बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बोटाफोगोसँग पेरिस सेन्ट जर्मेन स्तब्ध

शुक्रबार, ०६ असार २०८२, ०९ : २९
शुक्रबार, ०६ असार २०८२

सारांश

  • क्यालिफोर्नियामा भएको खेलमा बोटाफोगोले पीएसजीलाई १-० गोलले पराजित गर्यो।
  • पीएसजीले उस्मान डेम्बेलेको अनुपस्थितिमा गोल गर्न सकेन, इगोर जिससले निर्णायक गोल गरे।
  • बोटाफोगोको जितले क्लब विश्वकपको समूह चरणमा राम्रो प्रदर्शनको संकेत गरेको छ।

क्यालिफोर्निया । क्यालिफोर्नियाको पासाडिनास्थित रोस बाउल रंगशालामा स्थानीय समयअनुसार बिहीबार राति भएको खेलमा दक्षिण अमेरिकी च्याम्पियन बोटाफोगोले युरोपियन च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १-० ले स्तब्ध पार्दै ऐतिहासिक जित हात पारेको छ।

खेलभरि बल नियन्त्रणमा राखेको पीएसजीले आफ्नो मुख्य स्ट्राइकर उस्मान डेम्बेलेको अनुपस्थितिमा गोल गर्ने अवसरहरू सदुपयोग गर्न सकेन। ७५ प्रतिशत पोजेसनमा रहेर पनि पहिलो हाफमा फ्रेन्च क्लबले जम्मा पाँच पटक मात्र विपक्षीको पोस्टमा प्रहार गरेको थियो । यो लुइस एनरिकको टिमका लागि यो सिजनको एकदमै न्यून प्रहार संख्यामध्ये एक हो।

खेलको ३६औँ मिनेटमा ब्राजिलियन स्ट्राइकर इगोर जिससले दुई डिफेन्डरलाई छलेर गरेको प्रहारले डोनारुम्मालाई छक्याउँदै गोलको जाली चुम्यो। 

दोस्रो हाफमा पनि बोटाफोगोले रक्षा सुदृढ राख्दै पीएसजीलाई स्पष्ट अवसर दिएन। खेलको ७९औँ मिनेटमा ब्राड्ली बारकोलाले बराबरी गोल गरेझैँ देखिएको थियो, तर उक्त प्रयास अफसाइड भएको भन्दै अमान्य गरियो । पीएसजीको खेलमा फर्कने सबैभन्दा ठूलो सम्भावना पनि त्यसैसँगै समाप्त भयो।

रेनातो पैवाको प्रशिक्षणमा रहेको बोटाफोगोको लागि यो नतिजा केवल गर्वको विषय मात्र नभई क्लब विश्वकपको समूह चरणमा उत्कृष्ट प्रदर्शनको संकेत पनि हो। अब बोटाफोगोले आउँदो सोमबार एट्लेटिको म्याड्रिडसँग बराबरी वा जित निकाले, समूह बी को विजेता बन्नेछ। त्यसो भएमा टोलीले इन्टर मियामी, पोर्टो, अल अहली र पल्मेरास रहेको समूह ए को उपविजेतासँग अर्को चरणमा भिडन्त गर्नेछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप