कालोसूचीमा परेको ठेकेदार कम्पनीलाई १८ करोडको ठेक्का

समाचार सारांश
- मधेस प्रदेश सरकारले कालोसूचीमा परेको निर्माण कम्पनीलाई १८ करोडको ठेक्का स्वीकृतिको आशयपत्र दिएको छ।
- सप्तरीको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले डाक्नेश्वरी र जीता सिँचाइ आयोजनाको पुनर्निर्माण तथा स्तरोन्नतिको लागि ठेक्का स्वीकृत गरेको हो।
- सार्वजनिक खरिद ऐनको विपरीत हुने गरी एसियाली विकास बैंकको ऋण लगानीमा चलिरहेको आयोजनामा कालोसूचीमा परेको कम्पनीलाई काम दिइएको छ।
काठमाडौँ । कालोसूचीमा परेको निर्माण कम्पनीले १८ करोड रुपैयाँको ठेक्काको आशयपत्र पाएको छ । मधेस प्रदेश सरकारको ऊर्जा सिँचाई तथा खानेपानी मन्त्रालय अन्तर्गत जलस्रोत तथा सिँचाई विभाग डिभिजन कार्यालय सप्तरीले कालोसूचीमा परेको कम्पनीलाई ठेक्का स्वीकृतिको आशयपत्र प्रदान गरेको हो ।
कार्यालयले असार ३ गते उक्त आशयपत्र स्वीकृत गरेको थियो । आशयपत्र अनुसार सप्तरीको डाक्नेश्वरी–९ मा रहेको कजरा सिँचाई आयोजना तथा जीता सिँचाई आयोजनाको पुनर्निर्माण तथा स्तरोन्नतिको लागि छुट्टाछुट्टै दुई वटा ठेक्का स्वीकृत गरेको थियो ।
पहिलो ठेक्काको स्वीकृत लागत ९ करोड ७३ लाख तथा दोस्रो ठेक्काको ८ करोड ४० लाख रुपैयाँ रहेको छ । दुवै ठेक्काका लागि सुनसरीको इनरुवामा रहेको स्वामीनारायण–साह जेभीले सबैभन्दा कम बोलकबोल गरेको भन्दै आशयपत्रको सूचना जारी गरिएको सूचनामा उल्लेख छ ।
तर, उक्त जेभी अन्तर्गतको एउटा कम्पनी भने सार्वजनिक खरिद ऐनको कालोसूचीमा छ । जोइन्ट भेञ्चरमा रहेको शाह–पूजा जेभीले सार्वजनिक खरिद ऐनअनुसारको सम्झौता उल्लङ्घन गरेपछि उक्त जेभीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचीमा राखेको थियो ।
डेढ वर्षका लागि कालोसूचीमा परेको उक्त कम्पनीको कालोसूची अवधि आगामी वर्षको जेठ (२०२५ मे ८) मा मात्रै सकिन्छ । यो अवधिसम्म उक्त संयुक्त उपक्रममा रहेका इनरुवाको साह निर्माण सेवा प्रा.लि. र धनकुटाको पुजा कन्स्ट्रक्सन प्रा.लि.लेको जेभी कुनै पनि निर्माण कार्यमा संलग्न हुन पाउँदैन । त्यस्तै, यी कम्पनीको जोइन्ट भेञ्चरमा कुनै आयोजना सञ्चालन गर्न समेत नपाउने व्यवस्था सार्वजनिक खरिद ऐनमा छ ।
तर, साह निर्माण सेवा प्रा.लि.को जोइन्ट भेञ्चर रहेको स्वामीनारायण–साह जेभीलाई ठेक्का दिनेगरी आशयपत्रको सूचना प्रकाशित गरिएको हो । जुन सार्वजनिक खरिद ऐनको विपरीत हुन आउँछ । यो आयोजना तराई क्षेत्रको सिँचाई विस्तारको लागि एसियाली विकास बैंकको ऋण लगानीमा सञ्चालित आयोजना हो । विदेशी दातृ निकायको लगानीमा चलिरहेको आयोजनामा कालोसूचीमा परेको कम्पनीलाई काम दिनेगरी आशयपत्र दिइएको छ ।
कार्यालयका प्रमुख रमण कुमार साहले यो ठेक्कामा सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूची आकर्षित नहुने दाबी गरे । सोही कारण सबैभन्दा कम बोलकबोल गरेको आधारमा सो जेभीलाई ठेक्का स्वीकृतिको आशयपत्र दिइएको उनको भनाइ छ । ‘यो एडीबीको लगानीमा चलेको आयोजना हो । नेपालको कालोसूचीलाई एडीबीले मान्दैन । त्यसैले हामीले यसलाई आशयपत्र दिएका हौं । धेरै ठेक्कामा यस्तो भइसकेको पनि छ,’ कार्यालय प्रमुख साहले भने, ‘यो अहिलेको ठेक्का पनि होइन, भदौदेखिको हो । धेरै समय भइसकेकोले अहिले आएर स्वीकृत गरिएको हो ।’
ठेक्का प्राप्त गर्ने कम्पनी स्वामीनारायण–साह जेभीका सञ्चालक जय साहले आफूहरू प्राविधिक रूपमा मात्रै कालोसूचीमा बाँकी रहेको दाबी गरे । यो ठेक्कामा कालोसूची आकर्षित नहुने उनको समेत जिकिर छ । ‘हामीहरू कालोसूचीबाट हटिसकेको हो, सरकारी वकिलको समय नहुँदा प्राविधिक कालोसूचीबाट हट्न प्राविधिक रूपमा ढिला मात्रै भएको हो,’ सञ्चालक साहले भने, ‘त्यसमाथि यो ठेक्कामा सरकारको कालोसूची लाग्दैन, यो एडीबीको परियोजना हो ।’ उनी निर्माण व्यवसायी संघ सुनसरीका अध्यक्ष समेत हुन् ।
साहद्वयले दाबी गरे पनि यो अवस्था भने हुने देखिँदैन । दातृ निकाय लगायतको अनुदान वा ऋणमा सञ्चालित आयोजनामा सम्बन्धित निकायले मापदण्ड पूरा गर्नुपर्ने भए सरकारी निकायले तय गरेको मापदण्डलाई समेत खरिद प्रक्रियाका क्रममा पूरा गर्नुपर्छ । कूटनीतिक नियोगले आफ्नै लागि गर्ने खरिदमा मात्रै नेपालको कानून लाग्दैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वी नवलपरासीको विनयी खोलामा फसेका २७ जनाको उद्धार, खोलाले बगायो बस
-
हिज्बुल्लाहले भन्यो– इजरायल र अमेरिका विरुद्धको लडाईंमा इरानको साथमा छौँ
-
जेलेन्स्कीसँगको सम्झौतामा पुटिनलाई शंका
-
मनसुनको प्रभाव : बाढी-पहिरोको कारण अवरुद्ध छन् यी राजमार्ग
-
शिव परियारको नयाँ गीत ‘अजम्बरी माया’ सार्वजनिक
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?