आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गैरप्राविधिक नियुक्ति, एक सातामा दर्जन सम्भावित दुर्घटना

आइतबार, २३ वैशाख २०८१, २० : ४८
आइतबार, २३ वैशाख २०८१

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जिम्मेवारी गैर प्राविधिक व्यक्तिलाई दिइएपछि विमानस्थलमा प्राविधिक समस्या देखा पर्न थालेको छ । विमानस्थलको महाप्रबन्धकमा जगन्नाथ निरौला छन् ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय जहाज अवतरण र उडानका क्रममा विमानस्थलमा विभिन्न प्रकारका प्राविधिक समस्या आउन थालेको हो । पछिल्लो एक सातामा एक अन्तर्राष्ट्रिय विमानसहित ८ वटा ठुला सम्भावित दुर्घटना जसोतसो टरेको देखिएको छ ।

करिब एक हप्ताको समयमा आएका हवाई सुरक्षासम्बन्धी घटनाक्रम हेर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘सेफ्टी’ सम्बन्धी विज्ञकै नेतृत्व हुनुपर्ने रहेछ भन्ने पनि महसुस गराइरहेको छ । विगतको प्रचलन पनि यही नै हो । तर, राजनीतिक स्वार्थ, आफू निकटका लागि नियुक्ति दिने राजनीतिक प्रवृत्तिका कारण हवाई क्षेत्रजस्तो अति संवेदनशील निकायमा अदक्ष व्यक्तिलाई जिम्मेवारी दिँदा यस्ता घटना हुनु स्वाभाविक हुने सरोकारवाला बताउँछन् ।

विमानस्थलको नेतृत्वमा उडान सुरक्षाका विषयमा जनाकारी नै नभएका व्यक्तिको नियुक्तिसँगै उडान सुरक्षा भद्रगोल बन्न पुगेको एक पूर्व महानिर्देशक बताउँछन् । ‘उहाँ (जगन्नाथ निरौला) को एक्पर्टिज खरिद र कर्पोरेट प्लानिङमा हो । तर, पूरै प्राविधिक भएर काम गर्नुपर्ने स्थानमा उहाँको पोस्टिङ भएको सुन्दा उहाँलाई यो जिम्मेवारी थेग्न गाह्रो हुने आकलन मैले पहिला नै गरिसकेको थिएँ,’ उनले भने ।

उसो त वर्तमान पर्यटनमन्त्री समेतलाई जानकारी नदिई नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको एकल निर्णयले जगन्नाथ निरौला त्रिभुवन विमानस्थलको महाप्रबन्धक बनेका कारण मन्त्रालयसँगको समन्वय पनि समस्यामा परेको बताइन्छ ।

  • यस्ता छन् एक सातामा झण्डै टरेका दुर्घटना

२२ अप्रिल २०२४ मा यती एयरको ७८१ कलसाइनको जहाज विराटनगर उड्ने तरखरमा थियो । धावनमार्गमा गुड्दै गर्दा जहाजले ‘टेक अफ रिजेक्ट’ गर्‍यो, इन्डिकेसनमा समस्या भएपछि जहाज पुनः पार्किङमै फर्कियो । सोही दिन बुद्ध एयरको जहाज माउन्टेन उडान भर्न लाग्दा प्राविधिक समस्या भएर काठमाडौँ फर्कियो र सुरक्षित अवतरण गर्‍यो ।

२५ अप्रिल २०२४ मा मलेसियन एयरलाइन्सको विमान ट्राफिक अलर्ट एन्ड कोलिजन एभोइडेन्स सिस्टममा समस्या आएर लामो समय सिमराको आकाशमा होल्ड ग¥यो । २९ अप्रिल २०२४ मा सीता एयरको विमान लुक्ला–रामेछाप उड्दाउड्दै हाइड्रोलिक फेलियर भएर काठमाडौँमा अवतरण ग¥यो । धावनमार्गमा केही समय रोकिएको जहाज टोइङ्ग भेइकलले तानेर पार्किङ–वेमा पठाइयो ।

सो जहाज धावनमार्गमा नरोकिन सक्ने प्रवल सम्भावना थियो । तर जहाज जेनतेन रोकियो र ठुलो दुर्घटनाबाट बच्यो ।

त्यही दिन सिम्रिक एयरको 9NAKD हेलिकप्टर काठमाडौँ–लुक्ला उडान गर्न लाग्दा ढोका खुलै रहेको इन्डिकेसन आएपछि धुलिखेलमा ल्यान्ड गर्‍यो र ढोका लगाएर लुक्ला उड्यो । त्यही बिहान बनारस उड्न लागेको बुद्ध एयरको विमान उड्ने बेला इन्डिकेसनमा समस्या आएपछि पार्किङमा फर्कियो र अर्को जहाजमा यात्रुलाई राखेर बनारस पठाइयो ।

३० अप्रिल २०२४ मा प्रेसराइजेसन फेल भएर विराटनगर उडेको यती एयरलाइन्सको जहाज काठमाडौँ फर्कियो । त्यही दिन कतार एयरवेजको ६५२ जहाज सिम्रिकको 9NAKD हेलिकप्टरसँग निर्धारितभन्दा कम दुरीमा रहेर ट्राफिक एड्भाइजरी आएर ठोकिनबाट बच्यो । 9NAKD रामेछापबाट लुक्ला उडान गर्दैगर्दा समस्या आएर रामेछाप नै फर्कियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप