सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
स्वास्थ्य

वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य

सोमबार, २५ जेठ २०८३, १८ : १०
सोमबार, २५ जेठ २०८३

सारांश

  • वीर अस्पतालमा रहेका दुई वटा सिटी स्क्यान मेसिन बिग्रिएपछि सेवा एक महिनादेखि बन्द छ, जसले गर्दा बिरामीहरू निजी अस्पताल जान बाध्य भएका छन्।
  • वीर अस्पतालमा दैनिक करिब ७० जनाको सिटी स्क्यान हुने गरेकोमा अहिले बिरामीहरू निजी अस्पतालमा महँगो शुल्क तिर्न बाध्य छन्।
  • वीर अस्पतालका प्रवक्ताले अबको एक साताभित्र सिटी स्क्यान सेवा पुनः सञ्चालनमा आउने बताएका छन्।

काठमाडौँ । वीर अस्पतालमा रहेका दुई वटै सिटी स्क्यान मेसिन बिग्रिएपछि सेवा एक महिनादेखि बन्द भएको छ। रोग निदानका लागि महत्त्वपूर्ण मानिने सिटी स्क्यान सेवा अवरुद्ध हुँदा बिरामीहरू ट्रमा सेन्टर तथा निजी अस्पतालमा जान बाध्य भएका छन्।

अस्पतालका अनुसार एउटा मेसिन काम नलाग्ने नै भएको छ भने एउटा चाहिँ जेनतेन चलेपनि एक महिनादेखि त्यो पनि थन्किएर बसेको हो ।

वीर अस्पतालमा दैनिक करिब ७० जनाको सिटी स्क्यान हुने गरेको थियो। यहाँ सिटी स्क्यान गर्न दुई हजार पाँच सयदेखि छ हजार रुपैयाँसम्म लाग्ने गरेकामा अहिले बिरामीहरू निजी अस्पतालमा पाँच हजारदेखि १६ हजार रुपैयाँसम्म तिर्न बाध्य छन्। सेवा बन्द भएपछि सिटी स्क्यानका लागि बिरामीहरू ट्रमा सेन्टर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललगायत अन्य स्वास्थ्य संस्थामा जान विवश भएका छन्।

ट्रमा सेन्टरमा भने बिग्रिएको सिटी स्क्यान मेसिन मर्मतपछि सेवा सञ्चालनमा आएको छ। ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनीले वीर अस्पतालमा सेवा बन्द भएपछि बिरामीको चाप बढेको बताए।

उनले भने, 'पहिले दैनिक करिब ५० जना सिटी स्क्यानका लागि आउँथे। अहिले एक सयभन्दा बढी बिरामी सेवा लिन आउँछन्। हामीसँग १६ स्लाइसको सिटी स्क्यान मेसिन छ, जुन १० वर्ष पुरानो भइसकेको छ। बीचबीचमा बिग्रिने भएकाले १२८ स्लाइसको नयाँ सिटी स्क्यान मेसिन खरिद प्रक्रियामा छ, जुन अन्तिम चरणमा पुगेको छ।'

रेडियोलोजिस्टहरूका अनुसार गम्भीर रोगको पहिचान तथा शरीरका विभिन्न अङ्गहरूको विस्तृत अध्ययनका लागि सिटी स्क्यान आवश्यक हुन्छ। रेडियोलोजिस्ट डा. विकासविक्रम अधिकारीका अनुसार अल्ट्रासाउन्ड वा एक्स–रेबाट प्राप्त नतिजामा शङ्का लागेमा सिटी स्क्यानमार्फत थप पुष्टि गरिन्छ।

उनले भने, 'रोगको सही पहिचानका लागि सिटी स्क्यान आवश्यक पर्छ। शरीरको कुन अङ्गमा समस्या छ भन्ने पत्ता लगाउन यो महत्त्वपूर्ण परीक्षण हो।'

वीर अस्पतालका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अबको एक साताभित्र सेवा पुनः सञ्चालनमा आउने बताए।

उनले भने, 'दुई वटा सिटी स्क्यान मेसिनमध्ये एउटाको वार्षिक मर्मत सम्झौता पुसमै सकिएको रहेछ। सम्झौता नवीकरणका लागि आपूर्तिकर्तालाई बोलाइएको छ। सम्भवतः चार–पाँच दिनभित्र सम्झौता सम्पन्न भई सेवा सुरु हुनेछ।'

अस्पतालकी निमित्त निर्देशक प्रभा कोइराला चापागाईंले मल्टिफङ्सनल सिटी स्क्यान मेसिनको एक महत्त्वपूर्ण पार्ट बिग्रिएको जानकारी दिइन् ।

उनले भनिन्, 'मेसिन बिग्रिएको करिब एक महिना भयो। आवश्यक पार्ट विशेष अर्डर गरेर ल्याउनुपर्ने भएकाले समय लागेको हो। पार्ट अर्डर भइसकेको छ। छिट्टै आइपुग्ने र सेवा पुनः सञ्चालनमा आउने अपेक्षा गरेका छौँ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप