सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
फास्ट ट्रयाकमा नेपाली सेनाले गरिरहेको काम, तस्बिरमा हेर्नुहोस्
फास्ट ट्रयाक

फास्ट ट्रयाकमा नेपाली सेनाले गरिरहेको काम, तस्बिरमा हेर्नुहोस्

आइतबार, ०६ फागुन २०८०

मकवानपुर । नेपाली सेनाले काठमाडौँ तराई जोड्ने द्रुत मार्ग (फास्ट ट्रयाक) अन्तर्गत सुरुङ, पुल र सडक निर्माण गरिरहेको छ । ललितपुरको खोकनादेखि बाराको निजगढसम्म ७० दशमलव ९७ किलोमिटर सडक आयोजना अन्तर्गत १३ वटा खण्ड बनाएर काम अघि बढाइएको छ । 

fast track tunnel surung (1)

हालसम्म द्रुतमार्गको करिब ९५ प्रतिशत प्याकेजहरू कार्यान्वयन तथा खरिद प्रक्रियामा अगाडि बढेको छ । यो सडक निर्माण सम्पन्न भएपछि १ घण्टामा काठमाडौँ–तराई यात्रा गर्न सकिने सेनाले जनाएको छ । 

fast track tunnel surung (2)

फास्ट ट्रयाकको महत्त्वपूर्ण विशेषता भनेको विभिन्न ६ ठाउँमा गरी १० दशमलव ०.०५ किलोमिटर सुरुङ मार्ग हो । अहिलेसम्म ३ विभिन्न ठाउँमा सुरुङ मार्ग निर्माणको काम थालिएको सेनाका प्राविधिक महासेनानी इन्दिबर गुरुङले बताएका छन् । निर्माण थालिएको सुरुङको काम ६७ दशमलव ४३ प्रतिशत त सम्पन्न भइसकेको छ ।

fast track tunnel surung (3)

मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको महादेवटार सुरुङ्गमार्गको स्वीकृत डीपीआर बमोजिमको जम्मा लम्बाई ३ दशमलव ३५ किलोमिटर रहेकोमा हालसम्म १ दशमलव ९४ किलोमिटर सुरुङ खन्ने कार्य सम्पन्न भएको छ । 

fast track tunnel surung (4)

जिल्लाकै धेद्रे सुरुङमार्गको स्वीकृत डीपीआर बमोजिमको जम्मा लम्बाई १ दशमलव ६३ किलोमिटर मध्ये हालसम्म १ दशमलव १७ किलोमिटर सुरुङ खन्ने कार्य सम्पन्न भएको सेनाको काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाले जनाएको छ । 

fast track tunnel surung (5)

यसका साथै लेनडाडाँ सुरुङमार्गको स्वीकृत डीपीआर बमोजिमको जम्मा लम्बाइ १ दशमलव ४३ किलोमिटर मध्ये हालसम्म १ दशमलव २० किलोमिटर सुरुङ खन्ने कार्य सम्पन्न भएको छ ।  यस्तै १ किलोमिटर लम्बाइको देवीचौर सुरुङ्गमार्ग, ० दशमलव ३९ किलोमिटरको सिसौटार सुरुङमार्ग र २ दशमलव २५ किलोमिटरको चन्द्रामभीर सुरुङमार्ग निर्माणका लागि प्रक्रिया अघि बढाएको छ ।  

fast track tunnel surung (6)

द्रुतमार्ग सडक आयोजनाका अनुसार माघ मसान्तसम्म समग्रमा भौतिक प्रगति ३० दशमलव ९६ प्रतिशत तथा वित्तीय प्रगति मोविलाईजेशन सहित ३१ दशमलव ५७ प्रतिशत रहेको छ । आयोजनाको समष्टिगत कार्य योजना अनुसारका १३ वटा निर्माण प्याकेजहरूमध्ये प्याकेज नं १ देखि ७ र १० गरी जम्मा ८ वटा प्याकेजहरूको खरिद प्रक्रिया सम्पन्न भई कार्यान्वयनमा रहेको छ । 

fast track tunnel surung (7)

प्याकेज नम्बर ८ क, ९ क र ९ ख को गत असार २८ गते पुनः बोलपत्र आह्वान भएकोमा गत भदौ १३ गते बोलपत्र खोलुवा भई मूल्याङ्कन प्रक्रियामा रहेको छ । प्याकेज नम्बर ८ ख को यसअघि आह्वान गरिएको टेन्डर प्रक्रियामा सक्षम निर्माण व्यवसायीको टेन्डर नपरेपछि गत पुस २ गते अर्को टेन्डर आह्वान गरी माघ २३ गते आर्थिक प्रस्ताव खोली मूल्याङ्कनको चरणमा रहेको छ । 

fast track tunnel surung (8)

प्याकेज नम्बर ११ अन्तर्गत पर्ने खोकना इलाकामा द्रुतमार्गको सुरु बिन्दु निर्धारण, सवारी आवागमन व्यवस्थापन सम्बन्धी निर्णय र जग्गा अधिग्रहण विवाद समाधान पश्चात् खरिद प्रक्रिया सुरु गर्ने तयारी सेनाको छ ।

fast track tunnel surung (9)

२०७४ वैशाख २१ गते बसेको मन्त्रीपरिषद्को बैठकले नेपाली सेनालाई निर्माण व्यवस्थापनको जिम्मेवार दिने निर्णय गरेको थियो । सोही वर्ष साउन २७ गते सडक विभागबाट नेपाली सेनालाई आयोजना हस्तान्तरण भएपछि  मङ्सिरबाट सेनाको जनशक्ति तथा राष्ट्रिय स्तरका निर्माण व्यवसायी मार्फत द्रुतमार्गको ट्रयाक निर्माणको काम सुरु गरेको थियो ।

fast track tunnel surung (10)

अन्तर्राष्ट्रिय परामर्शदाता सोसङ इन्जिनियरिङ कन्सल्टिङ फर्मबाट २०७५ साल चैत्र ५ गते आयोजनाको डीपीआर तयार भएको थियो । 

fast track tunnel surung (11)

सरकारले २०७६ साल भदौ १ गते आयोजनाको डिआर स्वीकृत गरेपछि २०७७ साल जेठ २ गते आयोजनाको अन्तर्राष्ट्रिय परामर्शदाता कोरियाली कम्पनी एम एस योशिन जेभीसँग सम्झौता गरियो ।

fast track tunnel surung (12)

२०७८ साल वैशाख ३१ गते प्याकेज नम्बर १ र २ को निर्माण व्यवसायीसँग पहिलो अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धाबाट बोलकवोल सम्झौता भई जेठ ३१ गतेबाट निर्माण कार्य प्रारम्भ भएको थियो । गत वैशाख ५ गते आयोजनाको समयावधि २०८३ चैत्र मसान्तसम्म थप भएको थियो भने २०८० साल साउन ३० गते आयोजनाको परिमार्जित विस्तृत आयोजना प्रतिवेदन स्वीकृत भएको सेनाले जनाएको छ । 

fast track tunnel surung (13)

आयोजना अन्तर्गत हालसम्म ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेका प्याकेज नम्बर १ देखि ७ सम्मका पुलहरू अन्तर्गत रहेका जम्मा २ हजार ८०२ फाउन्डेसन पाइलहरु (पुलको खम्बा) मध्ये १ हजार ६६५ वटा निर्माण सम्पन्न भएको छ । 

fast track tunnel surung (14)

फास्ट ट्रयाकमा सडकको चौडाइ पहाडी भू–भागमा २५ मिटर र तराई भू–भागमा २७ मिटर हुनेछ । ललितपुरको भागमा ९ किलोमिटर, काठमाडौँमा  ९ दशमलव ४ किलोमिटर, मकवानपुरमा ४९ दशमलव ७७ किलोमिटर र बारामा ७ दशमलव ६ किलोमिटर हुनेछ । 

fast track tunnel surung (15)

जग्गा अधिग्रहण तर्फ आयोजना निर्माणको लागि अधिग्रहण गर्नुपर्ने जम्मा १५ हजार ४१६ रोपनी जग्गा मध्ये सरकारी जग्गा १० हजार २४४ र व्यक्तिगत जग्गा ५ हजार १७२ रोपनी रहेको छ । 

fast track tunnel surung (16)

अधिग्रहणको सूचनामा प्रकाशित व्यक्तिगत जग्गा ५ हजार १७२ रोपनी मध्ये हालसम्म ४ हजार ७७७ रोपनी जग्गा अधिग्रहण भइसकेको र ३९५ रोपनी जग्गा अधिग्रहण हुन बाँकी रहेको सेनाले जनाएको छ ।

fast track tunnel surung (17)

खोकना–बुङ्गमती इलाकामा मूल्य निर्धारण भई मुआब्जा वितरण हुन बाँकी २१४ रोपनी र मूल्य निर्धारण हुन बाँकी १६५ रोपनी गरी जम्मा ३७९ रोपनी जग्गा अधिग्रहण गर्न बाँकी छ ।

वृक्षारोपण तर्फ हालसम्म कटान गरिएका रुखहरूको बदलामा १ अनुपात २५ का दरले ७ लाख ४ हजार ४४० बिरुवा रोप्नुपर्नेमा हालसम्म जम्मा ७ लाख ५ हजार ५५२ बिरुवा रोप्ने कार्य सम्पन्न भइसकेको छ । 

राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको यो द्रुतमार्ग सडक आयोजना स्वीकृत डीपीआरमा आधारित रही पारदर्शी रूपमा गुणस्तरीय ढङ्गले निर्धारित समयमा सम्पन्न गर्ने लक्ष्यका साथ सेना अहोरात्र खटिएको आयोजनाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया