शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
बासस्थान

जगदीशपुर तालमा प्रत्येक वर्ष चराको संख्या घट्दै

आइतबार, २० फागुन २०८०, ०६ : २२
आइतबार, २० फागुन २०८०

बुटवल । लुम्बिनी प्रदेश सरकारले २०७८ सालमा बृहत् कार्यक्रम गरी कपिलवस्तुको जगदीशपुर ताललाई पन्छी आरक्ष घोषणा गरे पनि प्रत्येक वर्ष यहाँ चराको संख्या घटिरहेको छ ।

नेपालमा जलपन्छी (पानी चरा)हरूको महत्त्वपूर्ण बास स्थान मानिने जगदीशपुर ताललाई प्रदेश सरकारले थप संरक्षण गर्ने घोषणा गरे पनि यहाँ पछिल्लो पाँच वर्षमा चराको संख्या निरन्तर घटिरहेको विज्ञहरू बताउँछन् ।

चरा गणनामा संलग्न चराविद्हरूका अनुसार जगदीशपुर तालमा हरेक वर्ष २ हजार हाराहारी चरा घटिरहेका छन् । चराविद् तथा नेपाल पक्षी संरक्षण संघका फिल्ड अधिकृत ईश्वरी प्रसाद चौधरी सहितको टोलीले हालै जगदीशपुरसँगै रुपन्देही, कपिलवस्तु र नवलपरासीका विभिन्न तालमा चरा गणना गरेको थियो । चराविद् चौधरीका अनुसार जगदीशपुर तालमा केही वर्ष यता बर्सेनि २ हजारको हाराहारीमा चरा घटिरहेका छन् ।

सन् २०१८ मा जगदीशपुर तालमा ४३ प्रजातिका २३ हजार जलपक्षी गणना भएको उनले सुनाए । सन् २०२४ मा यहाँ चराको संख्या ९ हजार ४ सयमा झरेको उनको भनाइ छ । गत वर्ष जगदीशपुर तालमा ११ हजार ८ सय चरा पाइएको उनले बताए ।

पछिल्लो समय जगदीशपुर ताल संरक्षणको जिम्मेवारी कपिलवस्तु नगरपालिकाले जगदीशपुर जलाशय व्यवस्थापन बहुउद्देश्यीय सरोकार मञ्चलाई दिएको छ ।

पहिले हिउँद याममा विभिन्न देशबाट चिसो छल्न र आहारको खोजी गर्दै यहाँ आगन्तुक चरा आउने गरेको चौधरी बताउँछन् । अहिले जलवायु परिवर्तनका हिउँदमा ती देशमै अनुकूल वातावरण भएका कारण चराहरु नेपालमा नआएको हुन सक्ने उनको अनुमान छ ।

जगदीशपुर तालमा सुनजुरे, सिलसिले, कालीजुरे, मालक, सुइरोपुच्छ्रे, बेल्चाठुंडे, सिन्दुरे, निलटाउके, कैलो टाउके, जुलागैरी, चखेवा, पेकिङ डग, माल्टाज, फिस्टा, खट्खटे, सारस, भुँडीफोर, ध्यानी, बकुल्ला, सेतो गरूड लगायतका चरा पाइने गर्दछ ।

DSCN5045

चराविद् चौधरी जगदीशपुर तालमा मात्रै नभएर रुपन्देहीको गौडहवा र गजेडी तालमा समेत चरा निकै कम पाइएको बताउँछन् । उनले मानवीय गतिविधि बढ्नु, सरसफाइका नाममा झाडीहरु मासिनु, तालमा मोटरबोट चलाइनु लगायतका कारणले पनि चराको संख्या घटेको बताए ।

जगदीशपुर तालको चारैतिर मानिस हिँड्ने बाटो बनाइएको, सवारी साधन चलाउने र तालमा ढुंगा चलाउने गर्दा चराहरूको बासस्थान नासिँदै गएको चौधरीले बताए । चराहरू बस्ने ठाउँमा पिकनिक स्थल बनाइँदा पनि हल्लाखल्लाका कारण चराहरूले असुरक्षित ठानेर उक्त स्थान छाड्ने गरेको उनको भनाइ छ ।

DSCN5074 (1)

जगदीशपुर ताललाई पन्छी आरक्ष घोषणा गर्नु अगाडि नै कपिलवस्तु नगरपालिकाले तालको व्यवस्थापन गर्न जगदीशपुर जलाशय व्यवस्थापन बहुउद्देश्यीय सरोकार मञ्चलाई जिम्मा दिएको थियो । जगदीशपुर ताललाई प्रदेश सरकारले पन्क्षी आरक्ष घोषणा गरेपछि सरोकार मञ्चले २५ लाख रुपैयाँ पाएको थियो । उक्त रकमबाट २ जना चरा हेरालु राख्ने र तालको साइटमा भौतिक संरचना निर्माण गरिएको सरोकार मञ्चका अध्यक्ष ललित गुरुङले रातोपाटीलाई बताए ।

१ सय ५७ हेक्टर क्षेत्रफलमा फैलिएको यो ताल नेपालकै मानव निर्मित सबैभन्दा ठुलो ताल हो । कपिलवस्तुका दक्षिणका साविकका १३ गाविस र एउटा नगरपालिकासँगै भारतको समेत गरी ६ हजार ३ सय ५० हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने उद्देश्यले वाणगंगा डिभिजनल सिँचाइ कार्यालयले वाणगंगा नदीबाट आएको पानीलाई लक्ष्मण घाटमा बाँध बाँधेर जगदीशपुरमा जलाशय निर्माण गरेको थियो । ४७ लाख घनमिटर पानी भण्डारण गर्न सक्ने गरी २०२८ सालमा निर्माण सुरु गरी २०३५ सालमा तालको निर्माण सम्पन्न भएको थियो । ताल बनेसँगै जलपक्षीहरूले यसलाई आफ्नो बासस्थान बनाउन थालेका थिए ।

मञ्चले तालको जैविक विविधता र चराहरूको बासस्थान संरक्षण गर्दै स्थानीयको आयस्रोत बढाउन ध्यान दिने उद्देश्य राखे पनि त्यो अनुसार प्रदेश सरकारबाट काम नभएको गुनासो अध्यक्ष गुरुङले गरे । उनले पछिल्लो समय स्थानीयहरू सिमसार क्षेत्र राख्ने कि नराख्ने भन्नेमा विभाजित हुन थालेकोसमेत बताए ।

2DSCN5248DSCN5452

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप