष मेला लाग्दछ । यहाँ पूजा गर्नाले रोग व्याधि नलाग्ने, चिताएको पुग्ने र जङ्गली जनावरले दुःख नदिने जनविश्वास रहेको पाइन्छ। बौद्धमार्गीको उठ्ने लामाको पनि कथा चेर्दुङसँग जोडिएको छ ।

chudrung (12)

चेर्दुङ डाँडैबाट सगरमाथाको चुचुरो देखिनुका साथै गौरीशङ्कर र नुम्बुर हिमाल आँखै अगाडि ठोकिन पुग्छन्। रामदुङ, छेकिगो, टासीलाप्सा, आमाबामरेजस्ता दर्जनौँ हिमशृङ्खलाको मनोरम दृश्य देख्न सकिन्छ । डाँडाबाट दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौँ, सिन्धुली, ओखलढुङ्गा, सोलुखुम्बु लगायतका दृश्य हेर्न पाइन्छ । डाँडैबाट सूर्योदय र सूर्यास्तको आनन्द लिन सकिन्छ । 

chudrung (7)

बाटोमा चेर्दुङ नपुग्दै बाटोमा क्याङसे पोखरी रहेको छ । उक्त पोखरी सानो भए पनि मनै लोभ्याउने छ । रूखको छायामा बसेको सुन्दर पोखरी क्याङ्से नजिकै सानो चौरी गोठहरू पाइन्छ ।  वरिपरि रूखहरू भएता पनि पोखरीमा रूखको पातहरू खसेपछि कुनै न कुनै चरा आएर लिएर जाने गरेकाले त्यस पोखरीमा पात हुँदैन । यहीँ पोखरीमा चौरीले पानी पिउँदा रहेछन् ।

chudrung (14)

जिरी बजार बाट करिब ३–४ घण्टाको पैदल दूरीमा रहेको यो पोखरीसम्म गाडीमा जाने हो भने करिब १ घण्टामै पुगिन्छ । यहाँ पोखरी वरपरको सुन्दर हरियाली पाखा पखेरासँगै चराचुरुङ्गीका भाका सुन्न पाइन्छ। यहाँ गोठमा छुर्पी बनाइरहेको हेर्न र चाख्न पनि पाइन्छ। यहाँ पोखरीमा पूजा गर्नाले दैवी विपत्ति नआउने, मौसम राम्रो हुने र आकाश खुल्ने जनविश्वास रहेछ। 

  • कसरी पुग्ने चेर्दुङ  

जिरी नगरपालिकाको धेरै ठाउँबाट चेर्दुङ पदयात्रा गर्न सकिन्छ । विशेषतः  (पैदल यात्रा ६,७ घण्टा) जिरीबजार–गोकुलगंगा पार्क–रमिते डाँडा–पटासे डाँडा–क्याङ्से पोखरी–चेर्दुङ

  • मोटरबाटो (१ देखि २ घण्टा)

जिरी बजार –रातमाटे–कुथामे–जोरमाने–क्याङ्से पोखरीसम्म अनि त्यहाँबाट ३ घण्टा पैदल यात्रा पछि चेर्दुङ डाँडा पुग्न सकिन्छ ।

chudrung (2)chudrung (4)chudrung (5)chudrung (6)chudrung (8)chudrung (9)chudrung (10)chudrung (13)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप