सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

शोमा युवतीमाथि अश्लील टिप्पणी गरेपछि समय रैना फेरि विवादमा

सोमबार, १५ असार २०८३, १२ : ०२
सोमबार, १५ असार २०८३

सारांश

  • भारतीय कमेडियन समय रैना आफ्नो शो 'इन्डियाज गट लेटेन्ट' को दोस्रो सिजनमा एक युवतीप्रति गरेको टिप्पणीले विवादमा आएका छन्।
  • शो हेर्न आएकी युवतीका बुवालाई हृदयाघात भएपछि समयले 'काँध दियौ भने मात्र त हेड दिन्छिन्' भनी टिप्पणी गरेका थिए।
  • शिव सेनाकी नेत्री प्रियंका चतुर्वेदीले यस घटनाको कडा निन्दा गर्दै महिला अपमान गर्ने सामग्रीलाई ह्युमरको नाममा देखाउनु गलत भएको बताएकी छिन्।

मुम्बई । भारतीय कमेडियन समय रैना आफ्नो शो ‘इन्डियाज गट लेटेन्ट’ को दोस्रो सिजनमार्फत पुनः विवादमा तानिएका छन्। दोस्रो सिजनको दोस्रो एपिसोडमा समयले एक युवतीप्रति गरेको टिप्पणीलाई लिएर सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको हो। 

यो टिप्पणी केही समयअघि कमेडियन प्रणीत मोरे विवादमा परेको घटनासँग मिल्दोजुल्दो रहेको छ, जसका कारण प्रणीत विरुद्ध उजुरी समेत दर्ता भएको छ।

हालै इन्डियाज गट लेटेन्ट सिजन २ को दोस्रो एपिसोडसँग जोडिएको एउटा भिडियो क्लिप भाइरल भएको छ। भिडियोमा समय रैनाले एक प्रतिष्पर्धीलाई स्कोर दिइरहेको समयमा शो हेर्न आएकी एक युवती रुँदै बाहिर निस्किएको देखिन्छ। 

युवती बाहिरिएपछि समयले उनीसँगै आएका युवकलाई जानुको कारण सोधेका थिए, जब कि ती युवक निकै आरामले बसिरहेका थिए। समयले धेरै दबाब दिएर सोधेपछि ती युवकले आफ्नी साथीको बुवालाई हृदयाघात भएको जानकारी दिएका थिए।

यस्तो संवेदनशील स्वास्थ्य अवस्था सुनेपछि समयले ती युवकलाई भने, ‘तिमी पनि सँगै जाऊ, काँध देऊ उनलाई। काँध दियौ भने मात्र त ‘हेड’ (अश्लील अर्थ लाग्ने शब्द) दिन्छिन्।’ संवेदनशील स्वास्थ्य अवस्थाको समयमा दिएको समय रैनाको यो अभिव्यक्ति सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ। धेरै मानिसहरूले उनको यस हर्कतको कडा निन्दा गरिरहेका छन्।

उक्त भाइरल भिडियो क्लिप बाहिरिएपछि शिव सेनाकी नेत्री प्रियंका चतुर्वेदीले कडा आक्रोश पोखेकी छिन्। उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘यिनीहरूले कुनै पाठ सिकेनन्। अब त यस्ता घटिया र महिलाको अपमान गर्ने सामग्रीलाई ह्युमरको नाममा देखाउन नेटफ्लिक्स र युट्युबको पनि साथ मिलेको छ। अब मलाई यस्ता जेनजी प्रशंसकहरूको पर्खाइ छ, जसले मेरो कमेन्ट बक्समा आएर बितण्डा मच्चाउन सुरु गर्नेछन्।’

यसअघि स्ट्यान्ड-अप कमेडियन प्रणीत मोरेले पनि गुरुग्राममा गरेको एक लाइभ शोको क्लिप सेयर गर्दा विवादमा फसेका थिए। उक्त क्लिपमा हिमांशु जाङ्गडा नामका युवकले डेटिङको कुरा गर्दै एक महिलालाई ३७० रुपैयाँको बिरयानी खुवाएको तर ती महिला शारीरिक रूपमा नजिक नभई त्यहाँबाट गएको बताएका थिए। शोमा प्रणीतले ३७० रुपैयाँ असुल हुन नसकेको टिप्पणी गरेका थिए। 

भिडियो भाइरल भएपछि हिमांशुलाई जागिरबाट निकालिएको थियो भने प्रणीत मोरे विरुद्ध साइबर सेलमा उजुरी दर्ता भएको थियो। विवाद बढेपछि प्रणीतले सार्वजनिक रूपमा माफी मागेका थिए।

समय रैनाको शो ‘इन्डियाज गट लेटेन्ट २’ को पहिलो एपिसोडमा अभिनेत्री आलिया भट्ट र शरवरी वाघ पाहुनाका रूपमा सहभागी भएका थिए। एपिसोडका दौरान समय रैना र आलिया भट्टले एक-अर्कामाथि ठट्टा गर्दै रोस्ट गरेका थिए। 

शोमा समयले आलियालाई स्वागत गर्दै आफूलाई आलिया पहिलो एपिसोडमा पाहुना बनेर आएको कुरामा विश्वास नै नलागेको बताएका थिए। यसै क्रममा आलियाले हाँस्दै भनेकी थिइन्, ‘मलाई अहिले अलि पछुतो भइरहेको छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप