शुक्रबार, ०६ असार २०८२
ताजा लोकप्रिय
नगरसभा निर्णय

धुलिखेल नगरसभाले गर्‍यो प्रदेश सभा खारेजका लागि सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय !

बिहीबार, ०५ असार २०८२, २१ : १७
बिहीबार, ०५ असार २०८२

समाचार सारांश

  • धुलिखेल नगरपालिकाले प्रदेश सभा खारेज गर्न संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गर्‍यो।
  • नगरपालिकाका वडा अध्यक्ष अर्जुन न्यौपानेको प्रस्तावमा प्रदेशको औचित्यमाथि प्रश्न उठाइएको थियो।
  • नगर प्रमुख अशोक ब्याञ्जु श्रेष्ठका अनुसार, उक्त प्रस्ताव नगरसभाबाट सर्वसम्मत रूपमा पारित भयो।

काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिकाको १७औँ नगरसभा अधिवेशनबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको वर्तमान सङ्घीय संरचनामा समावेश प्रदेश सभाको औचित्यमाथि प्रश्न उठाउँदै, उक्त सभा खारेज गर्न सङ्घीय सरकारलाई औपचारिक अनुरोध गर्ने निर्णय गरिएको छ ।

नगरसभा सदस्य तथा धुलिखेल नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष अर्जुन न्यौपानेले प्रस्तुत गरेको प्रदेश खारेज अनुरोध सम्बन्धी प्रस्तावमा प्रदेश तहका सम्बन्धमा पुनर्विचार गर्न आवश्यक रहेको उल्लेख गरिएको छ ।

प्रस्ताव माथि छलफल पश्चात् नगरसभाले उक्त प्रस्तावलाई सर्वसम्मत रूपले पारित गरेको जानकारी नगर प्रमुख अशोक ब्याञ्जु श्रेष्ठले दिएका छन् । उनले सञ्जालमार्फत जानकारी दिँदै लेखेका छन्, “धुलिखेल नगरको १७औँ अधिवेशनबाट प्रदेश सभा खारेज गर्न सङ्घीय सरकारलाई अनुरोध गर्ने भनी नगरसभा सदस्य अर्जुन न्यौपानेद्वारा प्रस्तुत प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएको छ ।”

नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरू तथा अन्य सभा सदस्यहरूको पूर्ण उपस्थिति र सर्वसहमतिमा पारित सो निर्णयलाई स्थानीय तहबाट उठाइएको गम्भीर नीतिगत सन्देशको रूपमा लिइएको छ । 

वर्तमान सङ्घीय संरचनामा देखिएको कार्यक्षमता, जवाफदेहिता, र लागतसम्बन्धी बहसबिच आएको धुलिखेल नगरपालिकाको यो निर्णयले प्रदेश तहको औचित्य तथा सुधारको आवश्यकता विषयमा राष्ट्रिय तहमा पुनः बहस सुरू गर्ने देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप