सुदूरपश्चिम प्रदेशलाई हराउँदै फाइनलमा पुग्यो आर्मी
काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मी क्लब विराटनगरमा जारी ‘कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ को फाइनलमा पुगेको छ । आर्मी क्लब शुक्रबार खेलिएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम प्रदेशले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ६३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको आर्मी क्लबले भने १९.१ ओभरमा पाँच विकेट गुमाएर विजय लक्ष्य पुरा गर्यो । आर्मी क्लबको जितमा बसिर अहमदले अर्धशतकीय योगदान गरे । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका उनले अविजित ५० रन बनाए । आक्रामक पाली खेलेका बसिरले केवल २८ बलको सामना गरी दुई छक्का र पाँच चौका पनि हिर्काए ।
आर्मी क्लबका लागि ओपनर ब्याट्सम्यान सन्तोष कार्कीले पनि ३१ रनको योगदान गरे । विकेटकिपर ब्याट्सम्यान सन्तोषले २९ बलमा पाँच चौका पनि प्रहार गरे । अर्का ओपनर इमरान शेख भने शून्य रनमै पेभेलियन फर्किएका थिए । तेस्रो नम्बरका ब्याट्सम्यान तृतराज दासले पनि टोलीको खातामा ३८ रन थपे । उनले ३२ बलमा सात चौका हिर्काएका थिए । सन्दीप रजाली १६ बलमा एक छक्काको मद्दतले १७ रन बनाउँदै आउट भए । तुल थापा १० रनमा अविजित रहे ।
आर्मी क्लबले अतिरिक्त रुपमा १३ रन पाएको थियो । सुदूरपश्चिम प्रदेशका बलर दीपक बोहराले दुई विकेट लिए । उनले चार ओभरमा ३३ रन खर्चिएका थिए । नरेन साउद र हेमन्त धामीले पनि एक–एक विकेट हात पारे ।
त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशका लागि तल्लो क्रमका ब्याट्सम्यान नारायण जोशीले अर्धशतकीय पाली खेलेका थिए । आठौँ नम्बरमा क्रिज समाल्न आएका नारायणले ५९ रन बनाए । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल २२ बलको सामना गरी ६ छक्का र चार चौका पनि हिर्काए ।
सुदूरपश्चिमको खातामा किरण ठगुन्नाले पनि ४३ रन थपे । छैटौँ नम्बरमा क्रिज समाल्न आएका किरणले ३२ बलको सामना गरी तीन छक्का र तीन चौका हिर्काए । नरेन भट्टले १५, दीपक बोहराले १४ र खड्क बोहराले ११ रन जोडे ।
सुदूरपश्चिमका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । सुदूरपश्चिम प्रदेशले अतिरिक्त रुपमा केवल दुई रन पाएको थियो । आर्मी क्लबका बलर बसिर अहमदले चार विकेट लिए । उनले चार ओभरमा २३ रन खर्चिए । नितेश पटेलले पनि तीन विकेट हात पारे । उनले चार ओभरमा ३३ रन खर्चिए । सुमित श्रेष्ठले एक विकेट लिए ।
आर्मी क्लब समूह ‘ए’ को विजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । समूहगत चरणमा आर्मीले आफूले खेलेको चारवटै खेलमा जित हासिल गरेको थियो । समूहगत चरणमा आफूले खेलेको सबै खेल जित्ने आर्मी एकमात्र टोली पनि हो । उक्त समूहबाट कर्णाली प्रदेश उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको छ ।
यसैगरी समूह ‘बी’ बाट लुम्बिनी विजेता र सुदूरपश्चिम प्रदेश उपविजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेका हुन् । समूहगत चरणमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशले तीन–तीन खेलमा जित हात पारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका ८ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने
-
राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौँ सडक पूर्ण बन्द
-
तथ्यांकमा अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको अभेद्य रक्षापङ्क्ति
-
म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता
-
श्रीलङ्काले व्यावसायिक शिक्षालाई प्राथमिकता दिने
-
यमालसँगको ऐतिहासिक तस्बिरबारे के भने मेस्सीले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण