आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

माओवादीले किन सार्वजनिक गरेन कार्य सम्पादनमा उत्कृष्ट र कमजोर नेताहरूको नाम ?

आइतबार, २० फागुन २०८०, २३ : ३३
आइतबार, २० फागुन २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले पार्टी रूपान्तरण विशेष अभियानमा काम गर्ने/नगर्ने नेताहरूको नाम सार्वजनिक गर्ने बताएको थियो । तर फागुन १६ गते सकिएको बैठकले न राम्रो काम गर्ने नेताहरुको नाम सार्वजनिक गर्‍यो, न त काम नगर्ने नेताहरूको नाम नै सार्वजनिक गरेको छ ।

सबै प्रदेशका इन्चार्ज र अध्यक्षले अभियानमा कार्यसम्पादन मूल्याङ्कनको चार वटा मापदण्ड बनाएको थियो । जसमा नेताहरूको मूल्याङ्कनको आधार ७० देखि माथिलाई पहिलो, ४० देखि ७० सम्म दोस्रो, १० देखि ४० सम्मलाई तेस्रो र १० भन्दा मुनिलाई चौथो मापदण्डमा राखेर समीक्षात्मक रिपोर्ट तयार गरेको थियो ।

रिपोर्टको आधारमा अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले हरेक प्रदेशबाट उत्कृष्ट र झुर गरी तीन/तीन जनाको नाम दिन निर्देशन दिएका थिए । फागुन १० गतेको बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले इतिहासमै पहिलोपटक कामको आधारमा नेताहरूको मूल्याङ्कन गरेको दाबी गरेका थिए ।

अध्यक्षले सबै प्रदेशबाट सर्वोकृष्ट र कामै नगर्ने तीन/तीन जनाको नाम प्रस्तुत गर्न निर्देशन दिएको जानकारी गराएका थिए । उत्कृष्ट गर्नेलाई सम्मानपत्र, कामै नगर्नेलाई निलम्बन वा घटुवा हुन सक्ने बताएका थिए ।

पुरस्कार र दण्डको विषयमा बैठकले किन निर्णय नगरेको भन्ने प्रश्नमा प्रवक्ता सापकोटा भन्छन्, ‘सबै प्रदेशबाट रिपोर्ट आइसकेको छैन । त्यसले अड्केको हो ।'

उसो त माओवादीले फेरि एक  सर्कुलरमार्फत सबै प्रदेशमा खटिएका केन्द्रीय सदस्यहरूको सन्दर्भमा उत्कृष्ट काम गर्ने तीन जनाको नामावली हरेक प्रदेशबाट मागेको छ । यस्तै अभियानमा सहभागी नभएकाहरूको नामावली र उनीहरूको स्पष्टीकरण सहितको सिफारिस पनि प्रदेश इन्चार्जहरूले अविलम्ब केन्द्रीय कार्यालयमा पठाउनुपर्ने सर्कुलरमा भनिएको छ । 

नाम प्राप्त भएपछि फागुन २८ गते बस्ने स्थायी समिति बैठकमा पेस भएर आवश्यक निर्णय हुने सापकोटाको भनाइ छ ।

यद्यपि सचिव गणेश साह पुरस्कार र कारबाहीको विषयमा स्थायी समिति सदस्यहरूले असहमति जनाउन सक्ने भएकाले नाम सार्वजनिक नगरिएको दाबी गरे ।

‘गृहकार्य हुँदैछ । पुरस्कृत गर्नेमा एकदुई जनाबाहेक अन्यमा समस्या छैन । काम नगर्नेको विषयमा आएको रिपोर्टमा अन्यले विरोध गर्न सक्ने भएकाले अन्तिमरूप दिन प्रदेश समितिलाई जिम्मा दिइएको छ’, उनले भने ।

प्रदेश समितिले मूल्याङ्कन गरेपछि प्रक्रिया अगाडि बढ्ने उनले बताए । ‘अहिले सम्बन्धित इन्चार्जले पेस गरेको हो । इन्चार्ज र अध्ययक्षले गरेको मूल्याङ्कन नभइ सम्बन्धित प्रदेश समितिले मूल्याङ्कन गराउन पर्छ भनेर सदस्यहरूले सुझाव दिएपछि रोकिएको हो,’ उनले भने ।

माओवादीले गत भदौ १६ देखि पुस १६ सम्म जनतासँग माओवादी विशेष रुपान्तरण अभियानमा पदाधिकारीदेखि केन्द्रीय सदस्यहरूलाई वडामा केन्द्रित गरेको थियो । चार महिने अभियानमा १० देखि १५ प्रतिशत नेताहरू फिल्डमा नगएको रिपोर्ट केन्द्रीय कार्यालयमा प्राप्त भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप