शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पर्सामा एसईईको तयारी पूरा, कहाँ–कहाँ तोकियो परीक्षा केन्द्र ?

बुधबार, १४ चैत २०८०, १६ : २४
बुधबार, १४ चैत २०८०

वीरगन्ज । बिहीबारदेखि देशैभर सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पर्सामा तयारी पूरा भएको छ । परीक्षा केन्द्र निर्धारण तथा कर्मचारीको खटनपटनसहित सबै तयारी पूरा भइसकेको शिक्षा विकास तथा समन्वय एकाइ पर्साले जनाएको छ । 

यो वर्ष पर्सा जिल्लामा १० हजार भन्दा बढी विद्यार्थी एसईईमा सहभागी भइरहेका शिक्षा विकास तथा समन्वय एकाइ पर्साले जनाएको छ । शिक्षा विकास तथा समन्वय एकाइ पर्साका परीक्षा सहायक गोपाल साहका अनुसार पर्सा जिल्लाबाट यस वर्ष १० हजार २५३ परीक्षार्थीले एसईई परीक्षामा भाग लिइरहेका छन् । 

उनका अनुसार नियमिततर्फ ९ हजार ५२५, प्राविधिक धारतर्फ १८५ र ग्रेडवृद्धितर्फ ५४३ जना परीक्षार्थी भाग लिइरहेका छन् । एसईई परीक्षाका लागि जिल्लामा २६ वटा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय एकाइ समितिले जनाएको छ । 

वीरगन्ज महानगरपालिकाभित्र १४ वटा विद्यालय र वीरगन्ज बाहिर १२ वटा विद्यालय गरी जम्मा २६ वटा विद्यालयमा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय एकाइ पर्साका परीक्षा सहायक साह बताउँछन् । 

एसईई परीक्षाका लागि वीरगन्ज महानगरपालिका अन्तर्गत त्रिजुद्ध मावि, कन्या मावि, त्रिभुवन हनुमान मावि, नेरामावि नगवा, माइस्थान विद्यापीठ मावि केन्द्र तोकिएको छ । यसैगरी पन्नालाल मावि, नेपाल रेल्वे मावि, सुरजीदेवि मावि, नेरा मावि श्रीपुर, सिद्धार्थ मावि, नृसिंह मावि पिपरामठ, दारदेवि मावि अलौँ, नेरामावि सोलखपुर र अल्पाइन मावि श्रीपुरमा केन्द्र तोकिएको हो ।  

यसैगरी महानगर भन्दा बाहिर तोकिएका १२ वटा परीक्षा केन्द्रहरूमा पर्सागढी नगरपालिकाको नेरामावि बर्वा छटौली, नेरामावि बडेर्वा, औराहा पचँगावाको दिप नारायण मावि, राधा कृष्ण चौरसिया मावि बहुअर्वा भाठ्ठा, जगरनाथपुरको नेरामावि मसिहानी परीक्षा केन्द्र निर्धारण गरिएका छन् । 

साथै पोखरीयाको जिल्ला उच्चांगल मावि, पकाहामैनपुरको रामचरित्र भगत मावि, छिपहरमाईको मङ्गल मावि भिस्वा, जिराभवानी वितो महतो जनता मावि जितपुर, नेरा मावि निचुँटा, श्री मावि विजयवस्ती ठोरी, बहुदरमाई देव नन्दन देवराज मावि रामनगरी गरी २६ विद्यालयमा केन्द्र तोकिएको परीक्षा सहायक साहले जानकारी दिए ।  

राष्ट्रिय परीक्षा बोर्डबाट आएको प्रश्नपत्रहरु जिल्ला प्रहरी कार्यालय पर्सामार्फत सम्बन्धित परीक्षा केन्द्रमा वितरण गरिएको शिक्षा विकास तथा समन्वय एकाइले जनायो । जिल्ला अन्र्तगतका २६ केन्द्रहरुका लागि १५ वटा प्रहरी चौकीहरुमार्फत प्रश्नपत्रहरु सम्बन्धित केन्द्रमा पठाइएको उनले बताए । 

एसईई परीक्षाका लागि पर्सा जिल्लाका केन्द्रहरूमा २६ जना केन्द्राध्यक्ष र ५२ जना सहायक केन्द्राध्यक्ष तोकिएका छन् ।  एसईई परीक्षा चैत्र २७ गते मंगलबारसम्म सञ्चालन रहने कार्यतालिका छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप