शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बेइजिङमा भेटवार्ता सकेर परराष्ट्रमन्त्री श्रेष्ठ लागे छोङछिङतिर

बुधबार, १४ चैत २०८०, १५ : ५३
बुधबार, १४ चैत २०८०

चीन । चीन भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ राजधानी बेइजिङमा भेटवार्ता र आफ्नो स्वास्थ्य परीक्षण सकेर चीनको अर्को नगरपालिका छोङछिङतिर लागेका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीको निम्तोमा ९ दिने यात्रामा आएका मन्त्री श्रेष्ठ गत सोमबार बेइजिङ पुगेका थिए । नयाँ गठबन्धन सरकारको परराष्ट्रमन्त्री बनेपछि श्रेष्ठ पहिलो विदेशयात्राका क्रममा चीन आएका हुन् ।

परराष्ट्रमन्त्री श्रेष्ठले बेइजिङमा चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरे । यस क्रममा चीनको विकास परियोजना ‘बेल्ट एण्ड रोड इनिसिएटीभ’ (बीआरआई) अगाडि बढाउने विषयमा केही विस्तृत गृहकार्य सुरु हुने भनिए पनि सामान्य समीक्षा छलफलमा मात्र सीमित भएको छ ।

‘परराष्ट्रमन्त्री श्रेष्ठको भ्रमण ‘गुडविल’ मात्र रहेकाले कुनै नयाँ कुराभन्दा पनि नेपाल–चीन विकास परियोजनाबारे छलफल र समीक्षामात्र भएको चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले बताए ।

उनले भने, विगतमा नेपाल–चीनबिच भएका सम्झौता र परियोजनाको समीक्षा गरियो । चीन सधैँ नेपालको विकासमा सहयोग गर्न चाहन्छ भन्ने चिनियाँ पक्षले प्रस्ट पारेका छन् ।’

बेइजिङ बसाइका क्रममा परराष्ट्रमन्त्री श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीसीसीसी)का अध्यक्ष तथा राजनीतिक व्यूरोका स्थायी समिति सदस्य वाङ हुनिङ र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका उपमन्त्री सुन हायनसँग पनि भेटवार्ता गरेका थिए ।

‘अब केही समयपछि बीआरआईमा जोडिएको परियोजनाको एउटा मात्र भए पनि काम सुरु गर्ने तयारीमा छौँ,’ राजदूत श्रेष्ठले थपे, ‘प्रधानमन्त्री पुष्पकमल दाहालकोे चीन भ्रमणका क्रममा भएका १२ समझदारीका बारेमा पनि कुरा भयो ।’

चीन–नेपालबिच विभिन्न नाका खुलाउने विषयमा बेइजिङमा कुरा भएको जानकारी दिँदै उनले तिब्बत भ्रमणका क्रममा अझै घनीभूत छलफल हुने बताए ।

‘परराष्ट्रमन्त्रीको यो भ्रमणमा कुनै सम्झौता र नयाँ कुरा हुने तयारी पनि थिएन,’ राजदूत श्रेष्ठले भने, ‘बेइजिङ, छोङछिङ, तिब्बत र सुचवानका चिनियाँ अधिकारीसँग भेट र समीक्षा गर्ने भ्रमण हो ।’

परराष्ट्रमन्त्री श्रेष्ठको टोली छोङछिङ हुँदै शुक्रबार साँझ तिब्बतको राजधानी ल्हासा पुग्ने कार्यतालिका छ । तिब्बतका चिनियाँ कम्युनिस्ट पार्टीका पदाधिकारीलाई भेट गरेपछि कैलाश यात्रा गरेर परराष्ट्रमन्त्रीको टोली आइतबार सुचवान प्रान्तको राजधानी छङ्तु फर्कने छ ।

परराष्ट्रमन्त्रीको स्वास्थ्य परीक्षण

चीन भ्रमणका क्रममा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो स्वास्थ्य परीक्षण गरेका छन् । गत असोज महिनाको अन्तिममा तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशलन कोअपरेशन (बीआरएफ)मा सहभागी हुन आएका बेला श्रेष्ठ हृदयघात भएपछि ५ दिन पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा उपचार गरी कार्तिक ८ गते बिहान नेपाल फर्केका थिए । त्यतिबेला श्रेष्ठ उपप्रधान तथा गृहमन्त्रीको हैसियतमा चीन आएका थिए ।

यस पटकको चीन भ्रमणको क्रममा उनले आफ्नो स्वास्थ्य परीक्षण पनि गरेका छन् । मन्त्रीको उपचार सहयोगमा खटिएका एक अधिकारीले भने, ‘मन्त्रीज्यूको स्वास्थ्य अहिले ठिक छ ।’

अब शुक्रबार तिब्बतमा पुगेपछि फेरि एक पटक स्वास्थ्य परीक्षण गरिने छ । सो परीक्षणको रिपोर्टपछि शनिबार बिहान पराराष्ट्रमन्त्री टोली कैलाश पर्वत दर्शनका लागि निस्कने छ ।

बोआओ एसिया मञ्च छायामा

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ बेइजिङ यात्रामा रहेका दिन मंगलबार चीनको हाइनान प्रान्तको बोआओ सहरमा बोआओ एसिया मञ्च २०२४ सम्मेलन सुरु भएको छ ।

एसिया र विश्व : संयुक्त चुनौती र साझा कर्तव्य भन्ने नारा दिइएको बोआओ एसिया मञ्चमा नेपालबाट सरकारीस्तरबाट कुनै प्रतिनिधित्व भएको छैन ।

चार दिनसम्म चल्ने मञ्चमा बेइजिङस्थित दूतावासका अधिकारीसमेत सहभागी भएनन् । चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले भने, नेपालबाट एक जना एमालेका वरिष्ठ नेता सहभागी हुनुभएको भन्ने सुनेको छु, त्यसबाहेक थप कुनै जानकारी छैन ।’

उनले आफू परराष्ट्रमन्त्रीसँग छोङछिङ, तिब्बत र छङतु जाने तयारीमा रहेको सुनाए । नेपाल बोआओ फोरम फर एसियाको संस्थापन सदस्य देश हो । तर, यस पटक नेपालको तर्फबाट मञ्चको सम्मेलनमामा कुनै सरकारी अधिकारीको सहभागिता हुन नसक्दा नेपाल छायामा परेको छ ।

चीनले प्रधानमन्त्री, उपराष्ट्रपति वा राष्ट्रपतिमध्ये कुनै एक जनालाई निम्त्याउन खोजेको थियो । गत वर्ष यही समयमा चीनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मञ्चको बैठकमा सहभागी हुन निम्तो दिए पनि दाहालले आउन इन्कार गरेका थिए । मञ्चको बैठकमा सहभागी हुनुभन्दा पहिले भारत जाने भनेपछि चिनियाँ पक्ष निराश भएको थियो ।  

पाँच वटा प्रमुख विषयमा छलफल हुने मञ्चमा वर्तमान एशियाली देश र विश्वमा देखा परेका प्रमुख चुनौती र अवसरका बारेमा समेत छलफल र विश्लेषण हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भरत शर्मा
भरत शर्मा
लेखकबाट थप