शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

खानेपानी र सिँचाइको विद्युत् ट्रान्सफर्मर चोरको निसानामा

मङ्गलबार, १३ चैत २०८०, ०८ : २४
मङ्गलबार, १३ चैत २०८०

रौतहट । रौतहट स्थित खानेपानी र सिँचाइ प्रयोजनको लागि प्रयोग हुने विद्युत्को ट्रान्सफर्मर चोर समूहको निसानामा परेको छ। पछिल्लो समय जिल्लाको १८ स्थानीय तहको विभिन्न स्थानमा राखिएको दर्जनौँ विद्युत् ट्रान्सफर्मर खोलेर चोर समूहले लागिसकेका छन्। 

विद्युत् ट्रान्सफर्मर चोरीबाट एकातर्फ राज्यको करोडौँको क्षति भएको छ भने अर्को तर्फ विद्युत् आपूर्ति अभावमा सयौँ परिवार, कारोबार प्रभावित हुने गरेको छ। केही समय अघि इलाका प्रहरी कार्यालय विजयपुर लक्षमिनियाले ट्रान्सफर्मर चोरीमा संलग्न एउटा गिरोह पक्राउ गरेको थियो । चोर गिरोहसँगै ट्रान्सफर्मर भित्रको सामान खरिद गर्ने एकजना कवाड सञ्चालकलाई समेत पक्राउ गरेपछि केही समय केही कमी भएको विद्युत् ट्रान्सफर्मर चोरी पुनः नियन्त्रण बाहिर भएको देखिन्छ।

जिल्लाको दक्षिणी भेग परोहा नगरपालिका– ८ मोतिपुरमा रहेको विद्युतको ट्रान्सफर्मर चोरहरुको समूहले गत ७ गते राती चोरी लागेको छ। चोर समूहले ट्रान्सफर्मरभित्र रहेको तामाको सामग्री खोलेर लागेको अवस्थामा खाली डब्बा भेटिएको  थियो । स्थानीयले ट्रान्सफर्मरभित्र भएको विद्युतको तेल र तामा निकालिएको अवस्थामा डब्बा मात्र भेटिएको बताएको छ। ट्रान्सफर्मर चोरी भएपछि उक्त वडाको विद्युत् सेवा अवरुद्ध भएको छ । त्यस्तै जिल्लाको चन्द्रपुर नगरपालिका– १० बाल्चनपुरमा खानेपानी प्रयोजनको लागि जडान भएको ट्रान्सफर्मर गत चैत ५ गते राति चोरी भएको छ ।

५० केभी पावरको ट्रान्समिटर चोरहरूले विद्युत् पोल बाट तल झारेर त्यसभित्र रहेको तामा निकालेर लगेको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष बलिराम साहले बताएका छन्। त्यस अघि यस आर्थिक वर्षको साउन देखि हालसम्म विभिन्न ६ स्थानमा रहेको विद्युत् ट्रान्सफर्मरको सामान चोरी भएको प्रहरीको तथ्याङ्क रहेको छ।

राजदेवी ७ मुडवलवा स्थित खानेपानीको प्रयोगको लागि जडान भएको २५ केबीको ट्रान्सफर्मर भित्रको सामान चोर समूहले गत कार्तिक २ गते चोरेर लागेका थिए। माधव नारायण ६ माधोपुर स्थित विद्युतको १०० केबीको ट्रान्सफर्मरको सामान गत कार्तिक ११ गते राती चोरेको थियो।

त्यस अघि दुर्गा भगवती ४ स्थित खानेपानीको लागि राखिएको ट्रान्सफर्मरको समान गत माघ २५ गते चोरिएको थियो। त्यस्तै गढीमाई ७ धनहारी स्थित विद्युत् ट्रान्सफर्मर भित्रको सामान चोरी भएको छ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले यस आर्थिक वर्षको ८ महिनामा ७ वटा विद्युत् ट्रान्सफर्मर भित्रको सामान चोरी भएको बताएकी छन्।

८ महिनाभित्र मात्र ७ स्थानमा विद्युत् ट्रान्सफर्मर चोरी भएको तथ्याङ्क भएपनि अझै कैयौं स्थानमा भएको चोरीको घटना बारे प्रहरी कार्यालयमा उजुरी परेको देखिएन।

नेपाल विद्युत् प्राधिकरण मौलापुर शाखाका प्रमुख दिनेश यादवका अनुसार चोर समूहले विद्युत् लाइन काटेर ट्रान्सफर्मर तल झारेर भित्र रहेको तामाको तार, कवाएल चोरेर लग्ने गरेको बताएका छन्। 

चोर समूहले एउटा ५० केबीको ट्रान्सफर्मर बाट २० देखि २५ हजार र १०० केबीको ट्रान्सफर्मर बाट मात्र ३० देखि ३५ हजार बराबरको तामाको तार, कवाएल निकालेर बिक्री गर्ने गरेको प्राधिकरण प्रमुख यादवले जानकारी दिए।

जबकि राम्रो खालको एउटा ५० केबीको ट्रान्सफर्मर खरिद गर्नुपर्दा ४ देखि साढे ४ लाख र १०० केबीको ७ देखि साढे ७ लाखको लागत लाग्ने प्रमुख यादवको भनाई छ।

विद्युत् ट्रान्सफर्मर चोरी नियन्त्रण गर्न प्रहरीले चोरको पक्राउसँगै तामाको तार खरिद गर्ने कवाड व्यवसायीको निगरानी जरुरी देखिन्छ।

रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले विद्युत् ट्रान्सफर्मरको सामान चोरीको घटना नियन्त्रण गर्न प्रहरीले अनुसन्धान गरिरहेको तथा चोर गिरोहको खोजी जारी राखेको बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप