शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भोलिदेखि अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला सुरु हुँदै

बिहीबार, १५ चैत २०८०, १७ : ५४
बिहीबार, १५ चैत २०८०

काठमाडौँ । अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला– २०२४ भोलि चैत १६ गतेदेखि सुरु हुन लागेको छ । उद्यमी महिलाहरुको साझा संस्था महिला उद्यमी महासङ्घ नेपाल (एफवीन) ले आयोजना गरेको यो मेला प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने छन् । 

उद्यमी महिलाहरुद्धारा उत्पादित वस्तु तथा सेवाको प्रवर्द्धन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा निर्यातका लागि सहजीकरण गर्न आयोजना गर्दै आएको यो मेला सातौँ संस्करण हो । महासङ्घले उद्यमी महिलाको क्षेत्रमा एड्भोकेस, बिजनेस डेभलपमेन्ट, क्यापसिटी बिल्डिङ र नेटवर्किङमा केन्द्रित रहेर काम गर्दै आएको छ ।

यही उद्देश्य अन्तर्गत हरेक वर्ष यसरी नै राष्ट्रियस्तरको मेला आयोजना गर्दै आएको महासङ्घले जनाएको छ । मुख्यगरी मेलाबाट उद्यमी महिलाहरूलाई व्यापार विस्तारको लागि पहुँच विस्तारमा मद्दत मिल्ने संघकी अध्यक्ष शोभा ज्ञवालीले बताइन् । उनले भनिन्, ‘उद्यमी महिला आफैँले अन्य स्रोतबाट सिकेर होस् या महासङ्घले सिकाएर, उद्यम व्यापार त गरिरहनुभएको छ ।’

‘स्वदेशी खाऊँ, स्वदेशी लगाऊँ र स्वदेशी उद्यमशीलतालाई प्रवर्द्धन गरौँ’ भन्ने मूल नाराका साथ महिला उद्यमीको क्षेत्रमा काम गर्दै आएको यस संस्थाले समुद्घाटन समारोहमा उच्च पदस्थ व्यक्ति तथा राजदूतहरूलाई नेपाली पोसाकमा ‘र्याम्पो वाक’ गराउन लागेको छ । 

साथै लामाे समयदेखि उद्यम गर्दै आएका, सिप तथा क्षमता भएका तर आर्थिक रूपमा कमजोर भएका महिला उद्यमीहरू जसलाई सहयोगको आवश्यकता छ । 

उनीहरूलाई महासङ्घले मेलामा निःशुल्क स्टलको समेत व्यवस्था गरेको छ । महासङ्घको सीएसआर फन्डबाट १२ वटा स्टल निःशुल्क रहेको अध्यक्ष ज्ञवालीले बताइन् । मेला भोलि शुक्रबारदेखि २० गतेसम्म ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुन लागेको छ । अवलोकनका लागि कुनै पनि शुल्क राखिएको छैन भने आफूले चाहेको सामान खरिद गर्न पनि सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप