सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशी बन्दीगृह र अस्पतालमा उपचाररत श्रमिकको तथ्याङ्क उपलब्ध गराउन श्रम मन्त्रीको निर्देशन

सोमबार, ०५ चैत २०८०, २० : ४२
सोमबार, ०५ चैत २०८०

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुकको बन्दी गृह तथा अस्पतालमा उपचाररत रहेका नेपाली श्रमिकको अवस्थाको बारेमा तत्काल जानकारी गराउन निर्देशन दिएका छन् । गन्तव्य मुलुकमा रोकिएका श्रमिकको शवको पनि तथ्याङ्क उपलब्ध गराउन वैदेशिक रोजगार बोर्डलाई मन्त्री अर्यालले निर्देशन दिएका हुन् ।

सोमबार वैदेशिक रोजगार बोर्डसँगको छलफलमा मन्त्री अर्यालले वैदेशिक रोजगारीमा क्रममा रहेका श्रमिकको अवस्थाको विषयमा सरकार जानकार हुनुपर्ने बताउँदै श्रमिक बन्दी गृहमा पर्नुको कारण र समस्या समाधानका विषयमा समेत जानकारी गराउन निर्देशन दिएका हुन् । सबै गन्तव्य मुलुकबाट तथ्याङ्क सङ्कलन उद्धार तथा समस्या समाधानको योजना बनाइने बताए ।

‘विदेशी हस्पिटलमा रहेका श्रमिकका स्थानीय अस्पतालसँग सहकार्य गरी नेपालमा नै उपचार गरिने व्यवस्था मिलाइनेछ । बन्दी गृहमा रहेका श्रमिकलाई कानुनी उपचारको लागि आवश्यक सहयोग गर्नेछौ,’ मन्त्री अर्यालले भने ।

विदेशमा अड्किएका शवलाई पनि जतिसक्दो छिटो नेपाल झिकाइने व्यवस्था गरिने उनले बताए । बोर्डका कर्मचारीसँगको छलफलमा मन्त्री अर्यालले विदेशमा दुर्घटनामा परेका श्रमिकले सम्बन्धित मुलुकबाट पाउने बिमाको सुविधाको विषयमा पनि पहल गर्न बोर्डलाई निर्देशन दिए ।

‘विदेशी मुलुकले आप्रवासी श्रमिकलाई बिमाको सुविधा प्रदान गरेका हुन्छन् । तर, सबै नेपाली श्रमिकलाई यस विषयमा जानकारी नहुन सक्छ । त्यसैले धेरै श्रमिक यो सुविधाबाट वञ्चित भएको सुनेको छु । यस्तो सुविधाबाट नेपाली श्रमिकले पाउने अर्बो रुपैयाँ बाँकी रहेको जानकारी पाएको छु,’ उनले भने ।

नेपाली श्रमिकले पाउने यस्तो सुविधाको लागि पहल गर्न उनले बोर्डलाई निर्देशन दिएका हुन् । छलफलमा श्रमसचिव केवलप्रसाद भण्डारीले वैदेशिक रोजगार बोर्डलाई श्रमिकको कल्याणकारी कार्यमा संवेदनशील हुन समेत आग्रह गरे ।

त्यस्तै, सोमबार मन्त्री अर्यालले नेपालका श्रम गन्तव्य मुलुक मलेसिया, कतार, साउदी अरब, युएई, बहराइन, ओमान, दक्षिण कोरिया र कुवेतका श्रम सहचारी तथा श्रम काउन्सलरसँग श्रमिकको समस्याको विषयमा भर्चुअल छलफल गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप