शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

हुम्लामा दादुरा–रुवेलाविरुद्धको खोप अभियान

आइतबार, २० फागुन २०८०, १२ : ०७
आइतबार, २० फागुन २०८०

सिमकोट । हुम्लामा नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई यही फागुन २५ गतेदेखि दादुरा–रुवेलाविरुद्धको खोप अभियान सुरु गरिने भएको छ ।  पाँच वर्षमुनिका बालबालिकालाई अनिवार्यरुपमा दादुरा–रुवेलाविरुद्ध खोप लगाइने भएकाले सम्बन्धित स्वास्थ्य संस्थामा खोपकार्ड लिएर जान स्वास्थ्य सेवा कार्यालय हुम्लाले आग्रह गरेको छ । 

खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवाला निकायसँग बसेको बैठकले यही फागुन २५ गतेदेखि चैत ७ गते अभियान सञ्चालन गरिने कार्यालयका प्रमुख प्रेम सिंहले जानकारी दिए । जिल्लामा सात स्थानीय तहले तोकिएकै मितिमा खोप अभियान सञ्चालन गर्न सम्बन्धित गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मीलगायतसँग समन्वय गरिएको उनले बताए ।

दादुरा–रुवेला लागेको एक व्यक्तिले १८ जनासम्मलाई रोग सार्न सक्ने भएकाले यसबाट सुरक्षित रहन सम्पूर्ण बालबालिकालाई अनिवार्य रुपमा खोप लगाउनु अति आवश्यक प्रमुख सिंहको भनाइ छ ।  अभियान सञ्चालनका लागि एक सय सात खोप केन्द्र स्थापना गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख सिंहले जानकारी दिए । उनका अनुसार नाम्खा १५, सिमकोट २०, खार्पुनाथ १४, सर्केगाड २३, चङ्खेली १२, अदानचुली १२ र ताँजाकोट गाउँपालिकामा ११ खोप केन्द्र तोकिएको छ ।

राष्ट्रिय खोप कार्यक्रमको सफलताले नेपालको शिशु तथा बाल मृत्युदर घटाउनमा उल्लेखनीय रुपमा योगदान पु¥याएको भन्दै सबैलाई खोप अभियानमा समन्वय गर्न प्रमुख सिंहले आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप