सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तर्राष्ट्रिय महिला दिवस

नेपालमा महिला प्रधान फिल्म किन कम ?

‘व्यावसायिक फिल्मको नाममा महिलाको कथा छुट्यो’
शुक्रबार, २५ फागुन २०८०, १२ : ०३
शुक्रबार, २५ फागुन २०८०

काठमाडौँ । नेपालमा निर्माण भएको पहिलो फिल्म हो ‘आमा’ । यो फिल्म २०२१ साल असोज २२ गते प्रदर्शन भएको थियो । यस अर्थमा नेपाली फिल्मको जन्म नै महिला प्रधान फिल्मबाट भएको देखिन्छ ।

हिरासिंह खत्रीद्वारा निर्देशित ‘आमा’ तत्कालीन राजा महेन्द्रले रोयल नेपाल फिल्म कर्पोरेशनको उत्पादनका रूपमा तयार गरेका थिए । यही फिल्ममा अभिनेत्रीको भूमिका निर्वाह गरेकी भुवन चन्दलाई नेपालको प्रथम अभिनेत्री भन्ने गरिन्छ ।

यतिमात्र होइन, तेस्रो नेपाली फिल्म ‘माइतीघर’ पनि महिला प्रधान नै थियो । यो फिल्मको गीत अहिले पनि रुचाउने गरिन्छ । नेपाली फिल्म क्षेत्रको सुरुवाती चरणमा बनेका यी दुई फिल्म महिला प्रधान हुनु संयोगमात्र नहोला । महिलाका पीडा, व्यथा र समाजमा गर्नु परेका संघर्षलाई हरेक नेपाली महिलाले आफ्नो जीवनभोगाइ मान्ने गरेका छन् । त्यसैले सुरुवाती चरणमा चलचित्रका कथावस्तु पनि महिला प्रधान विषयमा केन्द्रित रहे ।

तर, पछिल्लो समय व्यावसायिक फिल्म बनाउने होडले महिलाको आरोह अवरोह, जीवनका भोगाइहरु, सुख–दुःखका कथा, संघर्ष, छलाङ लगायतका विषयबस्तु फिल्मबाट  हराउँदै गएको छ । जबकि महिलालाई ‘आधा आकाश’ पनि भन्ने गरिन्छ । जनसंख्याको हिसाबले पनि महिला र पुरुष आधा–आधा हिस्सामा छन् । तर चलचित्रका कथावस्तुमा पुरुष नै प्रधान किन हुन्छन् भन्ने प्रश्न स्वाभाविक रुपमा उब्जिन्छ ।

व्यावसायिक फिल्मका नाममा विदेशी फिल्मका नक्कल गरिएका कथाले प्राथमिकता पाए । मौलिक विषयवस्तु भन्दै आफूखुसी र आफ्नो मन लागेको कथा पस्किन थाले । दर्शकको स्वाद र ट्रेन्ड फेरिँदै गयो भन्दै प्रेमकथा, एक्सन, कमेडी कथामा विभिन्न मनगढन्ते कथामा फिल्म बन्न थाले । स्टार र सुपरस्टार भन्दै पुरुष पात्रको पछाडि दौडिएर उनीहरुकै वरिपरि घुम्ने कथा निर्माण हुन थाले । यसले पनि नेपाली समाजको आधा हिस्सा ओगटेको महिलाका विषयवस्तु ओझेलमा परेको देखिन्छ ।

निर्देशक शोभित बस्नेतले अहिलेसम्म करिब तीन दर्जन फिल्म निर्देशन गरेका छन् । तर उनले बनाएको महिला प्रधान फिल्म भने चिनो, दुर्गा, बरदान, अग्निपथ गरेर ४ वटामात्र छन् ।

त्यस्तै अभिनेत्री रेखा थापाले कयौँ फिल्ममा अभिनय गरेकी छन् । उनले निर्माण र अभिनय गरेको महिला प्रधान फिल्म भने काली, मालिका, रामप्यारी लगायत हुन् । निर्देशक नव नेपालले पनि करिब आधा दर्जन फिल्म निर्देशन गरेका छन् । उनको निर्देशन रहेको महिला प्रधान फिल्म भने एउटा ‘लज्जा’ मात्र हो ।

यस्तै निर्देशक दीपेन्द्र के खनालको फिल्म पनि करिब दर्जनको संख्यामा पुगिसक्यो । तर उनले बनाएको महिला प्रधान फिल्म भने ‘आमा’ र ‘चिसो मान्छे’ मात्र हो । निर्देशक लक्ष्मण सुवेदीले तीन फिल्म निर्देशन गरेका छन् । तीमध्ये ‘सतीदेवी’ मात्र महिला प्रधान हो ।

यी त उदाहरण हुन्, नेपालमा निर्माण हुने फिल्म संख्याको तुलनामा महिला प्रधान फिल्म निकै कम छ ।

निर्देशक शोभित बस्नेत चाहना हुँदाहुँदै पनि व्यावसायिक कारणले महिला प्रधान फिल्म बनाउन नसकिएको बताउँछन् । महिला प्रधान फिल्म दर्शककै प्राथमिकतामा नपर्ने भएकाले पनि संख्यामा कमी आएको उनको धारणा छ ।

collage

‘सबैले व्यवसायका लागि फिल्म निर्माण गर्ने हो । त्यसमा  फोकस हुँदा नारी प्रधान फिल्म कम बन्यो’, बस्नेतले भने, ‘नारी प्रधान फिल्म बनाउँछु भन्दा नायकको रोल कम हुने हो कि, वितरकले फिल्म नलिने हो कि लगायत अनेक तनाव सामना गर्नुपर्छ ।’

महिला कलाकारलाई मुख्य भूमिकामा लिएर फिल्म बनाउँछु भन्नेभन्दा पनि पुरुष स्टारको पछि लाग्ने धेरै रहेको बस्नेतले सुनाए । ‘व्यावसायिक डर र त्रासले गर्दा महिला प्रधान फिल्म नबनेको हो,’ उनले भने । फिल्म ‘दुर्गा’ बनाउन आफूले जोखिम उठाएको अनुभव पनि उनले सुनाए ।

‘हिरोको वरिपरि घुम्ने हिरोइनलाई मुख्य भूमिकामा लिएर फिल्म बनाएर हुन्छ ? भनेर आफूलाई त्यतिबेला गिज्याइएको पनि उनको भनाइ छ । बस्नेतले अगाडि थपे ‘नारी प्रधान फिल्म कहाँ चल्छ र भनेर हलले पनि पहिले डेट दिएन । पछि फिल्म चल्यो । त्यो आफ्नो कुरो हो ।’

निर्देशक लक्ष्मण सुवेदी पनि व्यावसायिकताको पछि लाग्दा र काल्पनिक कथामा फिल्म बनाउँदा महिला प्रधान फिल्म बन्न नसकेको बताउँछन् ।

‘अहिले काल्पनिक कथामा धेरै फिल्म बन्न थालेका छन् । वास्तविक कथामा फिल्म बनाउँदा धेरै रिसर्च गर्नुपर्छ’, सुवेदीले भने, ‘महिला प्रधान फिल्म बनाउन रिसर्च धेरै गर्नुपर्छ । मार्केटमा रिस्क छ ।’

केही मेकरले जोखिम उठाएरै महिला प्रधान फिल्म बनाइरहेको उनले सुनाए । उनले भने, ‘मेरो प्रदर्शनको तयारीमा रहेको फिल्म सतीदेवी पनि महिला प्रधान फिल्म हो । अब द्रौपती नाम गरेको फिल्म बनाउँदैछु । त्यो पनि महिला प्रधान हुनेछ ।’

आफूलाई समाजको विषयमा फिल्म बनाउन मनपर्ने भएकाले पनि ‘सतीदेवी’ जन्मिएको उनले सुनाए ।

निर्देशकद्वय सुवेदी र बस्नेतको भन्दा फरक धारणा राख्छिन् निर्देशक दीपाश्री निरौला । उनी महिला मुख्य भूमिका रहेको फिल्म थोरै भए पनि महिलाप्रधान फिल्ममा कमी नभएको बताउँछिन् । ‘बलिउडमा जसरी मुख्य पात्रमा नारी रहेको फिल्म बनिरहेको छ, त्यसरी नेपालमा फिल्म नबनेको हो’, निरौलाले भनिन्, ‘महिला प्रधान फिल्म भने बनिरहेको छ ।’

पुरुषको मुख्य भूमिका रहे पनि नारीका विषयवस्तु भएका सबै फिल्म महिला प्रधान भएको उनी बताउँछिन् । उनले भनिन्, ‘जस्तो बन्नुपर्ने हो, त्यो बन्न नसकेको होला । महिलाकै वकालत गर्ने नहोला, तर बनेका छन् ।’

उनले महिलाको विषयमा मुख्य भूमिकामै राखेर आफूलाई फिल्म बनाउन मन भए पनि जोखिम हुने कारणले अलमल परिरहेको सुनाउँछिन् ।

महिलाको कथा हरायो

फिल्म श्रब्यदृश्य मार्फत कथा भन्ने एउटा माध्यम हो । कतिपयले यसलाई एउटा ‘उत्कृष्ट दृश्य साहित्य’समेत भन्छन् । फिल्म निर्माणको पहिलो प्रक्रिया कथाबाट सुरु हुन्छ । जब कुनै कथामा निर्देशकलाई भन्न मन लाग्छ, त्यसले फिल्मको रुप लिन्छ । त्यसैले फिल्म महिला प्रधान हुनुमा कथा र कथाकारको पनि महत्त्वपूर्ण भूमिका हुने फिल्मकर्मी बताउँछन् ।

पछिल्लो समय महिलाको विषयवस्तु फिल्मको कथाबाट हट्दै गएको, प्राथमिकतामा नपरेका कारण पनि महिला प्रधान फिल्म कम हँुदै गएको अभिनेत्री करिश्मा मानन्धर बताउँछिन् ।

 

‘फिल्म निर्माणको क्रममा पहिले पात्र चयन गर्दा, कथा पटकथा लेखनमा महिलाको समस्या के छ भनेर केन्द्रमा राखिन्थ्यो,’ उनले भनिन्, ‘कन्यादान, सिन्दुर, आमा लगायतमा नारी प्रधान फिल्म त्यसरी जन्मिएको हो ।’

अहिले विभिन्न देशबाट प्रभावित कथा भित्रिए, कमर्सियलको नाममा गीतसंगीत, फाइट लगायतका मसला हालेर फिल्म बन्न थाले । यसमा नारीको कथाभन्दा पनि युुवाको आक्रोश बढी प्रदर्शित हुन थालेको मानन्धरको भनाइ छ ।

पछिल्लो समय नारीको संघर्ष, बदलाको कथामा फिल्म बने पनि त्यसले व्यावसायिक धार समात्न नसक्दा फिल्ममा कमी देखिएको उनले बताइन् ।

‘फिल्म समाजको ऐना हो । समाजमा जे चलेको छ, फिल्ममा त्यही कथा आउने हो’, उनले भनिन्, ‘समाजमा अहिले महिलाको कथा देख्न छोडियो ।’

समाजको विभिन्न क्षेत्रमा महिला सक्रिय रहे पनि त्यसतर्फ लेखकको नजर नपरेसम्म फिल्म नबन्ने उनले प्रस्ट पारिन् ।

निर्देशक नवल नेपाल नेपाली फिल्मको कथामा महिलाको विषय प्राथमिकतामा नपर्नुको अर्को कारण सचेतना पनि रहेको बताउँछन् ।

‘फिल्म निर्माणमा एउटा यस्तो युग थियो, त्यो समय महिलालाई सेन्टर पात्रको रुपमा लिएर फिल्म बन्थ्यो । श्रीमान्, समाज वा समाजका अन्य निकायबाट महिला प्रताडित विषय फिल्मको कथा बन्थ्यो’, उनले भने ‘परिवर्तित समय अनुसार बिस्तारै ती कुरो बिक्री गर्ने विषय होइन रहेछ भनेर बुझ्दै आइयो ।’

पछिल्लो समय कथाकारले आफ्नो वरपरका नारीको कथा नदेखेर अन्य विषयतिर ध्यान दिँदा महिला प्रधान फिल्ममा कमी आएको निर्देशक नेपालको धारणा छ ।

‘म नारी प्रधान फिल्म बनाउन रुचि राख्ने मानिस हो । तर लगानी सुरक्षित, फिल्मको व्यवसाय लगायत विभिन्न कुराले नारी प्रधान फिल्म बनाउन सक्दिनँ,’ नेपालले अगाडि थपे, ‘अहिले हाम्रो वरपरमा रहेका नारीहरुको जुन कथा हो, त्यो कथा नदेखेर अरु विषयमा ध्यान दिन थालियो ।’

नारीको समस्या, संघर्ष लगायतका विषयमा गहिराइमा पुगेर बाहिर नआउँदा पनि समस्या देखिएको नेपालको बुझाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप