आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
आईपीएल काउन्टडाउन

१७ वर्ष लामो आईपीएलको इतिहासमा अस्ट्रेलियन खेलाडीको दबदबा

बिहीबार, ०८ चैत २०८०, १३ : २९
बिहीबार, ०८ चैत २०८०

काठमाडौँ । विश्व चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमिय लिग (आईपीएल) को पहिलो संस्करण सन् २००८ मा आयोजना भएको थियो । त्यसयता आईपीएलको १६ वटा संस्करण सम्पन्न भइसकेको छ । 

पहिलो संस्करणदेखि नै आईपीएलमा विश्वभरका प्रभावशाली खेलाडीहरुले आफ्नो प्रतिभा देखाउँदै आएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलबाट टेस्ट मान्यता पाएका राष्ट्रसँगै एसोसिएट्स सदस्य राष्ट्रका खेलाडीले समेत आईपीएलको हरेक संस्करणमा सहभागिता जनाउने गरेका छन् । 

shane-ipl

तर, विदेशी खेलाडीका रुपमा आईपीएलको हरेक संस्करणमा सबैभन्दा बढी प्रभाव जमाउने खेलाडी भने अस्ट्रेलियाका छन् । सन् २००८ मा राजस्थान रोयल्सले आईपीएलको पहिलो संस्करणको उपाधि चुम्दा टोलीको कप्तान थिए, शेन वार्न । 

शेन वार्न आफ्नो समयका प्रभावशाली खेलाडी हुन् । त्यतिबेला अर्का चर्चित अस्ट्रेलियन खेलाडी शेन वाट्सन पनि राजस्थान रोयल्समै आबद्ध थिए । आईपीएलको पहिलो संस्करणमा शेन वाट्सन त प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । 

THsgKa1E

यसका अतिरिक्त अर्का अस्ट्रेलियन खेलाडी सान मार्स आईपीएलको पहिलो संस्करणमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान पनि बनेका थिए । उनी त्यतिबेला किङ्स–११ पञ्जाबमा आबद्ध थिए । उनले प्रतियोगिता अवधिभरमा ११ पाली खेल्दै कुल ६ सय १६ रन बनाएका थिए । 

सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा शेन वाट्सन पनि चौथो नम्बरमा थिए । वाट्सनले कुल चार सय ७२ रन बनाएका थिए । सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा शेन वार्न (१८ विकेट) तेस्रो र शेन वाट्सन (१७ विकेट) चौथो स्थानमा रहेका थिए । 

adam

यसैगरी सन् २००९ मा सम्पन्न आईपीएलको दोस्रो संस्करणको उपाधि डेक्कन चार्जसले हात पारेको थियो । त्यतिबेला डेक्कन चार्जसका कप्तान एड्म गिलक्रिस्ट थिए । गिलक्रिस्ट पनि आफ्नो समयका प्रभावशाली अस्ट्रेलियन खेलाडी हुन् । 

दोस्रो संस्करणमा गिलक्रिस्ट प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । अर्का अस्ट्रेलियन खेलाडी म्याथ्यु ह्याडेन पनि प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए । त्यतिबेला ह्याडेन चेन्नई सुपर किङ्सबाट खेल्थे । 

l197_18261586780135

ह्याडेनले प्रतियोगिताको १२ पालीमा कुल पाँच सय ७२ रन बनाएका थिए । सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा गिलक्रिस्ट दोस्रो स्थानमा थिए । उनले प्रतियोगितामा १६ पाली खेल्दै कुल चार सय ९५ रन बनाएका थिए । 

यसैगरी सन् २०११ मा सम्पन्न आईपीएलको चौथो संस्करणमा पनि सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा अस्ट्रेलियाका दुई ब्याट्सम्यान माथिल्लो पाँचभित्र परेका थिए । अस्ट्रेलियाका सान मार्स पाँच सय चार र माइकल हसी चार सय ९२ रन बनाउँदै क्रमशः चौथो र पाँचौँ स्थानमा थिए । त्यतिबेला मार्स किङ्स–११ पञ्जाब र हसी चेन्नई सुपर किङ्सबाट खेल्थे । प्रतियोगिताको उपाधि पनि चेन्नईले नै जितेको थियो । 

hussey

यसैगरी सन् २०१२ को आईपीएलमा चेन्नई सुपर किङ्सलाई फाइनलसम्म पुर्‍याउन पनि माइकल हसीले महत्त्वपूर्ण योगदान गरेका थिए । उनले फाइनलमा पनि ५४ रन बनाएका थिए । यद्दपि, फाइनलमा उनको टोली कोलकाता नाइट राइडर्ससँग पराजित भएको थियो । 

यसैगरी सन् २०१३ मा सम्पन्न आईपीएलमा पनि अस्ट्रेलियाका दुई खेलाडी शेन वाट्सन र माइकल हसीले कमाल गरेका थिए । चेन्नईलाई फाइनलमा पुर्‍याउन हसीको योगदान महत्त्वपूर्ण थियो । राजस्थान रोयल्सका वाट्सन प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । 

आईपीएलको उक्त संस्करणमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा हसी पहिलो र वाट्सन पाँचौँ स्थानमा रहेका थिए । हसीले १७ पालीमा कुल सात सय ३३ रन बनाएका थिए । वाट्सनले भने १६ पालीमा पाँच सय ४३ रन बनाएका थिए । 

213423.3

यसका अतिरिक्त आईपीएलको उक्त संस्करणमा सर्वाधिक विकेट लिने बलरको सूचिमा पनि अस्ट्रेलियाका जेम्स फल्कनर दोस्रो र मिचेल जोन्सन चौथो स्थानमा थिए । राजस्थान रोयल्सका फल्कनरले २८ र मुम्बई इन्डियन्सका जोन्सनले २४ विकेट लिएका थिए ।

यसैगरी सन् २०१४ मा सम्पन्न आईपीएलमा पनि किङ्स–११ पञ्जाबलाई फाइनलसम्म पुर्‍याउन ग्लेन म्याक्सवेलको भूमिका महत्त्वपूर्ण रहेको थियो । त्यो संस्करणमा उनी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी पनि घोषित भएका थिए ।

आईपीएलको त्यो संस्करणमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा अस्ट्रेलियाका म्याक्सवेल तेस्रो र डेभिड वार्नर चौथो स्थानमा थिए । म्याक्सवेलले पाँच सय ५२ र सनराइजर्स हैदराबादका वार्नरले कुल पाँच सय २८ रन बनाएका थिए । 

David-Warner-

यसैगरी सन् २०१५ को आईपीएलमा सनराइजर्स हैदराबादका डेभिड वार्नर सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए । उनले १४ पालीमा कुल पाँच सय ६२ रन बनाएका थिए । सर्वाधिक विकेट लिने बलरको सूचिमा पनि अस्ट्रेलियाका मिचेल स्टार्क पाँचौँ स्थानमा थिए । रोयल च्यालेन्जर्स बैंगलोरका स्टार्कले २० विकेट लिएका थिए । 

यसैगरी सन् २०१६ को आईपीएलमा पनि सनराइजर्स हैदराबादलाई उपाधि चुमाउन डेभिड वार्नरले कप्तानको भूमिकामा महत्त्वपूर्ण योगदान गरेका थिए । उनले रोयल च्यालेन्जर्स बैंगलोरविरुद्धको फाइनलमा समेत ६९ रन बनाएका थिए । 

आईपीएलको त्यो संस्करणमा वार्नर सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा दोस्रो स्थानमा रहेका थिए । उनले १७ पालीमा कुल आठ सय ४८ रन बनाएका थिए । आईपीएलको त्यो संस्करणमा वार्नर सर्वोत्कृष्ट सट प्रहार गर्ने खेलाडी पनि घोषित भएका थिए । 

यसैगरी सन् २०१७ को आईपीएलमा मुम्बई इन्डियन्सलाई फाइनलमा पुर्‍याउन अस्ट्रेलियाका मिचेल जोन्सन तथा राइजिङ पुणे सुपरजाइन्टलाई फाइनलमा पुर्‍याउन कप्तान स्टिभन स्मिथ र डन क्रिस्टिनको भूमिका महत्त्वपूर्ण रहेको थियो । स्मिथले त फाइनलमा ५१ रन पनि बनाएका थिए । यद्यपि, त्यो आईपीएलको फाइनलमा मुम्बई इन्डियन्स एक रनले विजयी भएको थियो । 

BJkxtXKCIAAMhqn

आईपीएलको त्यो संस्करणमा सनराइजर्स हैदराबादका अस्ट्रेलियन खेलाडी डेभिड वार्नर सर्वाधिक रन बटुल्ने खेलाडी बनेका थिए । उनले १४ पालीमा कुल ६ सय ४१ रन बनाएका थिए । सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा स्टिभन स्मिथ चौथो स्थानमा थिए । उनले १५ पालीमा कुल चार सय ७२ रन बनाएका थिए । त्यो आईपीएलमा पञ्जाबका अस्ट्रेलियन खेलाडी ग्लेन म्याक्सवेल सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी पनि बनेका थिए । 

यसैगरी सन् २०१८ को आईपीएलमा अस्ट्रेलियाका एन्ड्र्यू टाई सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए । उनले किङ्स–११ पञ्जाबबाट खेलेका थिए । उनले प्रतियोगिता अवधिभरमा कुल २४ विकेट लिएका थिए । सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा अस्ट्रेलियाका शेन वाट्सन पाँचौँ स्थानमा थिए । उनले कुल पाँच सय ५५ रन बनाएका थिए । 

यसैगरी सन् २०१९ को आईपीएलमा सनराइजर्स हैदराबादका अस्ट्रेलियन खेलाडी डेभिड वार्नर सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए । उनले १२ पालीमा कुल ६ सय ९२ रन बनाएका थिए । यसका अतिरिक्त चेन्नई सुपर किङ्सलाई फाइनलमा पुर्‍याउन अर्का अस्ट्रेलियन खेलाडी शेन वाट्सनले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले फाइनलमा पनि ८० रन बनाएका थिए । यद्यपि, फाइनलमा उनको टोली मुम्बई इन्डियन्ससँग एक रनले पराजित भएको थियो । 

यसैगरी सन् २०२० को आईपीएलमा अस्ट्रेलियाका डेभिड वार्नरले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनी सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा तेस्रो स्थानमा थिए । उनले १६ पालीमा कुल पाँच सय ४८ रन बनाएका थिए ।  

maxwell-runs-in-ipl-2023

यसैगरी सन् २०२१ को आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलोरका ग्लेन म्याक्सवेलले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनी सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा पाँचौँ स्थानमा रहेका थिए । उनले १५ पालीमा कुल पाँच सय १३ रन बनाएका थिए । यसका अतिरिक्त चेन्नई सुपर किङ्सलाई उपाधि दिलाउन जस हेजलउडको योगदान पनि महत्त्वपूर्ण रहेको थियो । उनले फाइनलमा पनि दुई विकेट लिएका थिए । 

यसै महिना सुरु हुने आईपीएलको १७औँ संस्करणमा पनि अस्ट्रेलियन खेलाडीको दबदबा रहेको छ । १७औँ संस्करणमा सहभागी १० मध्ये दुई टोलीले मात्र विदेशी खेलाडीलाई कप्तानको जिम्मेवारी दिएका छन् । यसरी कप्तानको भूमिका पाउने भाग्यमानी एक खेलाडी अस्ट्रेलियाका प्याट कमिन्स पनि हुन् । उनी सनराइजर्स हैदराबादका कप्तान हुन् । अर्का विदेशी कप्तान दक्षिण अफ्रिकाका फाफ डु प्लेसिस हुन् । उनी रायल च्यालेन्जर्स बैंगलोरका कप्तान हुन् । 

यसका अतिरिक्त आईपीएलको १७औँ संस्करणमा अस्ट्रेलियाका तीनजना पूर्वक्रिकेटरले प्रमुख प्रशिक्षकको भूमिमा पनि पाएका छन् । रिकी पोन्टिङ दिल्ली क्यापिटल्सका प्रमुख प्रशिक्षक हुन् । अस्ट्रेलियाकै जस्टिन लेङ्गर लखनउ सुपर जाइन्ट्सका प्रमुख प्रशिक्षक हुन् । अस्ट्रेलियाका ट्रेभर बाइलिस भने पञ्जाब किङ्सका प्रमुख प्रशिक्षक हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप