रेडियो नेपालमा जब एक अपरिचित गायकको गीत बज्यो— माया मेरी साँझ बनी...
‘तीसको दशक । भक्तराज आचार्यको भव्य भाकाले भावविभोर दशक । कतै भक्तिभावले भरिएको भजनमा आध्यात्मिक चेतना टुसाइरहेका हुन्थे । कतै शास्त्रीय सुगम सङ्गीत सुसाइरहेका हुन्थे,’ क्षेत्रप्रताप अधिकारीले लेखेका पंक्ति हुन् यी, (०६७ सालमा प्रकाशित सत्य–स्वरूपको संयोजन रहेको पुस्तक ‘सङ्गीत शिखर भक्तराज आचार्य’) ।
२०३० सालको अधिराज्यव्यापी राष्ट्रिय गीत प्रतियोगितामा भक्तराज आचार्य प्रथम भएका थिए । तीसको दशकको प्रारम्भमा रेडियोमा बज्ने ‘माया मेरी साँझ बनी’ बोलको गीतले युवाहरूको मन हर्दै गयो । त्यतिबेला घरमा रेडियो भएका युवाहरू यो गीत कति बेला बज्ला भनी प्रतीक्षामा हुन्थे ।
‘रेडियो सुनिरहने क्रममा एकजना अपरिचित नयाँ कलाकारको गीत बज्यो— माया मेरी साँझ बनी... । तत्काल गायकको नाम याद गरिएन तर सो गीत अति नै मन परेकाले गायकको नाम थाहा पाउने कुतूहलता जागेर आयो र गायकको नाम पुनः सुन्न पाउने प्रतीक्षामा बसेँ,’ उपर्युक्त पुस्तकमा रमेशचन्द्र पाँडेले लेखेका छन्, ‘केही दिनपछि रेडियो सुन्ने क्रममा भक्तराज आचार्यको स्वर भन्दै त्यही गीत बज्यो । सो दिनदेखि मेरो मनमा अर्को नयाँ गायक उदाएको अनुभव भयो ।’
२०३२ सालको पूर्वाद्र्धमा एक दिन रमेशचन्द्र पाँडेको घरमा भक्तराज आचार्य पुगे, विवाहको प्रस्ताव लिएर । ‘सो दिन म अचम्भित भएँ र ढुंगो खोज्दा देउता मिलेजस्तो लाग्यो मलाई । पहिलादेखि एकतर्फी रूपमा परिचित गायकले मेरी दिदी (सुशीला आचार्य)को हात माग्नुभएको थियो, परिवारबाट अस्वीकार गर्ने कुरै भएन,’ रमेशचन्द्रले लेखेका छन् ।
भक्तराजले जीवनमा आफ्नो सङ्गीतका करिब ४०० गीतबाहेक अरुको सङ्गीतमा २०–२५ वटा मात्रै गाएका छन् । भक्तराज भन्थे— सङ्गीत र मेरो सम्बन्ध पानी र माछाझैँ छ । यी वाक्य डायरीमा लेखेर भक्तराजले २०३६ सालको कात्तिक २१ गते हस्ताक्षर गरेका थिए । विडम्बना ! यस्तो लेखेको एक दशक मात्रै उनी सङ्गीतको सागरमा माछा बनेर मनचाह डुब्न र पौडन पाए । २०४६ सालको मंसिरमा उनी बौद्धका गुण्डाहरूको आक्रमणमा परी सख्त घाइते भए, मस्तिष्कको शल्यक्रिया गर्नुप¥यो । शल्यक्रियापछि उनी लामो समय अर्धचेत अवस्थामा रहे । बिस्तारै पहिलेको अवस्थामा फर्कंदै थिए, २०५० सालमा सालमा अर्को वज्रपात आइलाग्यो । २०४८ सालदेखि उनको जिब्रोमा सानो खटिरो देखिएको थियो, दुई वर्षसम्म त्यो निको भएन । पछि चेकजाँच गराउँदा क्यान्सर पुष्टि भयो । नयाँदिल्लीस्थित अल इन्डिया मेडिकल इन्स्टिच्युटमा लगेर उनको जिब्रो काटेर फालियो । पछि जर्मनीका लागि नेपालका तत्कालीन राजदूत नोबल किशोर राईले भक्तराजलाई जिब्रोको प्रत्यारोपणका लागि जर्मनीमा झिकाएका थिए, तर सफल हुन सकेन ।
एउटा गायकका लागि जिब्रो नै काटिनुको पीडा कति होला ! त्यो जो–कोहीले अनुमान गर्न सक्छ । समय क्रमसँगै उनका छोराहरू (सत्यराज आचार्य र स्वरूपराज आचार्य) गायनमा उदाए, त्यसपछि भक्तराजले छोराहरूको स्वरमा आफूलाई पाउन थालेका थिए ।
आफूहरूले संयोजन गरेको पुस्तकमा सत्य–स्वरूपको भनाइ छ, ‘बुवाले नै डो¥याएको सङ्गीतको पथमा अहिले हामी अगाडि बढिरहेका छौँ र सानैदेखि नै सुनेको उहाँको सुर र ताललाई पछ्याइरहेका छौँ । यद्यपि हामी उहाँजस्तो कहिले हुन सकेनौँ र सक्दैनौ पनि ‘तँहरूको सुर ज्ञान छैन है केटा हो, अलङ्कारहरूको अभ्यास गर ल ! बाह्र सुर आरोह–अवरोह गर त, मलाई चिन्नलाई १२ वर्ष लाग्यो’ भन्नुहुन्छ । उहाँ सूर्य हुनुहुन्छ भने हामी मात्र दियो हौँ ।’
भक्तराजले भारतको इलाहावादबाट संगीत प्रभाकर (बी म्युज) गरेका छन् । वि.सं. १९९९ असोज १६ गते धनकुटाको कुरुले तेनुपामा जन्मेका भक्तराजको हुर्काइबढाइ भारतको जलपाइगुडीमा भयो । भक्तराज डेढ वर्षको हुँदा सिंंगो गाउँ नै डुवर्स चिया बगानमा काम गर्न भनी बसाइँ सरेको थियो । ‘त्यसपछि जीवनमा ३१ वसन्तसम्म उहाँले त्यतै नानाथरीका कामहरू गर्दै र गाउँदै बिताउनुभयो,’ सत्य–स्वरूपले लेखेका छन् ।
- हजार सपनाहरूको माया
८१ वर्षीय भक्तराजले सोमबार यो धर्ती छाडे । मंगलबार उनको पार्थिव शरीरअगाडि उभिएर सङ्गीतकर्मीले श्रद्धासुमनस्वरूप ‘हजार सपनाहरूको माया लागेर आउँछ’ बोलको गीत गाएका थिए ।
सधैँ नै युवा पुस्ताले अनेक सपनाहरू साँचेर बाँचेको हुन्छ, ती सपना पूरा होऊन् वा नहोऊन्— हरेक युवालाई आफ्ना सपनाको माया हुन्छ । जब भक्तराजको स्वरमा ‘हजार सपनाहरूको माया लागेर आउँछ’ बोलको गीत रेडियोबाट बज्न थाल्यो, यसलाई युवाहरूले आफ्ना लागि बनेको गीत ठाने । यस गीतबारे सङ्गीतकार बुलु मुकारुङले लेखका छन्, ‘यो गति रेकर्ड गर्दा म स्वयं रेडियो नेपालको स्टुडियोमा एक म्युजिसियनका रूपमा काम गरिरहेको थिएँ । अर्थात् रेडियो नेपालको वाद्यवादक हुनु त्यसबेला गौरवको विषय थियो । ईश्वरवल्लभको गीत अनि भक्तराजदाइको स्वर र सङ्गीत रहेको यस गीतले नेपाली सुगम सङ्गीतको मूल प्रवाहमा ठुलै उछाल ल्याउन सक्यो । अहिलेको भाषामा भन्ने हो भने यो गीत लोकप्रिय भएको थियो, अति चर्चित भएको थियो ।’
बुलुको सङ्गीतमा भक्तराजले सातवटा गीत गाएका छन् । गायिका कुन्ती मोक्तानले बुलु मुकारुङको सङ्गीतमा एउटा गीत गाउँदै थिइन् । युगल गीत भने पनि गायक को हो भनेर बुलुले कुन्तीलाई भनेका थिएनन् । रेकर्डिङको दिन कुन्ती स्टुडियोमा पुगिन् ।
‘बुलुदाइले म्युजिक एरेन्ज गर्दैगर्दा भक्तराज आचार्यदाइ भित्र आउनुभयो । मलाई त सपनाजस्तो लाग्यो । मानौँ, एउटा सपना पूरा भयो । पछि थाहा भयो, भक्तराजदाइले असाध्यै छानेर मात्रै गीत रेकर्ड गर्ने हुनाले उहाँँ आउनुहुन्छ कि हुन्न भन्ने निश्चित नभएकाले गायकको नाम नभन्नुभएको रहेछ । म आफूलाई भाग्यमानी सम्झन्छु, भक्तराज दाइजस्तो महान् गायकसँग गीत रेकर्ड गराउने मौका पाएकामा,’ कुन्तीले उपर्युक्त पुस्तकमा लेखेकी छन् ।
२०४५ सालमा रेकर्ड भएको, कुन्ती र भक्तराजले गाएको ‘माया तिमीलाई केही भन्न मन लाग्छ’ बोलको गीत लोकप्रिय भयो । बुलुका अनुसार, त्यतिबेला कुन्तीकी जेठी छोरी जन्मेको भर्खर चार महिना भएको थियो । भक्तराज आचार्यसँग गीत गाउने भन्दा कुन्तीलाई अलि दुविधा हुन्छ कि वा डराउँछिन् कि भन्ने बुलुलाई लागेछ । ‘त्यतिबेला मैले यो गीत यसरी गाउने भनेर कुन्ती र भक्तराजदाइलाई छुट्टाछुट्टै घरमै गएर सिकाएको थिएँ,’ बुलुले मंगलबार (१५ फागुन) टेलिफोनमा भने, ‘भक्तराजदाइसँग गाउने भनेपछि कुन्तीले राम्रोसँग नसिक्ने हुन् कि भनेर गायकको बारेमा भनेको थिइनँ ।’
यसरी सँगै गीत गाउनुअघि नै कुन्तीले भक्तराजबाट प्रशंसा पाइसकेकी थिइन् । कुन्तीका अनुसार, त्यसताका रेडियोमा शास्त्रीय सङ्गीत लाइभ गाउनुपथ्र्यो । एक बिहान, कुन्तीले रेडियोमा राग प्रस्तुत गरिरहेकी थिइन् । त्यति बेला कन्ट्रोल रुमभित्रै पसेर भक्तराजले कुन्तीको गायकी पूरै सुने । ‘दाइलाई देखेर नर्भस भएकी थिएँ । सकेर बाहिर निस्केँ, पछि मेरो प्रशंसा गर्दै उहाँले भन्नुभयो— तिमी एकजना हौ । विलम्बित र द्रूत दुवै गाउन सक्ने । म डराएकी थिएँ तर आशीर्वाद पाएको महसुस गरेँ,’ कुन्तीले उपर्युक्त पुस्तकमा लेखेकी छन् ।
- जहाँ छन् बुद्धका आँखा
मंगलबार आर्यघाटमा अन्तिम संस्कार गर्नुअघि सङ्गीतकर्मीले भक्तराजको सम्मानमा ‘जहाँ छन् बुद्धका आँखा’ बोलको गीत गाए । बमबहादुर थापा जितालीका यी शब्दलाई भक्तराजले स्वर र सङ्गीतको आत्मा भरेका हुन् ।
जहाँ छन् बुद्धका आँखा स्निग्ध शान्त र सुन्दर ।
त्यहाँ छ शान्तिको क्षेत्र मेरो राष्ट्र मनोहर ।
यस गीतबारे कनकमणि दीक्षितले लेखेका छन्, ‘मेरो राष्ट्र मनोहर... । यी तीन शब्द नै पर्याप्त छन् मेरा लागि, भक्तराज आचार्यको गायनको प्रशंसा गर्न र यो समाजका लागि उनको योगदानको कुरा गर्न । ...शब्द उच्चारण, शास्त्रीय सङ्गीतको पकड— मजस्तो सङ्गीत धेरै नबुझ्ने पत्रकारलाई पनि भक्तराजले आफ्नो गायनद्वारा चिन्तन र भावुकताको उचाइमा पु¥याइदिन्छन् ।’
क्षेत्रप्रताप अधिकारीको शब्दमा भक्तराजले अर्को राष्ट्रिय गीत गाएका छन्, ‘उस्तै पानी बग्ने’ बोलको । भक्तराजको ‘मुटु जलिरहेछ’ बोलको गीत सुनेपछि क्षेत्रप्रतापलाई एउटा रहरले पोल्न थालेछ । अर्थात् आफूले लेखेको गीत समवयी साथीको सुरिलो स्वरमा सजाउने रहर जागेछ । एक दिन रेडियो नेपालमा नातिकाजीले भक्तराज र क्षेत्रप्रतापको परिचय गराइदिए । पहिलो भेटमै उनले भक्तराजसामु आफ्ना रहर राखे । क्षेत्रप्रताप लेख्छन्, ‘भैहाल्छ भनेर भक्तराजले मेरो भावुक भरोसा भइँमा खस्न दिएनन् ।’
त्यतिबेला क्षेत्रप्रतापको ‘उस्तै उस्तै पानी बग्ने’ बोलको गीत गोरखापत्र वा कुनै छापामा भर्खरै छापिएको थियो । यस गीतको एउटा अन्तरालाई लिएर केही गीतकार र समालोचकले नकारात्मक टिप्पणी गरे, विस्तारवादी सोचको दिवास्वप्न तथा छरछिमेक चिढाउने प्रयास भने ।
त्यस गीतको अन्तरा यस्तो छ—
यो मन मेरो के के भन्छ,
तराई ठूलो पारौँ भन्छ ।
कैले हिमाल उचालेर,
अझै माथि सारौँ भन्छ ।
‘आफूलाई राम्रो लागेको तर छिमेकीका खेतालाले नराम्रो मानेको गीत गाउन दिए स्वच्छ स्वर–सङ्गीतका स्रष्टा भक्तराज पो विवादमा पर्ने हुन् कि भन्ने डर पनि लाग्यो,’ क्षेत्रप्रताप लेख्छन्, ‘सोचेँ— केही अपवादबाहेक सबै नेपालीको मन मेरैजस्तो त हो नि । के फरक पर्छ र ! दिन्छु । भक्तराजले भएभरको सीप लगाएर स्वर–सङ्गीत सजाए । एउटा तीतो गीत, उनले छोएपछि मीठो भयो । खुबै बज्यो र बजिरहेछ देशमा ।’
भक्तराजलाई ठिमीको डबली परिवारले २०५४ सालमा ‘भजनशिरोमणि’ उपाधिबाट सम्मानित गरेको हो । ‘मान्छेहरू भक्तराजलाई भजनशिरोमणि भनेर उनको बहुआयामिक र विशालमना प्रवृत्तिलाई आध्यात्मिक सुँगुरी भञ्ज्याङमा खुम्च्याउन खोजिरहेछन् । धेरै भजन गाए भन्दैमा एउटा भर्सटायल गायकलाई भजनमण्डली नायक भन्न मिल्ला र !’ क्षेत्रप्रतापले उपर्युक्त पुस्तकमा लेखेका छन् ।
शम्भुजित बास्कोटाका अनुसार, भक्तराज आचार्य र स्वरसम्राट नारायणगोपालबिच राष्ट्रिय नाचघरमा सङ्गीतका विविध विषयमा गहकिला बहस हुन्थे । शम्भुजितले उपर्युक्त पुस्तकमा लेखेका छन्, ‘भक्तराज आचार्य शास्त्रीय सङ्गीतका असल पारखी । अनि नारायणगोपालदाइ पनि त्यस्तै । सङ्गीत ज्ञानले भरिएको बहस चलिरहँदा म छेउमै बसेर ती सब कुरा सुनिरहेको हुन्थेँ ।’
- जीवन भनुँ त घात छ...
भक्तराजले गाएको ‘जीवन भनुँ त घात छ’ बोलको गीतको आफ्नै कथा छ । २०४१ सालतिरको एक साँझ कवि तथा गीतकार दिनेश अधिकारी सङ्गीतकार दिव्य खालिङलाई भेट्न गएका थिए, कुपन्डोलस्थित खालिङकै डेरामा । त्यहाँ पुग्दा ढोका बन्द थियो । भक्तराज आचार्य भने त्यहीँ कम्पाउन्डमा टहलिँदै थिए । भक्तराज र दिनेश दुवै दिव्यकै प्रतीक्षामा थिए । पट्यारलाग्दो प्रतीक्षाको पल काट्न उनीहरू नजिकैको रेस्टुराँमा चिया पिउन गए । जाँदै गर्दा बाटामा दिनेशले आफ्ना गीत पनि गाइदिन भक्तराजसँग अनुरोध गरे ।
शब्दहरू निकै चयन गरेर गाउने भक्तराजको स्वभाव थियो । ‘दाइले आफ्नो स्वभावअनुसार स्पष्ट शब्दमा आफूसँग ख्यातिप्राप्त थुप्रै गीतकारका गीत भएको कुरा बताउँदै (म नयाँ नै भएको कारणले पनि हुन सक्छ) एक किसिमले मेरो गीत गाउन इन्कार गर्नुभयो,’ दिनेशले पुस्तक (सङ्गीत शिखर भक्तराज आचार्य)मा लेखेका छन्, ‘चियाको प्रतीक्षा गरिरहेको अवस्थामा उहाँले प्रसंगवश वा भनुँ समय कटाउनका लागि मलाई एउटा गीत सुनाउन भन्नुभयो । बाटामा दाइले गर्नुभएको कुराले मनमा ठेस लागिसकेको थियो । त्यति हुँदाहुँदै पनि मैले आफूलाई कण्ठस्थ गीत लगत्तै सुनाएँ— प्यार हो कि सपनाको व्यापार हो जिन्दगी... ।’
गीत सुनेपछि भक्तराजले दिनेशलाई भने, यो गीत लेखेर मलाई देऊ । तर दिनेशले गीत दिएनन्, पछि कुनैबेला रेडियो नेपालमा छाडिदिने भनेर तर्किए । त्यसपछि जागिरको सिलसिलामा दिनेश बैतडी पुगे । त्यसको तीन–चार महिनापछि बिदामा काठमाडौँ आउँदा दिव्यले दिनेशसँग सोधेछन्, ‘तिमी र भक्तराज आचार्यबीच किन सम्बन्ध राम्रो छैन ?’
यस्तो प्रश्न गर्नुको कारण दिनेशले दिव्यसँग सोधे । दिव्यले भनेछन्, ‘मेरो सङ्गीतमा गीत गाउने कुरा हुँदा प्रत्येकपटक मैले तिम्रो गीत दिन चाहेँ, तर भक्तराजजीले जहिले पनि तिम्रोबाहेक अरुको गीत गाउँछु भन्नुभयो ।’
२०४२ वैशाखतिर, दिनेश दिव्य खालिङको डेरामा पुगेका थिए । त्यहाँ भक्तराज पनि थिए । दिव्य खालिङले कुरा कोट्ट्याएपछि दिनेशले भने, ‘दाइले गीत देऊ भन्नुभन्दा अगाडि जे भन्नुभयो, त्यसले मेरो मनमा ठेस लागेको थियो ।’
यस दिनको कुराले दुवैले मन माझियो । बैतडी फर्केपछि हुलाकबाट दिनेशले गीत पठाउने भए । बैतडी फर्केपछि उनले २१ असार २०४२ मा लेखेको ‘जीवन भनूँ त घात छ, मृत्यु भनूँ त सास छ’ बोलको गीत हुलाकमार्फत पठाए । यो गीत आफूलाई मन परेको र यसलाई आफू वा दिव्य खालिङद्वारा सङ्गीतबद्ध गराई रेकर्ड गराउने भनी भक्तराजले दिनेशलाई चिठी लेखे । ४ साउन २०४२ मा लेखेर पठाएको भक्तराजको चिठी दिनेशले २७ साउन २०४२ पाए । यो गीत नोबु छिरिङको सङ्गीतमा २ साउन २०४३ सालमा रेडियो नेपालमा रेकर्ड भयो ।
मंगलबार साँझ टेलिफोनमा कुरा हुँदा दिनेशले रातोपाटीसँग भने, ‘त्यसपछि त दाजुभाइ निकै घनिष्ठ भयौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नौ सय ३७ मेट्रिक टन कोदो उत्पादन
-
स्वास्थ्यकर्मीहरूलाई सरकारी सरह पारिश्रमिक दिन निजी अस्पताललाई मन्त्रालयको निर्देशन
-
मन्त्रालयको दराजमा थन्कियो सुरुङ मार्ग
-
जसपा नेपालको कार्यकारिणी समिति बैठक सुरु
-
नेपाल चिकित्सक सङ्घको चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन आजदेखि सुरु
-
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी