बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

‘पाँचौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आयोजना हुने

बिहीबार, ०१ चैत २०८०, ११ : ०९
बिहीबार, ०१ चैत २०८०

काठमाडौँ । ‘पाँचौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आयोजना हुने भएको छ । आयोजक नेपाल सांस्कृतिक तथा चलचित्र केन्द्रले बुधवार साँझ राजधानीमा एक कार्यक्रम गर्दै महोत्सवको विभिन्न पक्षको जानकारी दियो ।

मानव अधिकार, दिगो विकास र सांस्कृतिक सृजनशीलतालाई चलचित्र मार्फत मनाउने उद्देश्य यस पटकको महोत्सवको छ । पाँचौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चलचित्रको कलामा मात्र सीमित नभई मानव अधिकार र दिगो विकास जस्ता महत्त्वपूर्ण मुद्दाहरूमा संवाद समेत हुनेछ । मानव अधिकार, दिगो विकास र सांस्कृतिक सृजनशीलताका विषयवस्तुलाई प्रवर्द्धन गर्दै विश्वभरका विविध चलचित्रको छनोटका साथ पाँचौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले दर्शकलाई मोहित पार्ने तयारी रहेको आयोजक संस्थाका अध्यक्ष तथा कार्यक्रम संयोजक सन्तोष सुवेदीले बताए ।

आगामी मार्च २९ देखि ३१ सम्म आयोजना हुने महोत्सव चलचित्र विकास बोर्ड र पर्यटन बोर्डमा चल्नेछ । यस वर्षको महोत्सवले सांस्कृतिक आदान प्रदान र समझदारीको माध्यमको रूपमा सिनेमाको विश्वव्यापी अपिललाई जोड दिँदै ३७ विभिन्न देशका ३७ विभिन्न भाषाहरूको प्रतिनिधित्व गर्ने ६० फिल्म सहभागी छन् ।

मार्च २९गते उद्घाटन सहित सुरु हुने महोत्सव चलचित्र प्रदर्शन, प्यानल छलफल, मास्टर क्लास समेत आयोजना हुनेछ । सर्वसाधारणका लागि निःशुल्क प्रवेशको ब्यवस्था गरिएको महोत्सवले सबै क्षेत्रका मानिसलाई  चलचित्र प्रति आकर्षण गर्ने विश्वास लिएको छ । महोत्सवमा उत्कृष्ट फिल्म, फिल्मकर्मी पुरस्कृत समेत हुनेछन् । 

कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, गीतकार शान्ति प्रिय, चलचित्र निर्देशक माधव राज खरेल लगायतले महोत्सवको महत्वका विषयमा धारणा राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप