सचिव हुन नपाएको झोँकमा मन्त्रालय नै गइनन् संगीता, साढे ३ महिनादेखि बिदामा

समाचार सारांश
- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रा साढे ३ महिनादेखि बिदामा छिन्, मन्त्रीले उपयुक्त जिम्मेवारी नदिएको गुनासो।
- सचिव बढुवामा असन्तुष्टि जनाएपछि मिश्राले मन्त्रालयको जिम्मेवारीमा फर्किन मानिनन्, स्वास्थ्य सेवा विभाग डा. बाराकोटीलाई दिइयो।
- मन्त्री र मिश्राबीचको विवादका कारण काममा बाधा पुगेको भन्दै मन्त्रालयका कर्मचारी चिन्तित छन्, तर मिश्राले यस विषयमा थप बोल्न मानेकी छैनन्।
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रा गत फागुन २२ गतेदेखि बिदामा छिन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उपयुक्त जिम्मेवारी नदिएको भन्दै उनी साढे ३ महिनायता बिदामा बसेकी हुन् ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार मिश्रा गत फागुन २२ गतेदेखि बिदामा छिन् । प्रवक्ता डा. बुढाथोकीले रातोपाटीसँग भने, ‘उहाँ पहिला घर बिदा बस्नुभयो । त्यो बिदा सकिएपछि पनि अहिले उहाँ भैपरी आउने बिदामा हुनुहुन्छ ।’
अतिरिक्त सचिव डा. मिश्रा मन्त्रालयको सचिव बढुवामा असन्तुष्टि जनाएकी थिइन् । त्यसपछि अहिलेसम्म उनी मन्त्रालयले दिएको जिम्मेवारीमा नफर्किएको मन्त्रालय स्रोत बताउँछन् ।
लोक सेवा आयोगका अध्यक्ष नेतृत्वको सचिव सिफारिस समितिले स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल अनिवार्य अवकाशमा गएपछि मिश्रासहित अतिरिक्त सचिवत्रय डा. विकाश देवकोटा र डा. टंकप्रसाद बाराकोटीलाई बढुवाका लागि सिफारिस गरेको थियो ।
जहाँ मिश्रा एक नम्बरमा थिइन् भने देवकोटा दुई र बाराकोटी तीन नम्बरमा थिए । स्वास्थ्यमन्त्री पौडेल देवकोटा तथा प्रधानमन्त्री केपी ओली र सिंगो एमाले डा. बाराकोटीलाई सचिवमा बढुवा गर्न चाहन्थे ।
मन्त्री पौडेलसहित केही नेतासमक्ष मिश्राले आफूलाई सचिवमा बढुवा गरिदिन आग्रह गरेकी थिइन् । नेपाली कांग्रेसभित्रका मधेसवादी केही नेताहरूले मिश्रा सक्षम र मधेसीसमेत भएकाले सचिवमा बढुवा गराउने पक्षमा पनि थिए । तर, मन्त्री पौडेलको लबिङसामु उनीहरूको केही लागेन । र देवकोटाले बाजी मारे ।
बढुवामा नपरेपछि पहिलो वरीयतामा सिफारिस भएकालाई उसको राजाइमा कार्यालय दिइन्छ । त्यो मिश्राले पाउने अवस्था थिएन, किनकि प्रधानमन्त्रीसँग नजिकको सम्बन्ध भएका डा. बाराकोटीले मन्त्रालयअन्तर्गत सबैभन्दा आकर्षक मानिने स्वास्थ्य सेवा विभाग राजे/पुगे । त्यतिमात्र नभई, मन्त्रालयमा पनि आकर्षक मानिने महाशाखा पनि उनी पाइनन् ।
उनलाई मन्त्रीले थन्क्याउने ठाउँ (समन्वय महाशाखा) मा राखे । समन्वय महाशाखा १२औँ तहका कर्मचारीलाई थन्क्याउने स्थान रहेको मन्त्रालयकै कर्मचारीहरू बताउँछन् । त्योभन्दा तल्लो तहका कर्मचारीलाई भने त्यो महाखाशा आकर्षक पनि मानिन्छ ।
मन्त्रालयका सचिव देवकोटाले मिश्रा नआएकाले र आएपछि जिम्मेवारी दिइने बताए । उनले मिश्रा आइतबारबाट काममा आउने पनि जानकारी दिए । तर, मिश्राले पटक–पटक गर्दै विभिन्न शीर्षकमा बिदा थपेकाले आइतबारबाट पनि उनी मन्त्रालय आउने निश्चित नभएको कर्मचारीहरू बताउँछन् ।
‘उहाँलाई खटाइएको स्थानमा म स्वयं र अन्य दुई अतिरिक्त सचिवले हेरिरहेका छौँ,’ सचिव डा. देवकोटाले रातोपाटीसँग बताए । तर यता मन्त्री पौडेलले भने कानुनअनुसार सहसचिव र अतिरिक्त सचिवलाई सरुवा गर्ने र जिम्मेवारी दिने अधिकार मन्त्रीलाई हुने भन्दै जिम्मेवारीमा खटाउने काम सचिवको भएको तर्क गरे । भने, ‘यसबारे सचिवले व्यवस्थापन गरेका होलान्, उतै सोध्नुस् । मलाई थाहा भएन ।’
उपल्लो तहका कर्मचारी यसरी लामो समय बिदामा बस्दा काममा बाधा देखिएकाले यसबारे मन्त्रालयकले ध्यान दिनुपर्ने मन्त्रालयका कर्मचारी बताउँछन् । मिश्राले भने आफू लामो समय बिदामा बस्नुपरेको कारण खुलाउन चाहिनन् । भनिन्, ‘म जनकपुरमा छु । यसबारे काठमाडौँ आएपछि कुरा गरौँला ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान इजरायल तनाव: हालसम्म कतिको मृत्यु, कति घाइते ?
-
नेदरल्यान्ड्सविरुद्ध भुर्तेलको अर्धशतक, नेपाल जिततर्फ
-
कर्णालीमा बजेट ‘अवैध’ तरिकाले ल्याइएको माओवादीको आरोप
-
कार्यभार सम्हालेपछि महानगर प्रहरी प्रमुख पाण्डेले भने - पुरानो कुरा बिर्सिन चाहन्छु
-
रास्वपामा विभागीय प्रमुख हेरफेर, नीति तथा विचार प्रमुखमा वाग्ले
-
सचिव हुन नपाएको झोँकमा मन्त्रालय नै गइनन् संगीता, साढे ३ महिनादेखि बिदामा