मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानुहुँदैन: अध्यक्ष नेपाल

मङ्गलबार, २० चैत २०८०, १७ : ०१
मङ्गलबार, २० चैत २०८०

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानु नहुने बताएका छन् ।मंगलबार काठमाडौँमा समाजवादी मोर्चाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले पैसा हुनेले निर्वाचन जित्ने परिपाटी विकास भएको भन्दै निर्वाचनको यस किसिमको विकृतिलाई नियन्त्रण गर्न आवश्यक रहेको बताएका हुन् । 

उनले नेपालमा प्रत्यक्ष कार्यकारी आउँदा देशको सबै गहना लुटेर लग्ने जिकिर गरे । उनले नेपाली राजनीतिकर्मीहरुको आचरण सही नभएको ठहर गर्दै नराम्रो मानिस कार्यकारी भएको खण्डमा देशका लागि राम्रो हुन नसक्ने जिकिर गरे । उनले अहिलेको अवस्थामा संविधान सबै काम गर्नका लागि बाधक नभई सहयोगी रहेको जिकिर गर्नुभयो । उहाँले केही भएका कमीलाई संशोधन गरेर जान सकिने बताए ।

उनले भने, ‘निर्वाचन प्रणालीका कुरा उठे, यसका आफ्नै समस्या छन् । पैसा हुनेले जित्ने, यो निर्वाचनको विकृतिलाई कसरी नियन्त्रण गर्ने ? यसको निम्ति कुनै प्रत्यक्ष निर्वाचनको परिपाटीले टुङ्गो लगाउँदैन । प्रत्यक्ष प्रणालीले निर्वाचनको कार्यकारीको टुङ्गो लगाउने भए अमेरिकामा राष्ट्रपतिको चुनाव भइरहेको छ, त्यो हेर्नुस् त । केही समय पहिला भएको फिलिपिन्समा चुनावको स्थिति हेर्नुस् त । अब हुन गइरहेको दक्षिण अफ्रिकाको राष्ट्रपतिको चुनाव हेर्नुस् त । हाम्रो आचरण यस्तो छ । हामी जस्ता यस्तै खालका मान्छेहरू राष्ट्रपति भयो भने त यो देशको सबै लुटेर लगिदिन्छन् । अनि कुरा उठाउनेहरूलाई गोदेर कहाँ पुर्‍याइदिने हो । यो हेरेर चल्नुपर्छ । हाम्रो चुनावको प्रणालीमा मुख्य समस्या छ । अहिले अघि बढ्नका लागि यो संविधान सहयोगी छ, बाधक छैन । आठ वर्षको अनुभवको प्रकाशमा पनि विगतका कुरालाई सुधार्नुपर्छ । कानुन निर्माण गर्ने कुरामा ध्यान दिनुपर्छ । त्यसपछि आवश्यकता परे कुन संविधानको कुन धारा हो जस्तो संघीय प्रणाली, स्थानीय निकायहरूसँगका कुराहरू पनि । यी सबै कुराको बारेमा बहस र छलफल गर्न सकिन्छ ।’

अध्यक्ष नेपालले जनताबाट निर्वाचित जनप्रतिनिधिहरूले आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता रहेको बताए । नेपालमा समाजवादको विकल्प नरहेको जिकिर गरे । राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको अन्त्य गरेको भएपनि फेरि राजतन्त्रका शक्तिहरू सल्बलाउने र पुनःउत्थानवादीहरुले राजतन्त्र फर्काउने कोसिस गरिरहेको भन्दै समयमै सजग हुनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप