मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिफल आउने गरी कार्यसम्पादन गर्न मन्त्री श्रेष्ठको निर्देशन

बुधबार, २१ चैत २०८०, ११ : २६
बुधबार, २१ चैत २०८०

हेटौँडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले नतिजामूलक प्रतिफल आउने गरी कार्यसम्पादन गर्न निर्देशन दिएका छन् । नवनियुक्त स्वास्थ्य मन्त्री श्रेष्ठले पदभार ग्रहण गर्दै मन्त्रालय र मातहतका निकायलाई स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्दा प्रतिफल प्राप्त हुनेगरी काम गर्न निर्देशन दिएका हुन् ।

मन्त्री श्रेष्ठले नागरिकको स्वास्थ्य सुधारका लागि लिएका सकारात्मक पहल र कार्यहरूको कार्यान्वयन तीव्रताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । स्वास्थ्य क्षेत्रको विस्तृत कार्यक्षेत्रलाई विचार गर्दै आगामी आर्थिक वर्षको बजेटमा मन्त्रालयको सिलिङ वृद्धिका लागि पहल गर्ने बताए ।

मन्त्री श्रेष्ठले नागरिकको गुणस्तरीय स्वास्थ्य सेवाप्रति प्रतिबद्ध हुँदै आत्महत्या न्यूनीकरणको लागि संयन्त्र निर्माण कार्यक्रम सञ्चालनको निर्णय गरेका छन् । स्वास्थ्य मन्त्रालयको नेतृत्वमा सर्वपक्षीय आत्महत्या न्यूनीकरण सम्बन्धी संयन्त्र बनाई व्यापक जनचेतना फैलाउने, प्रदेशमा रहेका १३ वटै प्रादेशिक अस्पतालहरू र आयुर्वेद चिकित्सालयहरू मार्फत मानसिक रोगको निदान एवम् उपचार सेवा प्रदान गर्ने, स्थानीय तहको साझेदारीमा समुदाय स्तरमा मानसिक स्वास्थ्यको स्क्रिनीङ्ग र निदान एवम् मनोसमाजिक परामर्शलाई सुदृढीकरण गर्ने मन्त्री श्रेष्ठले निर्णय गरेका छन् ।

मन्त्री श्रेष्ठले प्रदेश स्वास्थ्य नीति, २०८० को मस्यौदाको स्वीकृत गरी मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने र त्यस अघि आर्थिक मामिला तथा योजना मन्त्रालयको रायका लागि पठाउन निर्णय गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप