शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दोहामा नेपाल दिवस समारोह

शनिबार, २६ फागुन २०८०, २१ : १५
शनिबार, २६ फागुन २०८०

काठमाडौँ । कतारको दोहास्थित नेपाली राजदूतावासले यही मार्च ८ तारिखका दिन नेपाल दिवस (नेपाल डे) समारोह सम्पन्न गरेको छ । हरित मरुभूमि र सुन्दर वातावरणको लक्ष्य राखी वागवानी उत्पादनको लागि विश्वमै पहिलोपल्ट कतार सरकारले सुरु गरेको दोहा एक्स्पो २०२३ को समापन हुने समयमा नेपाल दिवस सम्पन्न गरिएको हो । 

करिब पाँच सय अतिथिको उपस्थितिमा सम्पन्न एक्स्पोमा कतारस्थित विभिन्न देशका राजदूत तथा एक्स्पोमा पेभिलियन सञ्चालन गर्ने अधिकांश मुलुकका कमिश्नर जनरलहरूको विशिष्ट सहभागिता थियो । समारोह उद्घाटन गर्दै दोहा एक्स्पोका डेपुटी सेक्रेटरी जनरल मोहमद अल सादले अत्यन्त सुन्दर र प्राकृतिक रूपले धनी मुलुक नेपालले कतार सरकारले आयोजना गरेको एक्स्पोमा सक्रिय सहभागिता जनाएकोमा प्रशंसा गरे ।

कतारका लागि नेपाली राजदूत डा.नरेशविक्रम ढकालले नेपालको भौगोलिकता, प्राकृतिक सम्पदा र लगानीको अवस्था जानकारी गराउँदै उक्त अवसरका लागि यो समारोह महत्वपूर्ण हुने बताए । नेपाली सांस्कृतिक कार्यक्रम, नृत्य, झाँकीहरू प्रस्तुत गर्दै परेड गरिएको  छ ।

सो समारोहबाट विश्वकै धनी मुलुक र रोजगारीलगायतको सम्भावनाको खानी रहेको कतारमा नेपाल र नेपाली चिनाउन र नेपालको विकासमा कतार सरकारलाई साझेदार गराउन अहम् भूमिका निर्वाह गरेको कार्यक्रमका संयोजक एवं नेपाली पेभिलियनका कमिश्नर जनरल कृष्णकुमार सुवेदीले जानकारी दिए ।

कार्यक्रमबाट कतारलगायत मध्यपूर्वका मुलुकबाट नेपालमा लगानीको सम्भावना बढ्ने अपेक्षा गरिएको नेपाली व्यवसायी सङ्घ कतारका अध्यक्ष महेन्द्र चम्लगाईंले बताए । गैरआवासीय नेपाली सङ्घ कतारका अध्यक्ष रमेश भट्टले कतारमा रहेको नेपाली समुदायको विशिष्ट उपस्थिति र सांस्कृतिक कार्यक्रमले नेपालीको पहिचान बढाउने काम गरेको बताए । 

गत अक्टोबर २ मा कतारका अमिरले विशेष समारोहबीच समुद्घाटन गरेको यस वागवानीसम्बन्धी दोहा एक्स्पो २०२३ मा विश्वका ८० मुलुक र एक सयभन्दा बढी व्यावसायिक संस्थाहरू सहभागी छन् । एक्स्पोमा नेपाली व्यवसायी सङ्घ कतार, गैरआवासीय नेपाली सङ्घ कतार र नेपाल निर्यात व्यवसायी महासङ्घको सहयोगमा नेपाली राजदूतावासले पनि सहभागिता जनाए । 

एक्स्पोको सञ्चालनका लागि नेपालका तर्फबाट कृष्णकुमार सुवेदी कमिश्नर जनरल, कृष्ण पन्थी डेपुटी कमिश्नर जनरलसहित महेन्द्र चम्लगाईं, रमेश भट्ट, सुनीलकुमार घिमिरे, शङ्कर न्यौपाने, भिजन घिमिरेलगायतको एक उच्चस्तरीय समिति बनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप