बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

विदेशमा बसेका नेपालीहरूका गुनासा र समस्या सम्बोधन गर्न नयाँ व्यवस्था

बिहीबार, २२ चैत २०८०, १२ : ११
बिहीबार, २२ चैत २०८०

काठमाडौँ । कन्सुलर सेवा विभागले आजबाट विदेशमा बसेका नेपालीहरूका गुनासो तथा समस्यालाई सम्बन्धित दूतावासमार्फत दर्ता गराउन सक्ने गरी नयाँ मोड्युल (अनलाइन प्रणाली) को शुभारम्भ गरेको छ ।

आज विभागस्थित कार्यालयमा एक कार्यक्रमबिच गुनासो तथा समस्यालाई सम्बन्धित दूतावासमार्फत सहजै दर्ता गराउन सक्ने अनलाइन प्रणालीको शुभारम्भ गरेको हो । नयाँ मोड्युलको अनलाइन प्रणालीको शुभारम्भ गर्दै उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कन्सुलर सेवा अनलाइनबाटै लिनसक्ने कामको प्रचारप्रसार गर्न नसक्दा विभागमा धाइरहने समस्या रहेको भन्दै व्यापक प्रचारप्रसार गर्न आवश्यक रहेको बताए  । उनले कन्सुलर सेवा गाउँपालिका, नगरपालिकाबाटै अनलाइन फारम भरेर लिन सकिने उल्लेख गरे । उनले फारम भरेपछि विभागले तत्काल नै कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे । 

उपप्रधनमन्त्री श्रेष्ठले सरल र पारदर्शी ढङ्गले कन्सुलर सेवा हरेकले प्राप्त गर्न सक्ने व्यवस्थाअन्तर्गत नयाँ मोड्युल आजदेखि प्रारम्भ भएको बताए । उनले आगामी एक हप्ताभित्रै मन्त्रालयले विदेशमा रहेका नेपाली श्रमिकहरू घाइते र मृत्यु भएको अवस्थामा उनीहरूको क्षतिपूर्ति सहितको माग दाबीका लागि दूतावास नै पुग्नुपर्ने समस्या घरबाटै गर्न सक्ने गरी व्यवस्था गर्ने पनि बताए । उनले समस्या समाधानका लागि घरबाटै फारम भरेर काम गर्न सक्ने व्यवस्था गर्न लागेको बताए ।

उनले नेपाल प्रहरीको चारित्रिक प्रमाणपत्रको लागि गाउँपालिका, नगरपालिकाहरूबाट नै गर्न सक्ने अनलाइन प्रणालीको व्यवस्था गरिसकेको बताए । कन्सुलर सेवालाई अझ प्रभावकारी ढङ्गले अघि बढाउने काममा सरकार लागिरहेको उनले जिकिर गरे ।

1712205954898

चालु आर्थिक वर्ष २०८०-०८१ को फागुन मसान्तसम्म विभागले प्रमाणीकरणका लागि सेवा प्रवाह गरिएका सेवाग्राहीको सङ्ख्या ३ लाख ७२ हजार ४२९, अनलाइन कन्सुलर प्रमाणीकरण सेवा लिने सेवाग्राही सङ्ख्या ३ लाख ३ हजार ७५१, प्रमाणीकरण गरिएका कागजातको सङ्ख्या ४ लाख २९ हजार ७४५, अनलाइन कन्सुलर प्रमाणीकरण गरिएका कागजातको सङ्ख्या ३ लाख ३ हजार ७५१, प्रमाणीकरणबाट उठेको राजश्व रकम २१ करोड ६१ लाख ७७ हजार ५३९ रहेको बताएको छ । 

त्यस्तै विभागले आर्थिक वर्ष २०८०-०८१ को फागुन मसान्तसम्म  प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणबाट उठेको जम्मा राजश्व १५ करोड १८ लाख ७५ हजार ५ सय, अन्य कागजातबाट उठेको राजश्व ६ करोड २९ लाख ९७ हजार उठेको बताएको छ । त्यस्तै आर्थिक वर्ष २०८०-०८१ को फागुन मसान्तसम्म विभिन्न देशमा गएका नेपाली नागरिकहरूको खोज, तलास तथा उद्धारका लागि पहल गरिएको सङ्ख्या ५ सय ९३, विदेशमा मृत्यु भएका वा घाइते भएका नेपालीहरू नागरिकहरूको क्षतिपूर्तिको रकम माग गर्न पठाइएको सङ्ख्या २०१, विदेशमा मृत्यु भएका नेपालीहरूको शव झिकाउने तथा विदेशमा दाहसंस्कार गरिएको सङ्ख्या १५२ रहेको जनाएको छ ।

1712205954895

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप