सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

माइली राईलाई नुवाकोट–काठमाडौँ पत्रकार समाजको पहलमा तीन लाख रुपैयाँ सहयोग

आइतबार, ०४ चैत २०८०, १९ : ०५
आइतबार, ०४ चैत २०८०

काठमाडौँ ।  नुवाकोट–काठमाडौँ पत्रकार समाजको पहलमा नुवाकोटकी माइली राईलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । 
माइलीका श्रीमान् पाण्डवको मृत्यु भएपछि पैसा नभएर आर्यघाटसम्म रिक्सामा शव लगिएको हृदयविदारक घटना सार्वजनिक भएसँगै समाजको सक्रियतामा सङ्कलित ३ लाख १०५ रुपैयाँ आइतबार  उपलब्ध गराइएको हो ।
राईको पीडामा साथ दिँदै समाजको पहलमा नेपाल र  टेक्सास लगायत अमेरिकाको विभिन्न राज्यमा बस्दै आएका नेपालीहरूबाट सो  सहयोग जुटेको थियो । 

जुन रकम आइतबार पशुपतिको क्रियापुत्री भवनको १०७ नम्बर कोठामा पुगेर नुवाकोट–काठमाडौँ पत्रकार समाजका संयोजक रमेश जमकट्टेल र अमेरिका निवासी नुवाकोटका देवेन्द्र गजुरेलले माइलीलाई संयुक्त रूपमा हस्तान्तरण गरे । 

रकम हस्तान्तरण गर्दै  संयोजक जमकट्टेलले दुखद् घडीमा पत्रकारको समूह र प्रवासमा रहेका नेपालीहरूले उपलब्ध गराएको सानो सहयोगले शोकमा रहेका परिवारलाई केही राहत मिल्ने विश्वास व्यक्त गरे । 

त्यस्तै गजुरेलले जन्मभूमिमा परेको आपत् विपदमा प्रवासमा रहेका नेपालीहरूले निरन्तर सहयोग गर्दै आइरहेको र भोलिका दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 
सहयोग रकम ग्रहण गर्दै माइली राईले आपत् परेका बेला सबै नेपालीहरू एकजुट भएको र प्राप्त सहयोगले आफूलाई परिवार चलाउन राहत मिल्ने बताइन् । 

सहयोग हस्तान्तरणका क्रममा समाजका सहसंयोजक नवराज घिमिरे, सदस्य प्रकाश पुडासैनी तथा अग्रज पत्रकार श्याम रिमाललगायतको उपस्थिति थियो । 

यसैबिच हालसम्म माइलीको परिवारलाई विभिन्न व्यक्तित्वहरूबाट करिब १८ लाख हाराहारीमा आर्थिक सहयोगसहित खाद्यान्न र अन्य सामग्री समेत जुटेको बताइएको छ । 

गत फागुन २६ गते रिक्सा चलाउने काम गर्ने पाण्डव राईको निधन भएको थियो भने उनको परिवार काठमाडौँको खुसिबुुमा बस्दै आइरहेको थियो । पाण्डवको मृत्यु भएपछि आर्यघाटसम्म शव लैजाने पैसा समेत नभएपछि परिवार र नातेदारको केही व्यक्तिहरूले रिक्सामा हालेर शवलाई पशुपति आर्यघाटमा पुर्‍याएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप